शिक्षा

‘हातमा कापिकलम मात्रै बोक्ने असल विद्यार्थी होइन’

सधैं हातमा कापिकलम बोक्ने भक्तपुरको एउटा स्कुलका छात्र आलोक खड्काको हातमा शुक्रबार कापिकलम थिएन, बरु हातमा पञ्जा अनि फोहोर संकलन गरी ल्याएको गाडी गुडाउँदै थिए। जिल्लाको एभरेष्ट इगलिश स्कुल मिवाछें व्यासीमा कक्षा ९ मा अध्ययनरत उनी सधैंको पढाईभन्दा फरक सरसफाईको काममा खटिएका थिए, शुक्रबार। स्कुलबाट झण्डै पाँच किलोमिटरको दूरीमा रहेको जिल्लाकै गुण्डु मन्थली गाउँको सरसफाईमा जुटेका थिए उनी नियमितको पढाई छाडेर।

आलोकसँगै सोही स्कुलका अर्का छात्रा आभा खतिवडा पनि त्यही ठाउँमा जथाभावी फालिएका फोहोर संकलन गर्दै व्यवस्थापनमा जुटिरहेकी थिइन्। फोहोर संकलनमा व्यस्त उनले नागरिकसँग भनिन्, ‘सधै कापिकलम बोकेर पढ्नु मात्रै हाम्रो काम होइन, समाजको लागि सानो काम गर्नु पनि ठूलो काम हो।’ कापिकलम बोकेर राम्रो पढाई मात्रै गर्नुेलाई असल विद्यार्थी भन्न नसकिने उनको बुझाई छ। बरु देशको लागि, समाजको लागि आफूले सकेको काम गर्नुपर्ने उनको धारणा छ।

व्यवहारिक ज्ञानका लागि स्कुलले शुक्रबार कक्षा ९ का २९ जना छात्रछात्राहरुलाई त्यहाँ ल्याएर सरसफाईमा लगाएको थियो। स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डरीसँगै शिक्षक शिक्षिकाहरुसँगसँगै सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुको मन्थलीमा पुगेर ती विद्यार्थी सरसफाईमा जुटेका थिए।

पछिल्ला वर्षहरुमा मन्थलीस्थित जंगलबीचमा रहेको यो ठाउँ पिकनिक स्पोर्टको रुपमा विकशित भएकाे छ। यही कारण यहाँ फोहोरकाे थुप्राे देख्न सकिन्छ। अहिले त्यही फोहोरको संकलन र व्यवस्थापनमा विद्यार्थी लागिपरेका हुन्।

करिव एक सय रोपनीको क्षेत्रफलमा फैलिएको यो ठाउँमा रहेका पानीका बोटल, विभिन्न ब्राण्डका रक्सीका बोटलहरु, प्लाष्टिकहरु, शिशाका टुक्राहरु आदि संकलन गरी उनीहरुले व्यवस्थापन गरेका हुन्। हातहातमा पञ्जा लगाई सरसफाईका लागि चाहिने पञ्जा, बाल्टिन, च्वाफी, शिशाहरु उठाउन ब्रुसहरुका साथमा फोहोर संकलनमा जुटेका थिए उनीहरु।  

सूर्यविनायक नगरपालिकाले जथाभावी फोहोर नगरी एकैठाउँमा फोहोर संकलन गरी थुपार्न त्यहाँ एउटा खाल्डोको व्यवस्था गरिराखेको छ। साथै ठाउँठाउँमा फोहोर राख्ने डस्टविनको पनि व्यवस्था छ।

स्कुलका संस्थापक प्रिन्सिपल राजभण्डारीले विद्यार्थीलाई बाहिरी ज्ञान दिन कार्यक्रममा ल्याएको सुनाए। जथाभावी फाहोर गर्नु हुँदैन भन्ने सन्देश दिन सरसफाई कार्यक्रममा सहभागी गराएको उनले बताए।

विद्यार्थीले फोहोर संकलन गरेपछि त्यहाँ अहिले सफा देखिएको छ। विद्यार्थीले जथाभावी फालिएका फोहोर संकलन गरी नगरपालिकाले व्यवस्था गरेको खाल्डोमा ल्याएर जम्मा गरेका थिए। अब त्यो फोहोर नगरपालिकाको गाडीले लिन आउने जनाइएको छ।

विद्यार्थीहरु स्कुलबाट स्कुलकै बसमा आएका थिए। स्कुल र त्यो ठाउँबीचका दूरी करिव पाँच किलोमिटरकाे फरकमा छ।  

गुण्डुको यो मन्थली गाउँ भक्तपुरको सूर्यविनाक चोकबाट करिव दुई किलोमिटर दक्षिणमा पर्दछ। जंगलकाे बीचमा सुन्दर, शान्त खुल्ला ठाउँ रहेकोले पछिल्लो समय त्यहाँ पिकनिक मनाउन आउनेहरुको टोली बढ्दो छ।

सरसफाईमा संस्थापक प्रिन्सिपल राजभण्डारीसँगै प्रिन्सिपल कमलादेवी राजभण्डारी, स्कुलका एकेडेमिक कोअर्डिनेटरहरु, इन्चार्जहरु, शिक्षकशिक्षिकाहरु, कर्मचारीहरु गरी विद्यार्थीबाहेक एक दर्जन पुगेका थिए।

त्यहाँ गाडामा पसल थापेर बसेका आजाद मियाका अनुसार यहाँ घुम्नका लागि दैनिक सयौं मानिस आउने गर्दछन्। साथै शनिबारसहित विदाका दिनमा विभिन्न टोलीहरु पिकनिक मनाउनका लागि त्यहाँ पुग्ने गरेका छन्। यही कारण यो जंगलमा फोहोर भएको हो।

प्रकाशित: ९ पुस २०७८ १३:०२ शुक्रबार