शिक्षा

सिङ्गो पालिकामा मावि दरबन्दी शून्य, निमाविमा दरबन्दीमा पनि एक मात्रै

चुमनुब्री गाउँपालिकाको कार्यालय गोरखा।

गोरखाको चुमनुब्री गाउँपालिकामा कक्षा १० सम्म पढाई हुने दुईवटा विद्यालय छ। २२ वटा विद्यालय रहेको त्यहाँ एउटामा कक्षा ८ र १९ वटामा कक्षा ५ सम्म मात्रै पढाई हुन्छ। यी सबै विद्यालयमा गरी एक हजार एक सय ५० जना विद्यार्थी अध्ययनरत छन्।  

माध्यामिक तहमा स्थायी शिक्षक दरबन्दी भने सिङ्गो पालिकामा एउटा पनि छैन। ‘निमावी तहमा एउटा स्थायी दरबन्दी छ’ गाउँपालिकाको शिक्षा शाखाका अधिकृत बलराम पाठकले भने ‘४६ जना प्रावि तहको दरबन्दीमा शिक्षक हुनुहुन्छ, अन्य सबै रिक्त छ।’  

चुमनुब्री गाउँपालिका ३ को बुद्ध मावि आबासिय विद्यालय हो। त्यहाँ पाँच सय भन्दाबढी विद्यार्थी छन्। ल्हो माविमा ९/१० मा एक सय हाराहारी विद्यार्थी छन्। नुब्री आधारभुत विद्यालय कक्षा ८ चलिरहेको छ। यी बाहेकका सबै विद्यालय कक्षा ५ सम्म चलिरहेको छ।

अहिले गाउँपालिका भित्र मावि राहत दरबन्दीमा चार जना, निमावी राहतमा दुई र शिक्षण सिकाई अनुदानमा २ थप शिक्षक छन्। ‘यही जनशक्तिबाट पठनपाठन चलिरहेको छ’ शिक्षा शाखाका प्रमुख समेत रहेका अधिकृत पाठकले भने।  

शिक्षा मन्त्रालयले हिमाली क्षेत्रमा एउटा कक्षामा २५ जना विद्यार्थी भएमा दरबन्दी दिन सक्ने ब्यवस्था गरेको छ। ‘यो नियमले चुमनुब्री जस्तो दुर्गम ठाउँमा दरबन्दी थपिँदैन’ उनले भने ‘भौगोलिक बिकटता भएको ठाउँमा दुरीको आधारमा दरबन्दी दिने ब्यवस्था गर्नुपर्छ।’ एउटा कक्षामा २५ जना पु¥याउन सक्ने अवस्था नहुँदा दरबन्दी थप नभएको उनले बताए। ‘कतिपय विद्यालयमा कक्षा तीन सम्म ३०÷४० जना छन्, एउटै कक्षा २५ पु¥याउन संभव छैन, अर्को विद्यालयमा जान दिनभरी समय लाग्छ, त्यहाँ दरबन्दी नदिने हो भने विद्यालय चलाउन मुस्किल पर्छ’ शिक्षा शाखाका प्रमुख पाठकले भने।  

‘गाउँपालिकाको बजेटबाट शिक्षकको गुणस्तर बढाउन केही बजेट बिनियोजन भईरहेको छ’ प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले भने ‘दरबन्दीपूर्ती भए त्यो बजेट विद्यालयको भौतिक, प्राविधिक, आधुनिक शिक्षक सिकाईको क्षेत्रमा खर्च गर्न सकिन्थ्यो।’

‘पालिकाभित्र कक्षा १० सम्म पढाई हुने विद्यालय दुईवटा मात्रै छ, त्यो पनि दरबन्दी छैन’ गाउँपालिका अध्यक्ष निमा लामाले भने ‘निमावी तहको दरबन्दी पनि धेरै कम छ।’ शिक्षक दरबन्दी नहुँदा शिक्षाको गुणस्तर बढाउन नसकिएको उनले बताए। ‘विद्यार्थीको सिकाई गुणस्तर बढाउन निम्न माध्यामिक र माध्यामिक तहको स्विकृत दरबन्दी अनुसार शिक्षक ब्यवस्थापन महत्वपूर्ण हुन्छ’ उनले भने।  

चुमनुब्रीमा आबासिय छात्रवृत्ती कोटा बढाउन शिक्षामन्त्रीको ध्यानाकर्षण

गोरखाको चुमनुब्री गाउँपालिकामा आबासिय छात्रवृत्ती कोटा बढाउन शिक्षामन्त्री देबेन्द्र पौडेलको ध्यानाकर्षण गरिएको छ। गोरखा क्षेत्र नम्बर १ का सघिय सासंद हरिराज अधिकारी र गाउँपालिका अध्यक्ष निमा लामाले शिक्षामन्त्री पौडेललाई भेटेर दुर्गमका विद्यार्थीले पढ्न पाउने अधिकार सुनिश्चितताका लागि पहल गर्न भनेका हुन्।  

‘अहिले चार सय २० हिमाली आबासिय छात्रवृत्ती कोटा छ यसमा तत्काल दुई सय थप गर्न भनेका छौँ’ चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले भने। भौगोलिक रुपमा बिकट, सडक सञ्जाल नजोडिएको पालिका भएकाले चुमनुब्रीका विद्यार्थीलाई विद्यालय आउजाउमा निकै समस्या छ। गाउँपालिका भित्रको विद्यालयमा पुग्न विद्यार्थीलाई दुई दिन सम्म लाग्छ। ‘बढ्दो विद्यार्थी चाप र बिकटताका कारण अहिले भएको कोटाले माग धान्न चुनौती छ’ गाउँपालिका अध्यक्ष लामाले भने।  

आर्थिक अवस्था कमजोर भएका, अविभाबक नभएका, धेरै टाढाबाट विद्यालय धाउनुपर्ने विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर छात्राबासलाई थप ब्यवस्थित बनाउने गाउँपालिकाको योजना रहेको लामाले बताए। चुमनुब्रीको समस्या समाधान गर्न शिक्षा मन्त्री पौडेल सकारात्मक रहेको र तत्काल छात्रवृत्ती कोटा थप गर्ने आस्वासन दिएको अध्यक्ष लामाले बताए।

चुमनुब्री गाउँपालिकाको शिक्षा संम्बन्धी समस्याका बारेमा माग पत्र शिक्षा मन्त्रीलाई पेश गर्दै गाउँपालिका अध्यक्ष। 

प्रकाशित: २ असार २०७९ १२:४५ बिहीबार