शिक्षा

साउनयता एक लाखले लिए एनओसी

पछिल्लो ११ महिनामा १ लाख २ हजार ८ सय ७३ जनाले विदेशमा गएर उच्च शिक्षा हासिल गर्न शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखामा विगत दुई सातादेखि विदेशका विभिन्न विश्वविद्यालयमा गएर उच्च शिक्षा अध्ययन गर्न एनओसी लिनेको चाप थेगिनसक्नु छ।  

कोरोनाकालमा विभिन्न देशले विदेशी विद्यार्थीलाई भर्ना हुन बन्देज लगाएका थिए। तर हाल कोरोना कहर सामान्य हुँदै गएको छ। स्वदेशी विश्वविद्यालयमा दिनहुँ हुने बन्दहडतालका कारण बढ्दै गएको निराशाले पनि युवा विद्यार्थी उच्च शिक्षाका लागि बिदेसिनुपर्ने अवस्था बनेको छ।  

कोरोना कहर सामान्य बन्दै गएपछि विदेशी मुलुकहरूले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भिसा प्रक्रियासमेत खुकुलो पारेका छन्। यसले गर्दा विदेशमा गएर उच्च शिक्षा हासिल गर्न एनओसी लिने युवा विद्यार्थीको चाप ह्वात्तै बढेको एनओसी शाखा प्रमुख हरिप्रसाद निरौलाले बताए। विदेशमा गएर अध्ययन गर्दा रोजगारीको राम्रो अवसर पाइने र प्राप्त शैक्षिक योग्यताको प्रमाणपत्रले विश्वबजारमा पनि मान्यता पाउने भएकाले नेपाली विद्यार्थी बिदेसिने गरेका छन्।

‘राज्यले एनओसीका लागि प्रतिविद्यार्थी २ हजार रुपैयाँका दरले राजस्व लिन्छ। यसबाट पछिलो ११ महिनामा २० करोड ५७ लाख ४६ हजार रूपैयाँ राजस्व संकलन भएको छ,’ प्रमुख निरौलाले नागरिकसँग भने, ‘हाल दैनिक एक हजार हाराहारीमा एनओसी जारी भइरहेको छ। सरकारले युवा जनशक्तिलाई नेपालमै पढाइसँगै रोजगारीको पनि अवसर सिर्जना गर्ने कार्यक्रम ल्याउनुपर्छ। युवा जमातलाई स्वदेशमै रोक्ने वातावरण अब सरकारले तत्काल तयार पार्नुपर्छ।’ निरौलाका अनुसार नेपालका विश्वविद्यालयमा पढाइने विषय अध्ययनकै लागि विद्यार्थी विदेशमा गइरहेको देखिएको छ। सरकारले नेपाली पाठ्यक्रम विश्वस्तरीय बनाउन परिमार्जन गर्नुपर्ने उनको सुझाव छ।

सन् २०२२ को जनवरीदेखि जुन २५ तारेखसम्म ७६ हजार ७ सय ७६ थान एनओसी मन्त्रालयले जारी गरेको निरौलाले बताए। कक्षा १२ पास गरेपछि विद्यार्थीले विदेशी विश्वविद्यालयमा अध्ययनका लागि आवेदन दिने गरेका छन्। विराटनगरका सुजित गुप्ता अस्ट्रेलियामा अध्ययनका लागि जान एनओसी लिन एनओसी शाखामा आएका थिए। उनले मेलबर्नस्थित एक विश्वविद्यालयमा आइटीमा स्नातक अध्ययनका लागि अफर लेटर प्राप्त गरेकाले भिसा प्रक्रिया अघि बढाउन एनओसी लिन आएको बताए। ‘अस्ट्रेलिया जान भिसा प्राप्ति सहज छ। अध्ययन वातावरण राम्रो हुनुका साथै कामको अवसर पनि छ,’ गुप्ताले भने, ‘नेपाल बस्दा आमाबुवामाथि निर्भर हुनुपर्छ। कोर्स पनि चार–पाँच वर्षसम्म पनि पूरा हँुदैन। अवसर पनि छैन, निराशा मात्रै छ। विश्वविद्यालयहरू महिनौंसम्म बन्द हुँदा समेत पदाधिकारी र सरकार मौन बस्छन्। यस्तो अवस्थामा स्वदेशमा बसेर के गर्ने ? अस्ट्रेलियाबाट मात्र होइन, अन्य मुलुकका शैक्षिक संस्थाबाट प्राप्त गरेको डिग्रीले पनि विश्वबजारमा मान्यता पाउने भएकाले कामको अवसर पनि राम्रो हुन्छ। आर्थिक रूपमा आत्ममनिर्भर हुने भएकाले पनि नेपाली युवा बिदेसिन चाहन्छन्।’

प्रमुख निरौलाका अनुसार हाल विद्यार्थीको उच्च रोजाइमा अस्ट्रेलिया, जापान, अमेरिका, क्यानडा, बेलायत, कोरियाका विश्वविद्यालय छन्। सबैभन्दा बढी अस्ट्रेलिया जाने गरेका छन्। गत साउनदेखि असार पहिलो सातासम्म ६१ हजार ६ सय ३६ विद्यार्थीले अस्ट्रेलियामा गएर पढ्न एनओसी लिएका छन्। त्यस्तै सोही अवधिमा १६ हजार ३ सय २८ जनाले जापान, ५ हजार २ सय १ जनाले क्यानडा, ४ हजार ८ सय ५२ जनाले अमेरिका र १ हजार १ सय ९२ जनाले कोरियाका विभिन्न विश्वविद्यालयमा गएर पढ्न एनओसी लिएका छन्।

यसैगरी अन्य मुलुकमा जान पनि एनओसी लिएको छ। ‘विदेशी शैक्षिक संस्थाहरूको कोर्स सीपमूलक र छोटो अवधिको हुन्छ। क्रेडिट आवर पनि पुगेकै हुन्छ,’ निरौला भन्छन्, ‘अब नेपाली शैक्षिक संस्थाहरूले पनि आफ्नो कोर्सबारे विश्लेषण गर्नुपर्ने समय आइसकेको छ। यहाँ पनि काम गर्दै पढ्ने सहरमुखी शिक्षाको व्यवस्था हुनुपर्छ।’ उनका अनुसार नेपाली विद्यार्थी विदेशमा आइटी, नर्सिङ, चिकित्साशास्त्र, होटल व्यवस्थापन, इन्जिनियरिङ, कम्प्युटर साइन्स, भाषालगायत विषयमा अध्ययन गर्न एनओसी लिने गरेका छन्।  

शिक्षाविद् मनप्रसाद वाग्ले नेपाली उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाहरूको पाठ्यक्रम विश्वस्तरीय नभएकाले विद्यार्थी कलिलै उमेरमा बिदेसिन बाध्य भएको बताउँछन्। ‘एकातिर विश्वविद्यालयहरूमा दिनहुँ भइरहने बन्दहडताल तथा राजनीतीकरणले समयमा कोर्स पूरा हुन नसक्ने समस्या छ भने अर्कोतर्फ हातमा शैक्षिक योग्यताको प्रमाणपत्र भए पनि रोजगारी नपाउने अवस्था छ,’ वाग्लेले भने, ‘समयमा कोर्स पूरा नभएपछि विद्यार्थी अभिभावकमाथि भरनिर्भर हुँदै गएका छन्। यसले उनीहरूमा निराशा जाग्दै गएको छ। त्रिभुवन विश्वविद्यालयमा शिक्षक र विद्यार्थीले लगाएको ताला १४५ दिनमा खुलेको छ। निराशाजनक स्थितिका कारण देशका युवा विद्यार्थी बिदेसिने अवस्था आएको छ। स्थिति थप बिग्रँदै गए नेपाली विश्वविद्यालय विद्यार्थी नपाएर बन्द हुने अवस्थामा पुग्नेछन्।’

प्रकाशित: १३ असार २०७९ ०१:२९ सोमबार