रौतामाई गाउँपालिकाको एक मात्र नमूना विद्यालयका लागि सुविधा सम्पन्न पक्की भवन निर्माण सुरु भएको छ। गाउँपालिका ७ मु्र्कुचीस्थित नमूना मावि मुर्कुचीका लागि ७ करोड मूल्यको लागत इस्टीमेटको भवन निर्माण सुरु भएको हो।
चालु आर्थिकवर्ष प्राप्त १ करोड ५० लाख बजेटमध्ये विस्तृत परियोजना प्रतिबेदन (डिपिआर) तयार गर्न ५ लाख खर्चेर बाँकी १ करोड ४५ लाखबाट भवन बनाउन गाउँपालिकाले टेण्डर आव्हान गरेको थियो। जसमा निर्माण व्यवसायीहरुबीच प्रतिस्पर्धा गराउँदा घटाघटमा ८८ लाखमा भवन बनाउने ठेक्का परेको विद्यालयका प्रधानाध्यापक (प्रअ) खड्ग थापामगरले बताए। मगरका अनुसार भवन बहुवर्षीय कार्यक्रम अनुसार निर्माण गर्न लागिएको हो।
भवन निर्माणको जिम्मा ममता निर्माण सेवा त्रिनपा ७ ले पाएको गाउँपालिकाका सवइन्जिनियर दीपेन्द्र श्रीवास्तवले बताए। उनका अनुसार हाल जग खनेर हात्ती पाईलेको काम सकिएको भवन केही दिनभित्रै पिल्लर उठाएर डिपिसी गर्ने तयारी भईरहेको छ। भवन ठूलो र सुविधा सम्पन्न हुने हुँदा वहुवर्षीय योजना अन्तर्गत निर्माण गर्न थप बजेट आगामी वर्षहरुमा प्राप्त हुने गरी सुनिश्चित भएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले मुर्चुची बजारको बीच भागमा रहेको विद्यालय भवन आफ्नै स्वामित्वको १ बिगाहा २ कठ्ठा जमिनमा निर्माणाधीन छ। गुणस्तरीय शिक्षाका लागि गाउँपालिकामै अब्बल सावित हुँदै आएको उक्त विद्यालयमा कक्षा कोठाको अभाव टार्न नयाँ भवन बनाउन लागिएको गुरुङले बताए। बालबालिकाको शैक्षिक अधिकारको ग्यारेन्टी गद्र्रै विद्यालयलाई सबै किसिमले सवल बनाउने योजना अनुसार मुर्कुची माविलाई नमूना विद्यालय घोषणा गरेर स्तरोन्नति गर्न गाउँपालिका अघि बढेको गुरुङको भनाई छ। अन्य विद्यालयहरुलाई पनि क्रमशः सुविधा सम्पन्न बनाउँदै लाने योजना रहेको उनले सुनाए।
२०१८ सालमा स्थापित उक्त विद्यालय ०५० सालदेखि माध्यामिक तह (कक्षा १०)मा स्तरोन्नति भएको हो। उनले विद्यालयमा हाल साधारण र प्राविधिक गरी २ धारमा पठनपाठन भईरहेको प्रअ मगरले बताएका छन्। कक्षा ९ देखि सुरु प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङको पठनपाठन हाल कक्षा ११ सम्म पुगेको बताए।
त्यसैगरी साधारणतर्फ शिक्षा र व्यवस्थापन विषयमा पनि कक्षा १२ सम्मको पठनपाठन भईरहेको छ। अहिले सिभिल इन्जिनियरिङतर्फ १ सय ६० विद्यार्थी पठनपाठन गरिरहेको विद्यालयमा कुल विद्यार्थी संख्या ७ सय ७५ रहेको विद्यालयले जनाएको छ। प्राविधिक धारको पठनपाठन सहज बनाउन ३ वर्षअघि नै १२ कोठाको ३ तले पक्की भवन निर्माण भईसकेको छ।
साधारण विषयतर्फको पठनपाठनका लागि हाल कक्षा कोठाको अभाव भएकैले नयाँ भवन बनाउन लागिएको हो। कक्षा कोठाको अभाव टार्न छिट्टै नयाँ भवन बनाईसक्नुपर्ने बाध्यता रहेको प्रअ मगरले बताए। नयाँ भवन बनेपछि कक्षाकोठाको अभाव टार्न सकिने भए पनि दक्ष शैक्षिक जनशक्तिको अभाव पनि उत्तिकै रहेको विद्यालयले जनाएको छ। दरबन्दी अनुसार शिक्षक नहुँदा हाल ७ जना निजी स्रोतका शिक्षक राखेर अध्यापन गराउनु परेको छ। आधारभूत तह कक्षा १ देखि ५ सम्मका लागि ३ जना, कक्षा ६ देखि ८ सम्मका लागि ३ जना र माध्यामिक तह कक्षा ९ र १० का लागि १ शिक्षक निजी स्रोतमा कार्यरत रहेको प्रअ मगरले बताए।
दरबन्दी अनुसार शिक्षक व्यवस्थापन नहुँदा नेपाल सरकारको प्रचलित ऐन अनुसार तलव भत्ताको झण्डै ६० प्रतिशत कम पारिश्रमिक दिएर पठनपाठन गराउनु परेको विद्यालयका लेखापाल विदुर राउतले बताए। उनका अनुसार आधारभूततर्फ १–५ र ६–८ कक्षा पढाउने शिक्षकलाई मासिक १२ हजार पारिश्रमिक दिने गरिएको छ भने माध्यामिकतहतर्फ ९–१० पढाउने निजी स्रोत शिक्षकलाई मासिक २० हजार तलव भत्ताले काम चलाउन बाध्य हुनु परेको छ।
प्रमुख प्रशासकीय अधिकृत गुृरुङले विद्यालयमा शिक्षक अभाव हटाउन गाउँपालिकाले आगामी आर्थिकवर्षदेखि दीर्घकालीन सोँच राखेर अघि बढ्ने बताएका छन्। गाउँपालिकाबासीलाई गुणस्तरीय शिक्षा दिन दक्ष शैक्षिक जनशक्तिको खाँचो टार्न जरुरी रहेको भन्दै उनले त्यसका लागि गाउँपालिकाले छिट्टै योजना बनाएर दीर्घकालीन समाधानको उपाय खोज्ने बताए। मुर्कुची मात्र नभएर अन्य ८ वटै वडामा सञ्चालित विद्यालयलाई भवनलगायत भौतिक संरचनायुक्त, सुविधा सम्पन्न र दक्ष जनशक्तियुक्त बनाउन आवश्यक तयारी सुरु गरिसकेको गुरुङले बताएका छन्।
प्रकाशित: २५ जेष्ठ २०७९ १३:०७ बुधबार