शिक्षा

युनेस्को महासभामा शिक्षामन्त्रीको सम्बोधनः महामारीमा पनि शैक्षिक निरन्तरता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले फ्रान्सको पेरिसमा जारी युनेस्कोको ४१औँ महासभालाई सम्बोधन गर्दै कोभिड–१९ महामारीका समयमा पनि नेपालले बालबालिकाको शिक्षालाई निरन्तरता दिएको बताएका छन्।

मन्त्री पौडेलले महामारीका समयमा कम प्रविधिको प्रयोग हुने टेलिभिजन, सामुदायिक रेडियो र घरमा आधारित सिकाइ सामग्रीको प्रयोग गरेर बालबालिकाको शिक्षालाई निरन्तरता दिएको जानकारी गराए। महामारीले आफूहरूलाई शिक्षामा डिजिटल डिभाइसको महत्वका बारेमा सोच्न बाध्य बनाएको उनको भनाइ छ।

शिक्षा, स्वास्थ्य, लैङ्गीक समानता र महिला सशक्तिकरणजस्ता प्रमुख क्षेत्रमा नेपालले महत्वपूर्ण सफलता हासिल गरिसकेको बताउँदै मन्त्री पौडेलले दिगो विकासका लक्ष्यलाई अपनाएको जानकारी गराए। विकासका प्रयासलाई निर्देशित गर्न सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय नारा बनाएको पनि उनले बताए।

साथै, ‘सिकाइ कहिल्यै रोकिँदैन’ भन्ने दृढ प्रतिबद्धताका साथ सरकारले स्थानीय निकायलाई उपयुक्त निर्णय लिन अनुमति दिने आवश्यक कानूनी प्रक्रिया तयार गरिसकेको उनले बताए।

महामारीको प्रतिकूल प्रभावका बाबजुद पनि शिक्षा क्यालेन्डरलाई निरन्तरता दिन आवश्यक निर्देशन र नियमावली बनाएको उनले जानकारी दिए। वैकल्पिक शिक्षामा राम्रो अनुभवका लागि आफूहरू डिजिटल प्लेटफर्म डिजाइन र कार्यान्वयनको प्रयासमा रहेको उनको भनाइ छ।

विज्ञान र प्रविधिको विकासलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री पौडेलले आविष्कार र अनुसन्धानलाई बढावा दिनुका साथै युवा वैज्ञानिकहरूलाई ‘आर्टिफिसियल इन्टेलिजेन्स’मा अर्को कदम चाल्न प्रोत्साहित गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: २७ कार्तिक २०७८ १४:०० शनिबार

शिक्षामन्त्री वैकल्पिक शिक्षा