शिक्षा

सुर्खेतमा ‘बन्द’ भएनन् विद्यालय

वीरेन्द्रनगरको एक सामुदायिक विद्यालयमा बन्दको दिन अध्ययन गर्दै विद्यार्थी।

एक दशक अघिसम्म कुनै राजनीतिक दल वा समूहले घोषणा गरेकै आधारमा सुर्खेतका सामुदायिक तथा निजी विद्यालयहरु बन्द हुन्थे। पटक–पटक हुने बन्दका कारण विद्यार्थीहरुको पढाईमा असर पर्दथ्यो। २०७० सालमा सुर्खेतमा विद्यालय शान्ति क्षेत्र घोषणाको अभियान चल्यो। सबै राजनीतिक दल, नागरिक समाजका प्रतिनिधि र सरोकारवालाहरुले राजनीतिक दल, समूहहरुको बन्दको प्रभाव विद्यालयमा पर्न नदिने लिखित प्रतिवद्धता जनाए।

त्यसयता सुर्खेत जिल्लाका कुनै विद्यालय राजनीति दल वा समूहले आव्हान गर्ने ‘बन्द’मा  बन्द हुँदैनन्। ‘सुरुसुरुका वर्ष विद्यालय बन्द गरेर हाम्रो दललाई सहयोग गरिदिनुपर्‍यो  भनेर आउँथे, केही समूहहरुले धम्की पनि दिएर जान्थे,’ सुर्खेतको पुरानो मध्येको एक जन नमुना माविका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले भने, ‘अहिले कहीँबाट पनि विद्यालय बन्द गरिदिनुपर्‍यो  भनेर ‘आग्रह’ र ‘धम्की’ आउँदैन।’  

मंगलबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित चार राजनीति दल र समूहले विप्लव समूहसँग भएको तीन बुँदे सहमति कार्यान्वयन र एमसिसी संझौता र एसपीपी परियोजनाको विरुद्धमा नेपाल बन्दको आयोजना ग¥यो। काठमाडौंसहित केही जिल्लाहरुमा सवारी साधन तोडफोड भए। सुर्खेतमा पनि अघिल्लो दिन नेपाल बन्द सफल पार्नका लागि चार राजनीतिक दल र समूहले मसाल जुलुसको आयोजना गरे।

बन्दको प्रभाव यातायात, व्यापार–व्यवसायमा परेपनि यहाँका विद्यालयहरु भने निर्वाध सञ्चालन भए। ‘जति ठूलो बन्द आव्हान गरिएपनि हामीले विद्यालय सञ्चालन गर्दै आएका छौं’, श्रीकृष्ण संस्कृत तथा साधारण माविका प्रधानाध्यापक लोकबहादुर खत्रीले भने, ‘अहिलेसम्म विद्यालयमा बन्दको प्रभाव पर्न सकेको छैन।’ २०७० सालमा यहाँका सामुदायिक विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको थियो। त्यसयता यहाँका कुनै पनि विद्यालय राजनीतिक कारणले ‘बन्द’ गर्नुपरेको छैन। सुरुसुरुमा बन्दकर्ताहरुले फोन तथा भेटेरै बन्द सफल बनाइदिन ‘आग्रह’ गर्थे। पछिल्लो समय त्यस्ता आग्रह पनि कसैले गर्दैनन्।

‘शान्तिक्षेत्रको मर्म विद्यालयमा कुनैपनि राजनीतिक गतिविधि हुन नदिने, राजनीतिक बन्दको असर विद्यालयमा पर्न नदिने भन्ने हो’ प्रधानाध्यापक खत्रीले भने, ‘शान्ति क्षेत्र घोषणा गरिएयता एक दिनपनि राजनीतिक कारणले विद्यालय भन्द भएका छैनन्।’ सुरुसुरुमा बन्दका कारण विद्यालयमा विद्यार्थी संख्या कम हुन्थ्यो। ‘आजभोलि जुनसुकैको बन्दमा पनि विद्यार्थीहरु नियमित आउँछन्, सधैंझै कक्षाहरु सञ्चालन हुन्छन्,’ जन नमूना माविका प्रधानाध्यापक श्रेष्ठले भने, ‘विद्यालय हाताभित्र बन्दको कुनै प्रभाव देखिँदैन।’  

सुरुसुरुमा भने बन्दमा विद्यालय सञ्चालन गर्दा समस्या भोग्नु परेको उनको अनुभव छ। ‘बन्दमा विद्यालय चलाउने भन्दै कतिपयले धम्की दिन्थे, विद्यार्थी आउन मान्दैनथे,’ उनले भने, ‘अहिले अवस्था फेरिएको छ, विद्यार्थी आउँछन्, नियमित कक्षा सञ्चालन हुन्छ।’

मंगलबारको बन्दमा यहाँका सबै सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको संख्या नियमित जस्तै थियो। ‘नौ वर्षयता हामीलाई कुनै पनि बन्दले प्रभाव पारेको छैन,’ उनले भने, ‘बन्दमा पनि निर्वाध विद्यालय सञ्चालन गरिरहेका छौं।’ सुर्खेतका सामुदायिक विद्यालय मात्रै होइन, मध्यपश्चिम विश्वविद्यालयका साथै निजी कलेज र विद्यालयहरु पनि बन्दका बेला पनि निर्वाध पठनपाठन हुँदै आएको छ।

प्रकाशित: ७ भाद्र २०७९ १०:३५ मंगलबार

सामुदायिक विद्यालय