शिक्षा

विद्यार्थीद्वारा क्याम्पस प्रमुखको कुर्सी आगजनी

इञ्जिनियरीङ अध्ययन संस्थान (आइओएम)अन्तर्गत धरान ८ स्थित पूर्वाञ्चल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सी जलाएका छन् भने प्रशासनमा तालाबन्दी पनि गरेका छन्।

परीक्षाको लागि अनलाइन फारम भरेपनि विभिन्न विभागका ७ जना विद्यार्थीको प्रवेश पत्र नआएपछि उनीहरु परीक्षा दिनबाट वञ्चित छन्। यो वर्ष परीक्षा दिन नपाए एक वर्ष खेर जाने र अर्को वर्ष पनि कोटा खाली भएमा मात्र पढ्न पाउने भएपछि भविष्य अन्योल भएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन्।

उनीहरुले बिहीबार क्याम्पस प्रमुख ओम प्रकाश ढकाल बस्ने कुर्सी जलाएका छन् भने क्याम्पस प्रशासनको मुल ढोकामा तालाबन्दीसमेत गरेका छन्। त्यसक्रममा ढोकाको सिसासमेत तोडफोड भएको छ। आन्दोलित विद्यार्थीहरुले सर्भर सिस्टमको गडबडीको कारण विद्यार्थीहरुको भविष्य अन्योल बनाउन नहुने भन्दै क्याम्पस प्रशासन र डिन कार्यालयले परीक्षा दिने व्यवस्था गर्न माग गरेका छन्।

उनीहरुले क्याम्पस प्रशासन र डिन कार्यालयमा बैंक भौचारसहित निवेदन, पत्राचार गरेपनि सुनुवाई नभएको भन्दै आक्रोश पोखेका छन्। विद्यार्थीहरुका अनुसार सिभिल ईञ्जिनियरीङ पहिलो वर्षकी सची ताम्रकार, मेकानिकल पहिलो वर्षका तेजबहादुर खत्री, मेकानिकल तेस्रो वर्षका अरविन्द यादव, कम्युटर तेस्रो वर्षका रामविनोद घिमिरे, बिसिटी तेस्रो वर्षका ऋषभ आचार्य, सिभिल तेस्रो वर्षका सागर घिमिरे र अर्का एक विद्यार्थीको पनि प्रवेश पत्र आएको छैन।

जसले गर्दा उनीहरु परीक्षाबाट वञ्चित भएका छन्। परीक्षाको लागि बैंकमा पैसा जम्मा गरेर अनलाइन फारम भरेको तर आइओएमको सर्भरको कारण प्राविधिक त्रुटी भएर आफूहरुको प्रवेश पत्र नआएको भन्दै परीक्षाबाट वञ्चित विद्यार्थीहरुले भविष्य बिग्रने भएकोले परीक्षा दिने मौका पाउनुपर्ने माग गरेका छन्।

मेकानिकल पहिलो वर्षका विद्यार्थी तेजबहादुर खत्रीका अनुसार यो वर्ष परीक्षा दिन नपाए आइओएमको नियम अनुसार एक वर्ष समय खेर मात्र जादैन, अर्को वर्ष पनि सिट खाली भएमा मात्र पढ्न पाइनेछ। ‘हामीसँग बैंकमा पैसा तिरेको भौचर पनि छ। अनलाइन फारम भरेको पनि हो, एप्रुभ भयो भएन भन्ने जानकारी पाइएन। एडमिड कार्ड लिन जादा मात्र नपाएपछि अनलाइन फारम एप्रुभ भएन भन्ने थाह पाइयो,’ निराश हुँदै उनले भने,‘हाम्रो त भविष्य नै बिग्रने भयो।’

कम्युटर तेस्रो वर्षका विद्यार्थी रिषभ आचार्यले विगतमा यस्तै समस्या देखिदा क्याम्पस प्रशासनले नोटिस जारी गरेर कुन कुन विद्यार्थीको एडमिड कार्ड आएर भने जानकारी दिने गरेको बताए। त्यसपछि जरिवाना तिराएर फारम भर्ने गरेको उनको भनाइ छ।

‘तर, यसपटक प्रशासनले नोटिस जारी नै गरेन। अब हाम्रो एक बर्ष लस हुन्छ। परीक्षा दिन पाउँदैनौ, र पढ्न पाउँदैनौ भन्ने कुरा हुदैछ,’उनले भने,‘नियम के छ भने अर्को वर्ष सिट खाली भयो भने मात्र पढ्न पाउने, खाली नभएसम्म वेटिङमा बस्नुपर्छ। डिन सरसँग कुरा गर्‍यौ तर सुनुवाइ भएन। सिस्टमबाट फल्ट भयो, त्यसको मारमा हामी पर्‍यौ।’

क्याम्पसका पूर्वशैक्षिक सहायक क्याम्पस प्रमुख एवं सिआइटी इएमआइएसका प्राध्यापक टि.एन.झाप्राविधिक कारणले विद्यार्थी मारमा परेको स्वीकार्छन्। उनले यो समस्यालाई सिस्टममा ‘इरर’ भएको भन्दै कसैलाई पनि दोषारोपण नगरी समाधान गर्न क्याम्पस प्रशासन र डिन कार्यालयलाई आग्रह पनि गरेका छन्।

उनले भने,‘विद्यार्थीबाट पनि केही गल्ती भयो होला, अनलाइन माध्यम पुरा गरेनन् होला, तर त्यो सानो गल्तीको यति ठूलो सजायको भागीदार बनाउनु हुँदैन। कसैलाई दोष नदिई समस्या हल गर्दा हुन्छ।’ सहायक क्याम्पस प्रमुख (प्रशासन) विनयलाल श्रेष्ठले पनि समस्या देखिएको ७ जना विद्यार्थीको विषयमा डिन कार्यालयसँग समन्वय भइरहेको बताए।

विद्यार्थीहरुको भविष्यलाई ख्याल राख्दै लिखितरुपमा नै डिन कार्यालयमा पठाइएको पनि उनले बताए। ‘७ जना विद्यार्थीको भविष्यसँग पनि जोडिएको विषय भएकोले डिन कार्यालयसँग समन्वय गरेर समाधान गर्न पहल गरिरहेका छौ, लिखितरुपमा पनि पठाएका छौ,’ उनले भने,‘डिन कार्यालयमा उचित निर्णय भएर आउछ भन्ने आशामा छौं।’

प्रकाशित: १० चैत्र २०७८ ०९:३४ बिहीबार