शिक्षा

त्रिवि सेवा आयोगको लापरवाहीः पहिले योग्य सहप्राध्यापक २२ दिनपछि अयोग्य

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको लापरवाहीका कारण एक शिक्षकले  मानसिक र समाजिक पीडा भोग्नु परेको छ। आयोगले कात्तिक १५ गते संचालन गरेको शिक्षकहरुको सहप्राध्यापक पदको आन्तरिक बढुवामा अन्तरवार्तामा तीन उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। जसमा (७६.८२) अंक प्राप्त गरी प्रतिस्पर्धामा सर्वोत्कृष्ट भई सहप्राध्यापकमा बढुवा भएका डा. माधवकुमार श्रेष्ठ २२ दिनपछि अयोग्य पारिएका छन्।

आयोगले कात्तिक १५ गते नतिजा प्रकाशित गर्दै सानोठिमी क्याम्पस भक्तपुरमा शारीरीक शिक्षाका उपप्राध्यापक श्रेष्ठलाई सेवा आयोगले सहप्राध्यापकमा सिफारिस समेत गरेको सार्वजनिक सूचना नै प्रकाशित गरेको थियो।

सूचनामा बढुवा गरिएका सहप्राध्यापकले खुसियालीमा भोज र बधाई समेत खाइसकेका छन्।

एकातिर बढुवा भएका सहप्राध्यापक तथा प्राध्यापकहरु सामाजिक प्रतिष्ठा बनाएकै बखत २२ दिनपछि मंसिर ६ गते आयोगले पुनः अर्को सूचना सार्वजनिक गर्यो। जसमा आयोग प्रमुख केदारनाथ ढकालले आयोगले प्रकाशित गरेको कात्तिक १५ गतेको नतिजामा त्रुटिवश अन्यथा हुन गएकोले संशोधित नतिजा प्रकाशित गरिएको जनाउँदै अर्को उम्मेदवार मित्रलाल श्रेष्ठको नाम प्रकाशित गर्यो।

आयोगको यस्तो असंवेदनसील रवैयाप्रति त्रिविका शिक्षक कर्मचारीहरु नै आशंका व्यक्त गरेका छन्। आयोगले प्रकाशित गरेको दोस्रो सूचनामा मित्रलाल श्रेष्ठको ७३.४० अंक मात्र छ।

त्रिविको यो त्रुटि पहिलो भने होइन। विगतमा पनि पटक–पटक परीक्षाहरुमा हुने गरेको लापारवाही फेललाई पास र पास भएकालाई नियतवश फेल गराउने कुसंकारको सिकार शिक्षक तथा विद्यार्थीहरु बन्दै आएका छन्।

‘मैले आफू बढुवा भएको खुसियाली साथीभाइ र आफन्तसँग बाडेँ, भोज भतेरै गरियो। बधाई खाइयो, उपप्राध्यापकबाट सहप्राध्यापक बढुवासँगै समाजिक प्रतिष्ठा नै कायम भयो,’ पीडित शिक्षक श्रेष्ठले नागरिकसँग दुखेसो गरे, ‘तर सेवा आयोगले पुनःअर्को सूचना प्रकाशित गरेर मलाई अयोग्य र मित्र सरलाई योग्य बनाइदियो।’ उनी थप्छन्, ‘मैले सेवा आयोगमा गएर किन मलाई फेल गराइयो। त्रुटि कहाँ भयो देखाउनुस् भन्दा आयोगका पदाधिकारीले देखाउन मिल्दैन भन्नुहुन्छ। ममाथि अन्याय भएको छ। मलाई मर्नु र बाँच्नुको अवस्थामा पुर्याइदियो।’

उनले आयोगको गलत कार्यले गर्दा अब त्रिविको  विश्वासनियतामाथि नै प्रश्न उब्जिएको बताए। त्रिविका प्रवक्ता सुर्यप्रसाद अधिकारीले त्रिवि एक प्रज्ञिक क्षेत्र भएकोले सबै निकायहरु परीक्षाको सवालमा संवेदनशील बन्नु पर्ने बताए। ‘प्राध्यापक, सहप्राध्यापक वा कर्मचारी जुनसुकैको परीक्षामा पनि त्रिवि गम्भीर र संवेदनशील हुनैपर्छ,’ प्रवक्ता अधिकारीले भने, ‘प्राज्ञिक मर्यादा बोकेको आयोगले परीक्षाबारे पहिल्यै ध्यान प्र्याएको देखिएन।’ उनले थपे, ‘मैले पनि वेवसाइटमा त्रुटिवस सच्चाएको सूचना पढ्दा आश्चर्य लागेको थियो।’

उता आयोगले पनि त्रुटि गरेको स्वीकार गरेको छ। आयोगका प्रमुख केदारनाथ ढकालले यसपटक आयोगबाट ठूलो त्रुटि भएको स्वीकार गरे। आयोगले ध्यानपुर्वक हेर्दाहेर्दै पनि नम्बरीङ्गमा त्रुटि भएको उनले स्वीकारेका छन्।

‘अन्तरवार्ताको अंक दिँदा सेवा अनुभवमा ४० नम्बर भित्रको अंक दिँदा त्यहीभित्र त्रुटि भएको देखियो,’ प्रमुख ढकालले नागरिकसँग भने, ‘पहिलो पटक नतिजा प्रकाशित भएपछि अर्का प्रतिस्पर्धी मित्र सरले आफू योग्य भएको भन्दै निवेदन दिनुभयो। हामीले पुनः चेक गर्दा सेवा अनुभवमा अंक दिँदा त्रुटि भएको देखियो।’ उनले थपे, ‘मुद्धा मामिलामा जानुभन्दा पहिले नै आयोगले आफ्नो गल्ती सच्याएर दोस्रो नतिजा प्रकाशित गरेको हो। अरु केही होइन।’

उनका अनुसार प्रतिस्पर्धामा सानोठिमी कलेजका माधवलाल श्रेष्ठ, सुर्खेत शिक्षा क्याम्पसका भट्टमहेशदत्त तारादत्त र सानोठिमी कलेजका माधवकुमार श्रेष्ठ रहेका थिए। जसमध्ये मित्रलाल श्रेष्ठको सेवा अनुभवको अंक बढी थियो।

प्रकाशित: ९ मंसिर २०७८ ११:४२ बिहीबार

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय त्रिवि सेवा आयोग