अवसर र स्तरीय शिक्षा हासिल गर्न विदेशका विश्वविद्यालयमा नेपाली विद्यार्थीको आकर्षण बढ्दो छ। यसबाट गुणस्तरीय उच्च शिक्षा हासिल भए पनि देशको ठूलो धनराशि बिदेसिने गरेको छ।
नेपाल राष्ट्रबैंकको तथ्यांकअनुसार बितेका तीन वर्षमा नेपालबाट शिक्षाका नाममा ९७ अर्ब ९ करोड रूपैयाँ बाहिरिएको छ। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव एवं नो अबजेक्सन लेटर (एनओसी ) महाशाखाका प्रमुख नारायण पोखरेलका अनुसार विगत १३ वर्ष (२०६५ देखि २०७८) मा चार लाख १६ हजार ३ सय ४४ विद्यार्थीले एक सय तीन देशमा उच्च शिक्षा अध्ययनका लागि मन्त्रालयबाट एनओसी लिएका छन्।
यो अवधिमा विदेशमा उच्च शिक्षा हासिल गर्न आर्थिक वर्ष २०७५/०७६ सबैभन्दा धेरै विद्यार्थी गएको देखिन्छ। उक्त आवमा ५३ हजार २ सय ५९ विद्यार्थीले एनओसी लिएको प्रमुख पोखरेलले जनाए। राष्ट्रबैंकको तथ्यांकले उक्त वर्ष ४६ अर्ब ३२ करोड रूपैयाँ शिक्षाका नाममा बाहिरएको देखाएको छ।
आव ०७६/०७७ मा ३४ हजार ९४ विद्यार्थीले एनओसी लिएको मन्त्रालयको तथ्यांक छ। उक्त आवमा शिक्षाका नाममा २५ अर्ब ८१ करोड रूपैयाँ बाहिर गएको राष्ट्रबैंकको तथ्यांक छ। आव ०७७/०७८ मा २७ हजार ९ सय ७८ जनाले मन्त्रालयबाट एनओसी लिएका छन्। उक्त वर्ष शिक्षाका नाममा २४ अर्ब ९६ करोड रूपैयाँ बाहिरिएको राष्ट्रबैंकको तथ्यांक छ।
विशेषगरी यसरी बिदेसिएका विद्यार्थीको रोजाइ चिकित्सा विज्ञान, व्यवस्थापन,कम्प्युटर साइन्स,अतिथि सत्कार,विज्ञान तथा प्रविधि विषय रहेको मन्त्रालयको तथ्यांकले देखाएको प्रमुख प्रोखरेलले बताए। नेपालमा उच्च शिक्षा हासिल गरेर अवसर पाउन नसकेका कारण विद्यार्थी बिदेसिएको पोखरेलको अनुभव छ।
‘२०६५/०६६ आवमा २४ हजार ८ सय २४ जना विद्यार्थीले विदेशमा उच्च शिक्षा हासिल गर्न एनओसी लिएका थिए। यो संख्या ०७५/०७६ मा ह्वात्तै बढेर ६३ हजार पुग्यो। यसबाट स्वदेशी शिक्षामा अभिभावक र विद्यार्थी दुवैको आकर्षण कम हुँदै गएको बुझिन्छ,’ पोखरेलले भने, ‘नेपालमै पढाइ हुने विषय विदेशमा अध्ययन गर्न एनओसी लिन आउँदा म छक्क पर्छु। अनि विद्यार्थीलाई सोध्दा उनीहरू नेपालमा पढेर डिग्री लिए पनि राम्रो अवसर नपाएकाले निराशा बढ्दै गएको सुनाउँछन्।’ उनका अनुसार अब नेपाल सरकारले देशमा कुन क्षेत्रमा कति जनशक्ति चाहिने हो त्यसको अध्ययन गरी शिक्षा दिने व्यवस्था गर्नुपर्छ। ‘दक्ष तथा योग्य युवा जनशक्ति स्वेदशमै खपत हुने वातावरण तयार गर्नु सरकारको प्रमुख दायित्व हो’,उनले भने। कोरोना समयमा पनि शिक्षाका लागि विदेश जाने होडबाजी चलेको देख्दा आश्चर्य लागेको उनले बताए।
विदेशी शैक्षिक प्रमाणपत्र विश्व बजारमा बिक्ने र राम्रो अवसर पनि पाइने भएपछि धेरैजसो नेपाली विद्यार्थीले उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया, जापान,कोरिया, चीन,बंगलादेश,कोरिया र फिलिपिन्स रोजेको तथ्यांक छ। सन् २०१५ जनवरी १ देखि २०२१ सेप्टेम्बर २१ सम्म सबैभन्दा बढी अस्ट्रेलियामा अध्ययनका लागि नेपाली विद्यार्थीले एनओसी लिएका छन्।
त्यस अवधिमा अस्ट्रेलियाका लागि एक लाख २६ हजार ८२१ विद्यार्थीले एनओसी लिएका छन्। सोही अवधिमा जापानका लागि ८४ हजार ८४५, बंगलादेशका लागि १० हजार ७९६, कोरियाका लागि ९ हजार ५७४, चीनका लागि ७ हजार ४८० विद्यार्थीले एनओसी लिएका छन्।
‘विद्यार्थी र अभिभावकले खर्च लागत विश्लेषण गर्छन्। लगानीअनुसारको प्रतिफल पाउने हिसाबकिताब गरेर अभिभावकले आफ्ना सन्तानलाई स्कुलबाटै विदेश जानका लागि तयार गर्छन्,’ पोखरेलले कार्यक्षेत्रको अनुभव सुनाए, ‘नेपालमा सीमित कोटा भएकै कारण बढी विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि बाहिर गएको देखिन्छ।’
राष्ट्रबैंकका सूचना अधिकृत नारायणप्रसाद पोखरेलले नेपालमा राम्रा विश्वविद्यालय र स्तरीय शिक्षा भए पनि विद्यार्थी अवसरको खोजीमा बिदेसिने गरेको तथ्यांकले स्पष्ट पारेको बताए। ‘नेपालमै बसेर अध्ययन गर्ने वातावरण र अवसर उपलब्ध गराउनेतर्फ सरकारको नीति तथा कार्यक्रम आउनुपर्छ,’सूचना अधिकृत पोखरेलले भने,‘त्रिभुवन विश्वविद्यालय विश्वका उत्कृष्टमध्येमै पर्छ। यहाँका अन्य विश्वविद्यालय पनि राम्रा छन्। तर पनि विद्यार्थी तथा अभिभावकको रुचि विदेशी शिक्षामा बढी देखिएको छ। युवा विद्यार्थीलाई विदेश जानबाट रोक्न देशको माग र आवश्यकताअनुसार शिक्षा नीति र कार्यक्रम बनाउनुपर्छ। र, अवसर पनि सिर्जना गर्नुपर्छ ।’
प्रकाशित: ३ पुस २०७८ ०१:२१ शनिबार