काठमाडौंको मुटु भनेर चिनिने नयाँ सडकबाट सय मिटरको दूरीमा रहेको केशचन्द्र आधारभूत विद्यालय यसै वर्ष शून्य विद्यार्थी भएका कारण सरकारले बन्द गर्यो। सोही कारण बन्द भएको अर्को स्कुल हो तारिणी आधारभूत विद्यालय। यो विद्यालय पनि काठमाडौंको मुख्य क्षेत्र भनेर चिनिने मखनटोलमा थियो। दुई दशकअघिसम्म यी विद्यालयमा स्थानीयका बालबालिका भरिभराउ हुन्थे।
यसैगरी नक्सालमा रहेको आदर्श आधारभूत विद्यालय गत वर्षदेखि बन्द भयो। बालमन्दिर क्षेत्रमा रहेको यो विद्यालयमा विद्यार्थी शून्य भएपछि बन्द गरिएको हो। बालमन्दिर क्षेत्रमा पर्ने यो विद्यालय महिला तथा बालबालिका मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को निर्णयबाट बन्द गरिएको हो।
आधारभूतमात्र होइन, विगतमा राम्रा कहलिएका र स्थानीयलाई विद्यालय नभइ नहुने अवस्थामा उनीहरूको जग्गादानबाट स्थापित ऐतिहासिक विद्यालय समेत पछिल्लो समय विद्यार्थी नभएपछि बन्द गर्नुपर्ने अवस्था आयो। वसन्तपुर क्षेत्रको कान्तिईश्वरी माध्यमिक विद्यालय यट्खा र कन्या माध्यमिक विद्यालय यट्खा यसकै उदाहरण हुन्।
यी विद्यालयलाई खारेज गरिएको काठमाडौं महानगरपालिका शिक्षा विभागका सरकारी विद्यालय शाखा प्रमुख मोतिप्रसाद भट्टराईले बताए। काठमाडौं महानगरपालिकाभित्र मात्र होइन, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार २०७४ सालपछि देशभरिमा गरी ७ सय २९ विद्यालय बन्द भएका छन्।
किन बन्द हुँदैछन् सरकारी विद्यालय?
शिक्षा तथा मानव स्रोत केन्द्रका निर्देशक रामचन्द्र शर्माका अनुसार सबैका लागि शिक्षा भन्ने राष्ट्रिय अभियान सञ्चालन भएसँगै देशमा सरकारी विद्यालय खुल्न थाले। त्यतिखेर निजी विद्यालय कम थिए अभिभावकले आफ्ना बाबुनानी सरकारी स्कुलमै पढाउँथे। तर हाल सहरी क्षेत्रका अभिभावक बच्चाको राम्रो शिक्षाका लागि बसाइँ सर्ने प्रवृत्ति बढ्यो र अभिभावकको लगाव निजी स्कुलतर्फ हुँदै गएको कारण पनि सरकारी विद्यालय बन्द हुने अवस्था आएको उनले जनाए।
‘०७४ पछि देशभरिबाट ७२९ विद्यालय बन्द र समायोजन भएको तथ्यांक विभिन्न पालिकाबाट केन्द्रमा आएको छ,’ निर्देशक शर्माले नागरिकसँग भने, ‘समायोजन भए पनि एउटा स्कुल त बन्द भएकै हो नि।’ उनले थपे, ‘अब देशभरि २७ हजारको हाराहारीमा सामुदायिक विद्यालय सञ्चालनमा छन्। सहरमा बसेर बच्चा पढाउने प्रवृत्ति बढ्दै गएको र निजीमा पढाए सामाजिक प्रतिष्ठा बढ्ने सोचका कारण पनि सरकारी स्कुलमा विद्यार्थी कम हुँदै गएका हुन्।’
२०४६ सालपछि देशमा निजी विद्यालय च्याउ उम्रेझैं खुल्दै गए। अंग्रेजी माध्यमबाट पठनपाठन गराउने भएपछि अभिभावकको मोह त्यस्ता विद्यालयतर्फ बढ्यो। सरकारी स्कुलमा भने नेपाली माध्यमबाटै पठनपाठन हुने, शिक्षक राजनीतिमा लाग्ने, नियमित कक्षा नलिने प्रवृत्ति बढेपछि सरकारी विद्यालयको गुणस्तर खस्कँदै गएको शिक्षाविद् विद्यानाथ कोइरालाको भनाइ छ। जसका कारण अभिभावकको विश्वास पनि गुम्दै गयो भने निजीसँग प्रतिस्पर्धा गर्न नसकेपछि यी विद्यालयमा विद्यार्थी सुक्दै गएका हुन्।
स्थानीयले बालबालिकालाई कखरा पढाउने उद्देश्यले उपलब्ध गराएको जग्गामा विगतमा स्थापित सरकारी विद्यालय हालको अवस्थामा बन्द हुँदै जानुमा विद्यालयको नेतृत्व गर्नेहरूको कमजोर व्यवस्थापन कारण रहेको सरोकारवाला बताउँछन्। शिक्षाविद् कोइरालाको भनाइमा सरकारी विद्यालयमा शिक्षकहरू बेइमान भएरै विद्यार्थी संख्या घट्दै गएको हो। ‘शिक्षक स्कुल र विद्यार्थीको नभएर दलको भए। नपढाए पनि तलब सेवासुविधा पाउँदै गए। बसीबसी सुविधा पाएपछि सरकारी स्कुलका शिक्षकले नियमित कक्षा लिनै छाडे। यसले पढाइ कमजोर भयो भने अभिभावकको विश्वास पनि गुम्दै गयो’, उनले भने।
कोइराला आफू २०३० सालतिर कन्या माविमा टिचिङ प्राक्टिस गर्न गएको दिन सम्झेर भन्छन्, ‘म जतिखेर टिचिङ प्राक्टिस गर्न गएको थिएँ त्यतिखेर हजारौंको संख्यामा छात्राहरू थिए। त्यस स्कुलमा शिक्षकको इमानदारी र विद्यार्थीप्रतिको जवाफदेहिता देखेर हामीले उहाँहरूबाट विद्यार्थीलाई गराउनु पर्ने शिक्षण सिकाइको सीप सिकेका थियौं। त्यो अझै काम लागिरहेको छ।’
काठमाडौं महानगरपालिका शिक्षा विभागका सरकारी विद्यालय हेर्ने शाखा प्रमुख भट्टराईले विगत तीन वर्षमा पाँच सरकारी विद्यालयमा विद्यार्थी न्यून भएकै कारण बन्द गरिएको बताए। पाँच विद्यालयका ४५ शिक्षकलाई अन्य विद्यालयमा व्यवस्थापन गरिएको उनले जनाए। ‘विद्यालयमा बच्चा नै नभएको र शिक्षकले व्यवस्थापन पनि गर्न सकेनन्। शिक्षा पालिकाभित्रको अधिकारमा आएपछि पालिकाको शिक्षा विभागले पहिले त स्थानीयको भावनाअनुसार तीन वर्ष रुँगेर बस्यो,’ भट्टराईले भने, ‘विद्यार्थी नै आएनन्। शून्य भएपछि शिक्षकलाई मात्र विद्यालयमा राख्नु उचित लागेन।
विद्यालय बन्द गरी ४५ शिक्षकलाई विद्यार्थी भएका विद्यालयमा व्यवस्थापन गरियो।’ सरकारी लगानीमा चलेका विद्यालयका शिक्षक विद्यार्थीप्रति जवाफदेही हुन नसकेकाले विद्यार्थी गुमाउनुपर्ने अवस्था आएको कालिमाटीमा रहेको निलवाराही स्कुलका प्रधानाध्यापक जानुका नेपालको अनुभव छ। केही वर्षअघिसम्म निलवाराही पनि विद्यार्थी न्यून भएकै अवस्थामा थियो।
आफू स्कुलको प्रधानाध्यापक हुनासाथ नेपालको एउटै उद्देश्य रह्यो– स्कुललाई शैक्षिक गुणस्तरमा अब्बल बनाउने। उनको कुशल नेतृत्वकै कारण १० बालाबलिकाबाट सुरु भएको निलवाराही माविमा अहिले एक हजार विद्यार्थी छन्।
‘हो, जुन विद्यालयका शिक्षक विद्यार्थी र विद्यालयप्रति जवाफदेही र जिम्मेवार बनेका छन्, त्यस्ता स्कुलहरू राम्रा भए,’ नेपालले अनुभव सुनाइन्, ‘हेडमास्टरले विद्यालयमा राम्रो नेतृत्व गर्ने र विद्यालय व्यवस्थापन चुस्त भएपछि विद्यालयका शिक्षक आफैं विद्यार्थीप्रति जवाफदेही र इमानदार बन्छन्। जब शिक्षक कक्षाकोठाभित्र प्रवेश गरेर विद्यार्थीलाई आफ्ना सन्तानसरह मानेर शिक्षण सिकाइतर्फ लाग्छन् तब सरकारी विद्यालयको स्तर आँफै उकासिँदै जान्छ।’
प्रकाशित: २५ चैत्र २०७८ ००:४० शुक्रबार