शिक्षा

शिक्षकमाथि गालीगलौजपछि सर्लाहीको एक विद्यालय अनिश्चितकालीन बन्द

सर्लाहीको एक विद्यालयका शिक्षकमाथि गालीगलौज भएपछि अनिश्चितकालको लागि विद्यालय बन्द गरिएको छ। सर्लाहीको लालबन्दी नगरपालिकाका रहेको जनज्योति माध्यमिक विद्यालयका शिक्षकहरुले अनिश्चितकालका लागि विद्यालय बन्द गरेका हुन्।  

केही व्यक्तिहरु विद्यालयमा पुगेर शिक्षकमाथि पटक पटक अपशब्द प्रयोग गर्ने गरेको तथा अनाहकमा गाली गलौज गर्ने गरेको र सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि सुनुवाई नभएकोले बाध्य भएर शिक्षकहरुले विद्यालयमा पठनपाठन बन्द गर्नुपरेको एक शिक्षकले जानकारी गराएका छन्।  

आइतवार पनि केही मानिसहरु आएर शिक्षकलाई जथाभावी गाली गलौज गर्दै अपमानित गर्ने काम गरेकाले विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको संयुक्त बैठकले सोमवारदेखि विद्यालयमा पठनपाठन नगराउने निर्णय गरेका हुन्। शिक्षकहरुले पठनपाठन बन्द गरेपछि सोमवार लालबन्दीस्थित जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत हजारौँ विद्यार्थीहरु फर्केर गएका छन्।

विद्यालयको हकभोगमा रहेको ऐलानी जग्गाको विषयमा लामो समयदेखि विवाद रहेकोमा विवाद समाधान नहुँदा पनि केही स्थानीयबासी शिक्षकलाई गाली गर्ने गरेका छन्। ऐलानी जमिनमा पनि मोही देखिएको र मोहीबालाले शिक्षकसित बारम्बार विवाद गर्ने गरेको बुझिएको छ। सोही जमिनमा विद्यालयले आठ कोठे भवन निर्माण गर्न खोजेकोले पछिल्ला केही समयदेखि विद्यालयमा झन् विवाद भएको हो।  

विद्यालय र जमिनको झमेलामा विद्यालय प्रशासन, सम्बन्धित कार्यालय तथा नगरपालिकाले मिलेर समाधान गर्नुपर्नेमा विद्यालयमा डोजर लिएर विद्यालय भवन भत्काउन जाने तथा शिक्षक कर्मचारीलाई अनावश्यक गालीगलौज र अपमानित गर्ने काम भइरहेकोले अनिश्चिकालको लागि विद्यालय बन्द गरिएको एक शिक्षकको भनाइ छ।

शिक्षकहरु पढाउन तयार छन् तर पढाउने वातावरण हुनुपर्ने, विद्यार्थीको अगाडि शिक्षकले गालीगलौज सुन्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने र विद्यालयमा रहेको जमिनको विवाद समाधान हुनुपर्ने शिक्षकहरुको अडान रहेको एक शिक्षकको भनाइ रहेको छ।

प्रकाशित: १३ असार २०७९ १४:३४ सोमबार