नेपालकै जेठो त्रिभुवन विश्वविद्यालय हाल आंशिक प्राध्यापक र विद्यार्थीहरुको आन्दोलनका कारण रणभूमि बनेको छ। त्रिविमा लामो समयदेखि पठनपाठन गराउँदै आएका आंशिक शिक्षकले आंशिकबाट स्वत करारको माग राख्दै त्रिविका विभिन्न निकायहरुमा एक महिनादेखि तालाबन्दी गर्दै आएका छन् भने विद्यार्थीहरु विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक कार्य सुचारु गर्नु पर्ने माग राख्दै ताला फोड्दै आएका छन्।
शुक्रबार एमाले निकट अनेरास्ववीयुले उपप्राध्यापक पदमा परीक्षा संचालन गराउनु पर्ने भन्दै सेवा आयोगको ताला फोड्यो। त्यसलगत्तै आंशिक शिक्षकहरुले पुनः तालाबन्दी गरे। विवाद चर्केर मुठभेडको अवस्था आयो। हाल पनि सेवा आयोगको मुख्य गेटमै आंशिक प्राध्यापकहरु २४ घन्टा धर्नामा बसिरहेका छन्।
त्रिभुवन विश्वविद्यालयमा आंशिक प्राध्यापकहरुको तालाबन्दी र विद्यार्थीले ताला फोड्ने कार्यले मुठभेडको अवस्था सृजना भएकोले त्रिवि सेवा आयोगले आइतबारदेखि संचालन गर्ने भनि तय गरेको उपप्राध्यापक पदको परीक्षा सारेको छ। फागुन २२ गतेदेखि चैत्र २३ गतेसम्म संचालन गर्ने भनि सार्वजनिक गरिसकेको उपप्राध्यापक पदको परीक्षा तालिका सारेको हो। आंशिक प्राध्यापकहरु एक महिनादेखि विश्वविद्यालयका सबै डिन कार्यालय, आंगिक कलेज र सेवा आयोगका सम्पूर्ण कार्यालयहरुमा तालाबन्दीगरि विश्वविद्यालय ठप्प पार्दै आएका छन्।
शनिवार सेवा आयोगले विद्यार्थी र शिक्षकको आन्दोलनका कारण परीक्षा गर्ने वातावण नरहेको भन्दै परीक्षा सार्ने निर्णय गरी सूचनानै सार्वजनिक गरेको छ। सेवा आयोगका प्रसाशन प्रमुख केदारनाथ ढकालले एकातिर विद्यार्थीले तला फोड्ने र अर्कोतर्फ शिक्षकहरुले ताला लगाउने अप्राज्ञिक कार्यले विश्वविद्यायमा मूठभेड जस्तै वातावरण बनेको बताउँदै यस्तो अवस्थामा परीक्षा सार्नेको विकल्प नरहेको जनाए।
‘नयाँ तालिका अनुसार अब चैत्र २३ गतेदेखि वैशाख ९ ते सम्म परीक्षा गरिने छ,’ प्रमुख ढकालले नागरिकसँग भने ‘आगिक शिक्षकले एक महिनादेखि तालाबन्दी गरेकै कारण आयोगको परीक्षा सम्बन्धी सबै काम ठप्प छ। उता विद्यार्थीले परीक्षा गर भन्छ। अदालतले पनि परीक्षा गर्ने निर्देशन दिएको छ तर शिक्षकहरु परीक्षा नगराउने पक्षमा हुनुहुन्छ।’ उनले थपे‘ आयोगमा काम गर्ने वातावरणै छैन। जुनसुकै परिस्थिीतमा सेवा आयोगले त्रिवि भित्र स्वस्थ्य प्रतिस्पर्धा गराइ मात्र शिक्षक प्रवेस गराउँछ। गुणस्तरमा कुनै समझौता गर्दैछ।’
विगतमा आंशिकबाट करार र करारबाट स्वतः स्थाई गर्ने त्रिविमा विकृति कायम भएकोले यस पटक त्रिविका पदाधिकारीहरु सेवा आयोग पास गरेका शिक्षकहरुलाई मात्र प्रवेस गराउने अडानमा छन्। आायोगले परीक्षा सारे लगत्तै उपप्राध्यापक पदको परीक्षाको तयारीमा रहेका हजारौं विद्यार्थीलाई मार्का परेको भन्दै अनेरास्ववीयु आन्दोलनमा उत्रेको छ।
अनेरास्ववीयु त्रिवि इन्चार्ज तथा सचिवालय सदस्य मदन विष्टले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै परीक्षा गराउनै उदेश्यले विद्यार्थीले सेवा आयोगको ताला फोडेको उल्लेख गरेका छन्। उनले सेवा आयोगले विनाकराण बदनियत पुर्वक परीक्षा सारेकोमा अनेरास्वीयुको ध्यानाकर्षण भएको बताए। उनले आयोगले परीक्षालाई पर धकेल्नु भनेको प्रतिस्पर्धाबाट पदपुर्ति गर्ने प्रकृयालाई आवरुद्ध गर्न खोजिएकोले यसको विरुद्धमा अनेरास्ववीयु कुनै पनि हदसम्म जान सक्ने चेतावनी दिएका छन्।
विश्वविद्यालय धरासायी बन्दै गएपछि विश्वविद्यालयका सहकुलपति एवं शिक्षा मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयको समस्या समाधान गर्ने आफु लागि परेको जनाए। उजले विश्वविद्यालयको अवरोध खुलाउन सहकुलपतिको हैसियतले मन्त्री पौडेलले विश्वविद्यालयका उपकुलपति, रेक्टर , रजिष्ट्रारलगाएतका पदाधिकारीहरुसँग छलफल गरिरहेको जनाए।
‘दुइ दिनभित्र म आँफै लागेर विश्वविद्यालयको सेवा आयोगको ताला खुलाउन सबै पक्षसँग वार्ता गरि समाधान निकाल्छु,’ मन्त्री पौडेले नागरिकसँग भने ‘आंशिक प्राध्यापकसँग छफफल गरीरहेको छु। वार्ताबाटै समस्या समाधान हुन्छ। प्राध्यापकहरुले तालाबन्दी गर्नु ठिक होइन।’ उनले थपे, ‘विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक मार्यादा कायम गर्न सेवा आयोगको परीक्षा पास भएका सक्षम र योग्य शिक्षको विश्वविद्यालयमा प्रवेस हुन्छ। यसको लागि विश्वविद्यालयले वातावरण तयार पार्नु पर्छ। ’
त्रिभुवन विश्वविद्यालय राजनीति दलदलमा फस्दै गएको छ। २०४६ सालपछि देशमा बहुदल आएपछि विश्वविद्यालयमा प्रवेश गरेको राजनीति पछिल्लाे समय संस्थागत रुपमै अघि बढेकै कारण विश्वविद्यालय राजनिति दलदलमा फस्दै गएाको छ। प्राज्ञिक भन्दा अप्राज्ञिक कार्यहरु हुँदै गएको छ। मुलुकै जेठो र उच्च शिक्षाको ८० प्रतिशत स्थान ओगटेको त्रिविमा कहिले प्राध्यापक त कहिले विद्यार्थीहरुले विभिन्न माग राखेर तालाबन्दी गर्दै आएका छन्।'
त्रिविका आंशिक प्राध्यापकहरुले भने समान कामको समान ज्यालाको माग राख्दै एक महिनादेखि शान्तिपुर्ण आन्दोलन गर्दा समेत सम्बन्धित निकायले सुनुवाई नगरेकोलो आफूहरु बाध्य भएर तालाबन्दी गर्नु परेको आंशिक प्राध्यापक संघका अध्यक्ष गोकुल लिम्बुले जनाए। उनले त्रिविका आंगिक कलेजहरुमा ६५ प्रतिशत कक्षा भार आंशिकहरुले ओगटेको तर त्रिविले उनीहरुको समान कामको समान ज्याला नदिएकोले आफूहरु चिन्तित् बनाएको उनको भनाई छ। ‘त्रिविमा ४ हजार ५ सयको हाराहारीमा दशकौंदेखि दरबन्दी खाली छ।
सरकारले भने त्यही दरबन्दीको समेत तलब सेवा सुविधा निकासा गर्दै आएको छ,’ अध्यक्ष लिम्बुले त्रिविको अवस्था सुनाए‘ सोहि रकममा त्रिविका पदाधिकारीहरु परिवारसहित विदेश सयर गर्छन्। ४ हजार ५ सय खाली प्राध्यापकहरुको कक्षा भार १७ वर्षदेखि आंशिकहरुलेनै धानी रहेको छ। ’ उनले थपे, ‘हाम्रो एउटै माग हो दैनिक ज्यादादारीबाट मासिक ज्यालादारीमा परिणत गरिनुपर्छ।’
विश्वविद्यालयमा विद्यार्थीलाई नैतिकताको पाठ सिकाउने प्राज्ञिक क्षेत्रका प्राध्यापकहरुनै तालाबन्दीमा उत्रिनुलाई शिक्षाविद्हरुले त्रिविमा राजनिति दलले संस्थागत मान्यता पाएको विश्लेषण गरेका छन्। ०४६ पछि देशमा बहुदल आएपछि पनि विश्वविद्यालयहरुको कुलपति राजानै हुने व्यवस्थाले ०६३ साल अघिसम्म विश्विद्यालयमा पदाधिकारी नियुक्ति गर्दा केहि हदसम्ममा मात्र भागबन्डा हुन्थ्यो। तर ०६२/०६३को आन्दोलनपछि विश्वविद्यालयहरुमा राजनीति भागबन्डामा पदाधिकारी नियुक्ति गर्ने प्रकृयाले संस्थागत रुपमै मान्यता पाउन थाल्यो। यसकारण विश्वविद्यालयको शैक्षिक स्तरनै खस्कन्दै गएको विज्ञहरुको तर्क छ।
शिक्षाविद् विद्यानाथ कोइरालाले विश्वविद्यालयका पदाधिकारीहरु पनि विश्वविद्यालयभित्र प्रणाली बनाएर अघि बढ्न नसक्नुको कारण विश्वविद्यालय राजनीति दलदलमा फस्दै गएको औल्याए। उनले विश्वविद्यालयहरुको प्राज्ञिक र संस्कृति मर्यादा भत्काउने काम लोकतन्त्र स्थापनापछि बढ्दै गएको विश्लेषण गरे। ‘०४६पछिको बहुदल स्थापना हुँदा राजा कुलपति हुने व्यवस्था कायम थियो। पदाधिकारी नियुक्तिमा दलगत कुरा आयो तर विवाद थिएन,’ शिक्षाविद् कोइरालाले समस्या बताए ‘०६२/०६३ पछिको आन्दोलनले लोकतन्त्र प्राप्त गर्यो। विश्वविद्यालयहरुमा शिक्षक/कर्मचारिहरु पनि दलगत बाडिए। यसैले विश्वविद्यालयहरुको शैक्षिक, संस्कृति र प्राज्ञिक क्षेत्रलाईनै खस्काउँदै लग्यो।’ उनले सुझाए ‘त्रिविले ६/६ महिनामा त्रिवि सेवा आयोग खुलाएर शिक्षक/कर्मचारीको नियुक्तिकोलागि परीक्षा संचालन गरि योग्य र सक्षम व्यक्तिलाई भित्र्याउनुपर्छ।’
प्रकाशित: २४ फाल्गुन २०७८ ०६:३३ मंगलबार