शिक्षा

५ अंकमै पास!

गत पुस ७ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पेस गरेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ मन्त्रीस्तरीय निर्णयबाट पास भयो। यो निर्देशिकामा भएको व्यवस्थाअनुसार लेडर ग्रेडिङ निर्देशिका, २०७२ खारेज भई विद्यार्थीको मूल्यांकनको आधार ३५ अंक हुन पुग्यो। अर्थात्, ३५ भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीलाई अवर्गीकृत अर्थात् नट ग्रेडेडमा राख्ने लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा उल्लेख छ।

राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीहरूले पनि यसपटकको नतिजा नयाँ निर्देशिकाबमोजिम प्रकाशित गर्ने तयारी गरेका थिए। तर नतिजा प्रकाशित गर्नु एक दिनअघि अर्थात् बोर्डको साउन १० गते बसेको बैठकमा नयाँ निर्देशिकाअनुसार पासको न्यूनतम अंक ३५ तोक्दा करिब ५० हजार विद्यार्थी फेल हुने भएपछि रातारात लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार नै नतिजा प्रकाशन गर्ने निर्णय गरी सबैलाई पास गराउने नीति अख्तियार गरेको स्रोतले जनाएको छ।

बोर्डले सार्वजनिक गरेको एसइई–२०७८ को नतिजामा ४७ हजार ८ सय ६६ विद्यार्थीको  प्राप्तांक ३५ भन्दा कम रहेको स्रोतले जनाएको छ। ‘साउन १० को बोर्ड बैठकले नतिजाको विश्लेषण गर्दा पास हुने आधार ३५ अंक मानेको भए करिब ५० हजार विद्यार्थी फेल हुने देखियो,’ पनिका स्रोतले नागरिकसँग भन्यो, ‘कोरोनाका कारण विद्यार्थीको राम्रो तयारी नपुगेको देखियो। अधिकांश विद्यार्थीले लिखित परीक्षामा ५ अंक ल्याएका रहेछन्। स्कुलहरूले प्राक्टिकलमा २५ अंक हालिदिए।’

स्रोतका अनुसार बल्लबल्ल ३० अंक आउने धेरै छन्। ‘त्यही भएर पुरानै निर्देशिकाबमोजिम बोर्ड नतिजा प्रकाशन गर्न बाध्य भयौं। कमजोरलाई पनि ग्रेडिङ गर्न बाध्य भयौं,’ स्रोतले भन्यो। सो लेटर ग्रेडिङअनुसार ३० अंक ल्याउँदा ‘डी प्लस’ हुने हुँदा उत्तीर्ण भएको मानिन्छ। यति मात्र होइन, बोर्डले एसइई परीक्षा सञ्चालन गर्ने सूचना सार्वजनिक गरेसँगै लेखपढ गर्नुपर्ने त्रासकै कारण हालसम्मकै बढी विद्यार्थी परीक्षामा गयल भएको एसइई परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताए।

‘धेरैले एसइई फाराम भरे। तर जब पनिकाले भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने सूचना सार्वजनिक गर्‍यो, तब लेखपढ गर्नुपर्ने त्रासकै कारण धेरै विद्यार्थीले परीक्षा छाडे।’ 

उनले यसपालिको नतिजा अन्य वर्षको तुलनामा कमजोर रहेको स्वीकार गर्दै तल्लो ग्रेडमा धेरै संख्यामा विद्यार्थी थुप्रिन पुगेको बताए। ‘पोहोरपरार स्कुलले आन्तरिक मूल्यांकनबाट परीक्षा लिएको हुँदा धेरै विद्यार्थी परीक्षामा सहभागी भएका थिए। जिपिए पनि स्कुलहरूले हालेर पठाएका थिए। राम्रो जिपिएमा धेरै परेका थिए,’ नियन्त्रक रायमाझीले नागरिकसँग भने, ‘यसपटक धेरैले एसइई फाराम भरे। तर जब पनिकाले भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने सूचना सार्वजनिक गर्‍यो तब लेखपढ गर्नुपर्ने त्रासकै कारण धेरै विद्यार्थीले परीक्षा छाडे। ४.५७ प्रतिशतले परीक्षा छाड्नु सम्भवतः हालसम्मकै ठुलो संख्या हो।’

उनले अहिले पनि प्राक्टिकलमा स्कुलहरूले २५ अंक नै दिएको दाबी गरे। ‘लिखितमा विद्यार्थीले ५ अंक ल्याए पुगिहाल्छ,’ उनले भने। शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार दातृ निकायलाई नतिजा राम्रो देखाउन विद्यार्थीको भविष्यसँग खेलवाड हुँदै आएको छ। कहिले विश्वबैंकको इसारामा परीक्षाको प्रणालीगत सुधारका नाममा लेटर ग्रेडिङ र एसियाली विकास बैंकको दबाबमा सबैका लागि शिक्षा नीतिअन्तर्गत विद्यार्थीको स्वतः पास गराउने अर्थात् निरन्तर मूल्यांकन पद्धतिले विद्यालय शिक्षा बर्बाद गरिरहेको छ।

‘लेटर ग्रेडिङ र निरन्तर मूल्यांकन व्यवस्थाले विद्यार्थीमा अध्ययन गर्ने बानी हरायो भने शिक्षकमा मिहिनेत गरेर पढाउने बानी छुट्यो,’ शिक्षाविद् कोइरालाले भने, ‘स्कुलले प्राक्टिकलमा २५ अंक दिइहाल्छ। अनि जाबो ५ अंक ल्याउन किन बढी लेखपढ गर्नुपर्ने भन्ने गलत संस्कार विद्यार्थीमा पलायो। जसले गर्दा विद्यार्थीको सिकाइ स्तर खस्कँदै गयो। यसले समग्र परीक्षाको प्रणालीगत सक्षमता सुधारको साटो असक्षमता बढाउँदै गयो। यसबाट विद्यार्थीको भविष्यमाथि खेलवाड भइरहेको छ।’

उनका अनुसार यसपटकको परीक्षामा फाराम भरेकामध्ये करिब ५ प्रतिशतले परीक्षा छाड्नु विद्यालय शिक्षाका लागि प्रणालीगत असक्षमता नै हो। ‘धेरै विद्यार्थी फेल भए दातृ निकायलाई जवाफ दिनुपर्ने त्रासले पनि सरकारले एसइईमा धेरै विद्यार्थी पास गराउने नीति लिएको देखियो। हाल पाँचवर्षे शिक्षा सुधार योजनाले पनि आधारभूतदेखि माध्यमिक तहसम्मको विद्यार्थीलाई फेल नगराउने नीति लिएको छ,’ कोइरालाले भने, ‘अर्कातिर धेरै विद्यार्थी फेल भए निजी स्कुलहरूले कक्षा ११ मा विद्यार्थी नै पाउँदैनन्। उनीहरूको स्कुल बन्द गर्नुपर्ने अवस्था आउँछ।’ उनले बोर्डलाई त निजी स्कुलका ‘साहुजी’ र दातृ निकाय दुवैको दबाब स्पष्ट देखिने दाबी गरे। ‘यसकारण पनि ५ अंकमै पास गराउने नीति लिएको नतिजाले नै छर्लङ्ग पारिदियो।’

प्रकाशित: १३ श्रावण २०७९ ०१:४७ शुक्रबार

राष्ट्रिय परीक्षा बोर्ड शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय