त्रिभुवन विश्वविद्यालयले परीक्षामा प्रश्नपत्र निर्माण कार्यमा मर्यादा विपरित कार्य गर्ने शिक्षकलाई तीन वर्षसम्म कुनै पनि आंगिक कलेजमा पढाउन नपाउने कारबाही गरेको छ।
साथै दोषी पाइएका विषय विज्ञ शिक्षकहरुले तीन वर्षसम्म डिन कार्यालय तथा परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट हुने कुनै पनि किसिमको परीक्षाको कार्यमा सहभागि समेत हुन नपाउने गरि काराबाही गरिएको व्यवस्थापनका डीन डिल्लीराज शर्माले जनाए। उनले परीक्षा जस्तो संवेदनशिल कार्यमा शिक्षकहरुले त्रिविको लागि बनाएको प्रश्नपत्र आफूले पढाउने निजी कलेजमा बेचेको र त्रिविको मर्यादामाथि आँच पुर्याउने काम गरेकोले काराबाही गरिएको जनाए।
विश्वविद्यालयले असार २२ गते संचालन गरेको व्यवस्थापन संकायतर्फको बिबिए छैटौं सेमेस्टरको एमजिटि २०३ः अर्गनाइजेशनल 'बिहेवियर' विषयको परीक्षाको प्रश्नपत्रमा उक्त प्रश्नपत्र निर्माणकर्ता शिक्षकले यसै शैक्षिक सत्रमा काठमाडौंको सोह्रखुटेमा रहेको मोर्डन नेपाल कलेजको प्रिबोर्डमा सोधेको प्रश्नपत्र हुबहु डीन कार्यालयमा बुझाएको प्रमाणित भएको डीन शर्माले बताए।
‘उक्त जानकारी परीक्षा सकिएपछि मात्र डीन कार्यालयमा भयो। लगत्तै परीक्षा समितिको बैठक बसी उक्त परीक्षा रद्ध गरिसकेको छ,’ डीन शर्माले नागरिकसँग भने, ‘समीतिले उक्त परीक्षा साउन एक गते अर्थात आइतबार संचालन गर्ने निर्णय गरेको छ। ’ उनले थपे, ‘परीक्षाको प्रश्नपत्र निर्माणकर्तालाई मर्यादा विपरीत कार्य गरेकोले तीन वर्षसम्म परीक्षाको कुनै पनि काममा सहभागिता नगराउने र त्रिविको कुनै पनि आंगिक कलेजमा समेत तीन वर्षसम्म पढाउन नपाइने कडा काराबाही गर्ने परीक्षा समितिले निर्णय गरेको छ। दोषीहरु तीन जना छन्। यो निर्णय कार्यन्वयन गर्न गराउन उनीहरु कार्यरत सम्बन्धित कलेज, डीनको कार्यालय र परीक्षा नियन्त्रण बल्खुमा लेखि पठाइसकेको छ।’
यसैगरी बिबिए छैटौं सेमेस्टरको एसओसी२०२ःनेप्लिज सोसाइटी एन्ड पोलिटिक्स विषयको परीक्षाको प्रश्नपत्र निर्माण गर्न तोकिएका प्रश्न निर्माणकर्ता शिक्षकले बुझाएका प्रश्नपत्रमा शीर्षक एसओसीः२०२ः नेप्लिज सोसाइटी एन्ड पोलटिक्स नै राखी सोभित्रका प्रश्नहरु भने एसओसीः२०१सोसोलोजी फर बिजनेससँग सम्बन्धित प्रश्नहरु सोधी परीक्षाप्रति प्रश्नपत्र निर्माणकर्ताले गम्भीर खेलवाड गरेको पाइएको त्रिवि राजिष्ट्रार पेशनल दहालले बताए।
‘दोषी पाइएका ति शिक्षकहरुलाई तीन वर्षसम्म डीन कार्यालयको कुनै पनि परीक्षाको कामममा संलग्न नगराउने काराबाही गरिएको छ,’रजिष्ट्रार दहालले भने, ‘ति शिक्षकहरुले त्रिविको प्राज्ञिक मूल्य मन्यता विपरीत गई विद्यार्थीको भविष्यप्रतिनै खेलवाड गरेको देखियो।’ उनले थपे, ‘ति दोषीहरूलाई पनि तीन वर्षसम्म त्रिविको कुनै पनि आंगिक कलेजमा पढाउन नपाइने गरि काराबाही गरिएको छ। यो काराबाही कार्यन्वयनको लागि सम्बन्धित डीन कार्यालय, पनिका बल्खु र उनीहरुले पढाउने गरेको सम्बन्धित कलेजलाई समेत निर्देशन त्रिविले दिइसकेको छ।’
यसैगरी बिबिए छैटौं सेमेस्टरको एसओएस २०२ःनेप्लिज सोसाइटी एन्ड पोलटिक्स विषयको परीक्षाको प्रश्नपत्र निर्माण गर्न तोकिएको प्रश्नपत्र निर्माणकर्ता शिक्षकले बुझाएको प्रश्नपत्र डीन कार्यालयको क्वेसनबैंकमा नै रहेको अवस्थामा आफ्नो एक पाठ्यपुस्तकमा नमुना प्रश्नपत्र भनी उक्त प्रश्नपत्र हुबहु रुपमा संलग्न गरी प्रकाशित गरेर प्रश्नपत्रको गोपनियता भंग गरी परीक्षाप्रति गम्भिर खेलवाड गर्ने शिक्षकलाई पनि ३ वर्षसम्म डीन कार्यालयको कुनै पनि परीक्षासँग सम्बन्धित कार्य नगराउने काराबाही भएको डीन शर्माले जनाए।
साथै दोषी शिक्षकहरुलाई कुनै पनि आंगिक कलेजमा समेत पढाउन नपाइने कारबाही भएको छ। ‘व्यवस्थापन संकाय अन्तर्गतको परीक्षा संचालन तथा व्यवस्थापनमा देखिएका समस्याहरु तथा कमी कमजोरीहरुको विस्तृत अध्ययन तथा छानविन गर्न प्राडा भोजराज अर्यालको संयोजकमा एक उच्चस्तरीय समिति गठन गरिएको छ,’ डीन शर्माले भने, ‘त्रिवि परीक्षा संचालनका सम्बन्धनमा विगतमाल सोधिएका प्रश्नपत्र कुन हदसम्म दोहर्याउन मिल्ने वा नमिल्ने सम्बन्धमा त्रिवि ऐन, नियम, बिनियम तथा परीक्षा सम्बन्धि निर्देशिकाममा समेत स्पष्ट व्यवस्था नभएकोले समस्या आउने गरेका छन्।’ उनले थपे, ‘यही कारण एमएपिएस ५५३ इन्टरनेशनल पोलिटिक्सको परीक्षामा गत वर्षकै प्रश्नपत्र नै यस वर्षको संचालित परीक्षामा बितरण हुन पुगेको देखियो।त्यही भएर यस पटकलाई अब उपरान्त हेलचक्राई नगर्नू भनी यस विषयका प्रश्नपत्र निर्माण विज्ञलाई सचेत मात्र गराइएको छ।’
प्रकाशित: ३ श्रावण २०७९ १२:२० मंगलबार