शिक्षा

श्रीमतीको सम्झनामा २५ लाख खर्चेर पुस्तकालय

समाजसेवी तथा बरिष्ठ ईन्जिनियर आत्माकृष्ण श्रेष्ठ।

आफ्नी स्वर्गीय धर्मपत्नीको सम्झनामा दोलखाका एक समाजसेवीले जिल्लाकै जेठो सामुदायिक क्याम्पसमा २५ लाख खर्च गरेर विद्यार्थी पढ्ने पुस्तकालय बनाएका छन्। जिल्लाको भीमेश्वर नगरपालिका २ स्थायी घर भएका समाजसेवी तथा बरिष्ठ ईन्जिनियर आत्माकृष्ण श्रेष्ठले आफ्नी स्वर्गीय धर्मपत्नी रुपा श्रेष्ठको सम्झनामा सदरमुकाम चरिकोट स्थित गौरीशंकर बहुमुखी क्याम्पसमा पुस्तकालय निर्माण गरेका हुन्।

पुस्तकालयको नगरका मेयर ईश्वरनारायण मानन्धरले उद्घाटन गरे। मानन्धरले श्रेष्ठको कामको प्रशंसा गरे। क्यान्सर रोगबाट पिडित श्रेष्ठपत्नी रुपाको गत वर्ष निधन भएको थियो। उनी समेत सामाजिक अभियानमा सक्रिय थिईन्। क्याम्पसको क्याम्पस सभा सदस्य समेत रहेकी रुपाले दोलखाको शैक्षिक विकासका लागि बिभिन्न अभियान चलाउँदै आएकी थिईन्।  

समाजसेवी श्रेष्ठ दोलखाको सामाजिक अभियानमा लामो समयदेखि सक्रिय छन्। जिल्लामा विद्यालय, अस्पताल लगायतको निर्माण र स्थापनामा श्रेष्ठको नाम सधैं अगाडि आउँछ। ७६ वर्षका उनले शिक्षा, स्वास्थ्य सहितका सामाजिक क्षेत्रमा गरेको योगदानले सामाजिक अभियानमा उत्साहका साथ काम गर्न जो कोहीलाई प्रेरित गर्ने नगरप्रमुख मानन्धरले बताए।  

विकासित समाजमा विद्यालय र क्याम्पस भन्दा बढी पुस्तकालयलाई महत्व दिने गरेको र बिद्यार्थीलाई पढ्ने स्थान र किताबको अभाव नहोस भनेर आफुले जिवनसंगिनीको सम्झनामा पुस्तकालय निर्माण गरेको श्रेष्ठले सुनाए। पुस्तकालयलाई ईलाईब्रेरीका रुपमा विकास गर्ने क्याम्प प्रमुख शान्त केसीले सुनाए।  

क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरले क्याम्पससमा व्यवस्थित पुस्तकालय बनेपछि शैक्षिक गुणस्तरमा सघाउ पुग्ने बताए।

प्रकाशित: २४ श्रावण २०७९ ०८:५३ मंगलबार