शिक्षा

नीलकण्ठ माविका अनिसराज प्रजापति एसइईमा धादिङकै उत्कृष्ट

एसइई परीक्षामा धादिङ जिल्लाबाट नीलकण्ठ माविका अनिसराज प्रजापति जिल्लाकै उच्च जिपिए ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले बुधबार प्रकाशित गरेको नतिजा अनुसार प्रजापतिले ३.९५ जिपिए ल्याएका छन्।

त्यस्तै ३.९० जिपिए ल्याएर नीलकण्ठ माविकै दिवस अधिकारी र द राइजिङ भिलेज स्कुलका कोविडमणि रिमाल जिल्लाकै दोश्रो भएका छन्। यस्तै छात्रा तर्फ नीलकण्ठ माविका अनुपमा दुवाडी, कन्चना पौडेल र द राईजिङ भिलेज बोर्डिङ स्कुलका आस्मा सुवेदीले ३.८५ जिपिए ल्याएका छन्।

धादिङबेसी सदरमुकाममा रहेको नमुना विद्यालय नीलकण्ठ मावि जिल्लाको सबैभन्दा धेरै जीपीए ल्याएर विद्यार्थी पास गराउनेमा छानिएको छ। नीजि विद्यालयहरुको बीचमा रहेको नीलकण्ठ माविले यो वर्ष २ सय ४४ जना विद्यार्थीलाई एसइईमा सहभागी गराएको थियो।

धादिङ जिल्लाबाट ६ हजार २ सय २४ जनाले एसइई परीक्षा दिएका छन्। त्यसमध्य नियमितफर्तबाट ५ हजार ९ सय ५३, प्राविधिक तर्फबाट २ सय ९, खुल्ला तर्फबाट ३९ र ग्रेस वृद्धिबाट २३ जना सहभागी छन्। जिल्लाभर एक सय ५५ वटा विद्यालयका विद्यार्थीले २६ वटा परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए।

जिल्लाका एक सय ३२ वटा सामुदायिक विद्यालय, २१ वटा संस्थागत विद्यालय, ८ वटा प्राविधिक विद्यालय, एक वटा खुल्ला र एक वटा अनौपचारिक विद्यालयबाट विद्यार्थीहरु एसइईमा सहभागी भएका थिए।

प्रकाशित: ११ श्रावण २०७९ १४:४८ बुधबार

एसइई परीक्षा नीलकण्ठ मावि राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय