शिक्षा

विश्वविद्यालय सम्बन्धि दुई अध्यादेश सिफारिस

प्रदेश २ सरकारले विश्वविद्यालय स्थापना सम्बन्धि २ वटा अध्यादेश सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले वीरगन्ज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी स्थापना सम्बन्धि अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले बताए।

प्रदेश प्रमुख बाट अध्यादेश जारी भए लगतै दुबै विश्वविद्यालय स्थापनाको बाटो खुल्ला हुनेछ। कृषि तथा प्राविधिक सम्बन्धि उच्च स्तरीय जनशक्ति उत्पादन तथा कृषि र प्राविधिक सम्बन्धि अध्ययन अनुसन्धानलाई समय सापेक्ष स्तरीय बनाउन प्रदेश स्तरीय कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापनाका लागि नेपालको संविधानको धारा २०२ बमोजिम प्रदेश सभा संचालनमा नरहेको अवस्थामा अध्यादेश सिफारिस गरीएको हो।

यसै गरि प्रदेश सरकारले ग्रिन सिटी क्लिन सिटी अन्तर्गत पहिलो चरणमा जनकपुरधाम, राजविराज र विरगंजमा सरसफाई, विजुली बत्ति तथा वृक्षारोपण कार्य संचालन गर्ने निर्णय समेत गरिएको मन्त्री साहले बताए।

मन्त्रिपरिषद्ले प्रदेश सरकारद्वारा संचालित विकास निर्माणको कार्यलाई प्राविधिक सहितको उच्च स्तरीय टोलीद्वारा स्थलगत निरीक्षण गराई ढिला सुस्ती एवं गुणस्तरहिन काम गरि रहेको पाईए त्यस्ता ठेकेदार कम्पनीलाई बैंक ग्यारेन्टी जफतदेखी कालो सूचिमा राख्नेसम्मको कारबाही प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ।

प्रकाशित: ९ कार्तिक २०७८ ०४:४३ मंगलबार

प्रदेश २ सरकार विश्वविद्यालय स्थापना २ वटा अध्यादेश सिफारिस