शिक्षा

प्राविधिक विश्वविद्यालय खजुरामै राख्न माग

खजुरामै प्रादेशिक विश्वविद्यालय सञ्चालनको माग राख्दै प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि दबाब सिर्जना गर्न लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइएको छ। विश्वविद्यालय स्थापना संघर्ष समितिका संयोजक एवम् लुम्बिनी प्रदेशसभा सदस्य आरती पौडेल नेतृत्वको टोलीले प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको हो।

प्रदेश सांसद पौडेल, जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, शिक्षा क्षेत्रका कविन्द्र भट्टराई, लेख प्याकुरेल, नेकपा एमाले बाँके नगर कमिटीका अध्यक्ष दत्तप्रसाद आचार्यलगायतको टोलीले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापनपत्र बुझाएको छ। 

मागलाई बेवास्ता गरी सुनुवाइ नभए आन्दोलनमा उत्रिने प्रदेश सांसद पौडेलले बताइन्। उक्त आन्दोलनले गर्ने प्रतिकुल परिस्थितिप्रति प्रदेश सरकार एवम् प्रदेश योजना आयोग स्वयम् जवाफदेही हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ।  

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीसँग खजुरामै विश्वविद्यालय बनाउने विषयमा छलफल गरेको थियो। छलफलका क्रममा आवश्यक जग्गाको उपलब्धता भए बाँकेको खजुरामै प्रदेश विश्वविद्यालय बन्ने लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले आश्वासन दिएका छन्।

प्रकाशित: २ चैत्र २०७८ ०८:१६ बुधबार