शिक्षा

रुचि र हैसियतअनुसारको शैक्षिक विकल्प

एसइई उत्तीर्णपछि विद्यार्थीका लागि नेपालमै कक्षा ११ र १२ अध्ययन गर्न माध्यमिक शिक्षा, प्राविधिक शिक्षा, ए–लेबल, सिबिएसई र आइबी गरी पाँच विकल्प छन्।

पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागु गरेको छ। २०७७ सालमा कक्षा ११ र २०७८ सालमा कक्षा १२ मा नयाँ पाठ्यक्रम लागु भएको छ। नयाँ पाठ्यक्रम लागु भएपछि अब नयाँ शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीले आफ्नो रुचि र क्षमताअनुसार छानीछानी विषय अध्ययन गर्ने बाटो खुलेको छ। यसले विद्यार्थीमा स्वतन्त्र भएर विषय छनोट गर्न सक्ने अधिकार दिएको टेक्सस स्कुलबाट एसईई दिएकी प्रासना तुलाधरले बताइन्। उनले नयाँ पाठ्यक्रमले यो वर्ष विद्यार्थीलाई कक्षा ११ नेपालमै अध्ययन गर्न थप हौसला दिएकोमा खुसी व्यक्त गरिन्।

विश्वस्तरीय प्रतिस्पर्धा गर्न सक्ने पाठ्यक्रमको विषयवस्तुका कारण एसईई उत्तीर्णपछि उनी नेपालमै व्यवस्थापनमा कम्प्युटर साइन्स पढ्न पाउँदा निकै रमाएकी छन्। ‘मैले राष्ट्रिय परीक्षा बोर्डका पाठ्यक्रम अध्ययन गरें। विश्वस्तरीय पाएँ। पहिले कम्प्युटर साइन्स पढ्न विज्ञान संकायमै भर्ना हुनुपर्ने बाध्यता पाठ्यक्रमले हटाएर विद्यार्थीको रुचि अनुसार छानीछानी विषय छनोट गरी पढ्न सक्ने व्यवस्था गरेको छ’, प्रासनाले भनिन्, ‘मैले ए प्लस ल्याए पनि विज्ञान पढ्नुपर्ने बाध्यता रहेन। मलाई व्यवस्थापन मनपर्छ। म व्यवस्थापनमै कम्प्युटर साइन्स पढ्छु।’ उनले खुसी साटिन्, ‘हाम्रो पाठ्यक्रमले विश्वमा समकक्षता सहजै पाउने भएकाले उच्च शिक्षा विदेशमा हासिल गर्नसमेत सहयोग भयो।’

राष्ट्रिय परीक्षा बोर्डले केही दिनअघि मात्र माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) परीक्षा नतिजा प्रकाशन गर्‍यो। कुल चार लाख ९५ हजार ७ सय ५१ सहभागी परीक्षाको नतिजा ८ वटा ग्रेडमा प्रकाशित भएको छ।

सीपमूलक सिकाइले विद्यार्थी उत्साहित

नयाँ पाठ्यक्रमले व्यावहारिक र सीपमूलक सिकाइसँग जोडिएकाले विद्यार्थीहरू कक्षा ११ माराष्ट्रिय परीक्षा बोर्डकै पाठ्यक्रम अध्ययन गर्न उत्साहित बनेको उच्च शिक्षा तथा माध्यमिक शिक्षा विद्यालय सञ्चालक संघका अध्यक्ष रमेश सिलवालले बताए। हाल नेपालमा पाँचवटा परीक्षा बोर्डका पाठ्यक्रमबाट विद्यार्थीले कक्षा ११ र १२ पढ्न पाउने व्यवस्था भए पनि सबैभन्दा बढी विद्यार्थी राष्ट्रिय परीक्षा बोर्डमै छन्। ‘माध्यमिक तह कक्षा ११ र १२ मा ३–४ लाख विद्यार्थी भर्ना हुन्छन् भने सिटिइभिटीतर्फ ५० देखि ६० हजार भर्ना हुन्छन्’, सिलवालले नागरिकसँग भने, ‘भारतीय बोर्डमा करिब ५ हजार, आइबीतर्फ ३ सय र ए–लेभलतर्फ करिब तीन हजारको हाराहारीमा विद्यार्थी भर्ना हुने गरेका छन्।’

पाठ्यक्रम विकास केन्द्रका निर्देशक टुकराज अधिकारीले कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रमले अनिवार्य तीन र ऐच्छिक तीन गरी कुल ६ विषय अध्ययन गर्नुपर्नेका साथै विद्यार्थीले चाहेमा थप ज्ञानका लागि एक विषय थप ऐच्छिक विषयका रूपमा अध्ययन गर्ने व्यवस्था छ। ‘सबै विषय व्यावहारिक छन्। २५ नम्बरको प्राक्टिकलले विद्यार्थीलाई अध्ययन गरेको विषयवस्तुसँग व्यावहारिक ज्ञान र सिकाइसँग जोडेको छ’, निर्देशक अधिकारीले नागरिकसँग भने, ‘यसले विद्यार्थीले अध्ययन गरेका विषयवस्तु जीवनभर सम्झन्छन्।’

शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार हाल पाठ्यक्रमले लागु गरेको एकल पथीय पाठ्यक्रमले स्कुलको संरचनाको स्तरमाथि पुर्‍याएको छ। कक्षा ११ र १२ विश्वविद्यालय प्रवेश गर्ने आधार हो। ‘संकायको बन्देज हटाएकाले विद्यार्थीले विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकीअन्तर्गतका जुनसुकै विषय पनि छानीछानी पढ्न पाए’, शिक्षाविद् कोइरालाले स्पष्ट पारे, ‘अब हाम्रा विद्यार्थी पनि आफ्नो योग्यता र क्षमता अनुसारका विषय पढ्न पाउने भएकाले नेपाली पाठ्यक्रम विश्वस्तरीय बनेको छ। तीनघन्टे लिखित परीक्षाले योग्यता मापन गर्ने दिन हराए।’

देश र माटोसुहाउँदो व्यावहारिक शिक्षा

पाठ्यक्रम विकास केन्द्रका निर्देशक अधिकारीले माध्यमिक शिक्षा कक्षा ११ र १२ को पाठ्यक्रम देश र माटोसुहाउँदो बनाइएकाले विद्यालय तहबाटै दक्ष जनशक्ति उत्पादन भई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता बन्ने दाबी गरे। ‘पाठ्यक्रममा कक्षा ११ र १२ मा साधारण, परम्परागत र प्राविधिक गरी तीन धारको शिक्षा उपलब्ध गराउने व्यवस्था गरेको छ’, निर्देशक अधिकारीले भने, ‘विद्यार्थी नेपालको भौगोलिक, सांस्कृतिक, शैक्षिक पद्धति, सामाजिक संस्कार लगायतका देशलाई आवश्यक पर्ने सबै पक्षको जानकार बन्छन्।’

सस्तो शुल्कले आकर्षण

नेपालमा कक्षा ११ र १२ अध्ययन गर्न अन्य बोर्डभन्दा तुलनात्मक रूपमा सस्तो भएका कारण पनिराष्ट्रिय परीक्षा बोर्ड (एनइबी) तर्फ विद्यार्थी आकर्षण बढ्दै गएको रेडन माविका निर्देशक सुनोज कैनीले सुनाए। हिसानका अध्यक्ष सिलवालका अनुसार एनइबीको कक्षा ११ र १२ पूरा गर्न विद्यार्थीले ६० हजारदेखि डेढ लाखसम्म खर्च गरे पुग्छ।

तुलनात्मक रूपमा एनइबीको परीक्षा प्रणाली चुस्त रहेको मावि सञ्चालकहरू नै बताउँछन्। ‘शैक्षिक क्यालेन्डर समयमै पूरा भयो’, निर्देशक पोखरेलले भने, ‘पाठ्यक्रम पनि समयअनुसार परिमार्जन हुँदै जानाले एनइबी बोर्डका पठनपाठन चुस्त बनाउन सहयोग मिलेको छ।’

टेक्सस माविका निर्देशक नारायण पोखरेलले एनइबी बोर्डको पाठ्यक्रम तुलनात्मक रूपमा स्तरीय भए पनि नयाँ पाठ्यक्रमअनुसार शिक्षक तालिम अभाव भएको औंल्याए। ‘सबै विषयमा प्राक्टिकल छ। विषयगत शिक्षकले पढाएकै छन् तर विषयविज्ञ शिक्षकको अझै अभाव खट्किएको छ’, पोखरेलले सुझाए, ‘अब सम्बन्धित निकायले नयाँ सत्र सुरुअगावै शिक्षकलाई नयाँ पाठ्यक्रमअनुसार तालिम व्यवस्था गर्नुपर्छ।’ विद्यालय अनुगमन स्थानीय तहका सहकार्यमा नियमित हुनुपर्नेमा उनले जोड दिए।

परीक्षा बोर्ड निश्चित गर्नुपर्छ

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ग्रेड सिट पाउने सबै विद्यार्थीलाई कक्षा ११ मा कुनै न कुनै विषय अध्ययन गर्न बाटो खोलेको छ। अब विद्यार्थीलाई कक्षा १० मा फेल भएको वा कम नम्बर ल्याएकै कारण वर्ष खेर जाने वा कक्षा ११ मा भर्ना हुन वञ्चित हुुनुपर्ने अवस्था छैन। उनले नयाँ पाठ्यक्रम पनि विद्यार्थीकेन्द्रित रहेकाले कक्षा ११ अध्ययन सहज बनेको जनाए।   

प्रकाशित: १९ श्रावण २०७९ ०१:४३ बिहीबार

रुचि र हैसियतअनुसारको शैक्षिक विकल्प विश्वस्तरीय प्रतिस्पर्धा