शिक्षा

माघ १५ सम्म विद्यालय बन्द

कोरोना संक्रमण तीव्र रूपमा फैलिएको र ओमिक्रोन संक्रमित पनि भेटिएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस २७ देखि माघ १५ गतेसम्म सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ।

मन्त्रालयमा सोमबार बसेको सचिवस्तरीय निर्णयले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आइतबारको सिफारिसलाई कार्यान्वयनमा ल्याउने निर्णय गरेको मन्त्रालयको प्रवक्ता दीपक शर्माले जानकारी दिए।

प्रवक्ता शर्माका अनुसार विद्यालय तहका शिशु कक्षादेखि १२ सम्म सिटिइभिटीतर्फका सम्पूर्ण शिक्षालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय मन्त्रालयले गरेको हो। ‘बिदाको अवधिमा विद्यालयहरूले सिकाइ सहजीकरण निर्देशिका–२०७७ ले गरेको व्यवस्थाअनुसार विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउन मन्त्रालयले सबै सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ,’ उनले भने, ‘विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूका पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षाका कार्यक्रम जनस्वास्थ्य र सुरक्षाका मापदण्डहख पूर्ण रुपमा पालना हुनेगरी जेड आकारमा बसाई व्यवस्थापन गरी सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको छ।’ उनले थपे, ‘सिसिएमसीले आइतबार कोरोना संक्रमण फैलिँदै गएको र उच्च जोखिम बढेका कारण देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरू अगामी माघ १५ गतेसम्म हिउँदे बिदा दिन र १२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई खोप व्यवस्थापन गर्न सिफारिस गरेको थियो। सोही निर्णय सोमबारदेखि मन्त्रालयले कार्यान्वयन गरेको हो।’

प्रवक्ता शर्माले मन्त्रालयले शैक्षिक संस्था बन्द अवधिभरि गर्नुपर्ने ७ बुँदे सूचनासमेत जारी गरिसकेको जनाए। जसअनुसार देशभरिका शैक्षिक निकायहरूले वार्षिक बिदामा मिलान हुनेगरी पुस २७ देखि माघ १५ सम्म बिदा दिने व्यवस्था गर्नुपर्ने सोही अवधिमा सिकाइ सहजीकरण निर्देशिका–२०७७ ले गरेको व्यवस्थाअनुसार विद्यार्थीको सिकाइ आवश्यक सहजीकरणमा सबै विद्यालय तथा शिक्षकहरूले व्यवस्थाप गर्नुपर्ने उल्लेख छ।

यसैगरी बिदाको अवधिमा प्रधानाध्यापकले स्थानीय तहमा रहेको स्वास्थ्य चौकीसँग सम्पर्क गरी १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोही पनि नछुट्नेगरी खोप लगाउने अभियानमा आवश्यक समन्वय र सहजीकरण गर्नुपर्नेछ। १८ वर्ष उमेर समूह र सोभन्दा माथिका सबै उमेर समूहका पूर्ण खोप लगाउने अभियानमा आवश्यक समन्वय र सहजीकरण गर्नुपर्ने व्यवस्था गर्न मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।

प्रवक्ता शर्माका अनुसार माघ ७ गतेदेखि शिक्षण संस्थामा प्रवेश गर्ने सबैले खोप कार्ड अनिवार्य साथमा लिएर प्रवेश गर्ने, अर्को सूचना जारी नभएसम्म अभिभावक दिवस वा वार्षिक उत्सवजस्ता सार्वजनिक समारोहको कार्यक्रम आयोजना नगर्ने र यसपटक माघ १ गते मनाइने योग दिवस पनि भर्चुअल मनाइने तयारीको सूचना सार्वजनिक भएको छ। ‘मन्त्रालयले विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ख्याल राख्दै यस्तो निर्णय गरेको हो,’ उनले भने, ‘यसपटकको योग दिवस सर्वाङ्गीण विकासका लागि योग भन्ने नाराका साथ मनाउने तय भएको छ।’

प्रकाशित: २७ पुस २०७८ ०२:०० मंगलबार

कोरोना संक्रमण तीव्र ओमिक्रोन संक्रमित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय