शिक्षा

गुणस्तरीय शिक्षामा जोड दिन नगर प्रमुख कलवारको जोड

रौतहटको गरुडा नगरपालिका ४ मा रहेको श्री माध्यमिक विद्यालयले विद्यालयको स्थापना कालदेखिका प्रधानाध्यापक तथा प्रधानाध्यापकहरूलाई सम्मानित गरेको छ।  

विद्यालयका प्रधानाध्यापक प्रभु राउत पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख कन्थमनि प्रसाद कलवारले उनीहरूलाई सम्मानित गरेका हुन्।

विद्यालय स्थापना कालदेखिका प्रधानाध्यापकहरु अनुठा साह बनिया, हृदयनारायण साह, गन्देश्वर प्रसाद सिंह, हरिनारायण साहलाई सम्मानित गरिएकाे हाे। यसै गरी स्थापना कालदेखिका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु मेथुर चौधरी, राम प्रसाद साह, वंशीराम जयसवाल, भुवनेश्वर राम जयसवाल, रामकृष्ण चौधरी, चुनचुन प्रसाद साहलाई पनि सम्मानित गरेको छ।  

विद्यालयको इतिहासमा पहिलोपटक स्थापना कालदेखिका प्रअ तथा अध्यक्षलाई सम्मानित गरिएको हो। केही प्रअ तथा विव्यस अध्यक्षहरुको देहान्त भइसकेकोले मरणोपरान्त सम्मानित गरिएको छ। दिवंगत व्यक्तित्वहरुको सम्मानपत्र प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको छ।  

यसै गरी विद्यालयले दुई जग्गादातालाई पनि सम्मानित गरेको छ। विद्यालयले गरुडा नगरपालिका नवनिर्वाचित नगर प्रमुख कन्थमनि प्रसाद कलवार, उपप्रमुख पूनमकुमारी चौधरी र वडाध्यक्ष सुनिलकुमार जयसवाललाई पनि सम्मानित गरेको हाे।  

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कलवारले जिल्लाको नमुना विद्यालयको रुपमा पहिचान बनाइरहेको सन्दर्भमा विद्यालयमा देखिएका समस्याहरुलाई समाधान गर्न आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नगर प्रमुख कलवारले विद्यालयको चौतर्फी विकासमा सबैको साथ र सहयोगको आवश्यकता रहेको र नगर प्रमुखको हैसियतले विद्यालयको समस्या समाधान गर्न आफू चौबिसै घन्टा तयार रहेको बताउँदै गुणस्तरीय शिक्षामा विद्यालयले पनि जोड दिनुपर्ने बताएका छन्।  

प्रकाशित: १७ असार २०७९ १४:२५ शुक्रबार