चिकित्सा शिक्षा आयोगले मेडिकल शिक्षामा लिइने शुल्कबारेको द्विविधा समाधान गरेपछि काठमाडौं विश्वविद्यालयको मेडिकलतर्फको भर्ना कार्यक्रम सुचारु भएको छ। मंगलबारदेखि भर्ना सुचारु भएको आयोगको सूचनामा जनाइएको छ।
आयोगले असोज १५ गते तोकेको विदेशी विद्यार्थीको शुल्कमा द्विविधा उत्पन्न भई अन्योलको अवस्था सिर्जना भएकाले सच्याइएको जनाएको छ। आयोगका उपसचिव सेमन्तराज कोइरालाले जारी गरेको निर्देशनमा विदेशी विद्यार्थीको सवालमा अब विश्वविद्यालय वा प्रीतष्ठानहरूले आफैं शुल्क तोक्न सक्ने उल्लेख छ।
‘असोज १५ गतेको निर्णयअनुसार सर्कुलर गरिएकोमा द्विविधा उत्पन्न भएको गुनासो प्राप्त भयो,’ निर्देशनमा उल्लेख छ, ‘द्विविधा समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरोकारवाला समेतको उपस्थितिमा बसेको बेठकको निर्णयअनुसार विदेशी विद्यार्थीको शुल्क सम्बन्धमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन ०७७ को दफा १८ (४) अनुसार सम्बन्धित विश्वविद्यालय वा प्रतिष्ठानले नै शुल्क निर्धाण गर्न सक्नेछ’, निर्देशनमा भनिएको छ, ‘यसभन्दा अघि नै शुल्क कायम गरेको भए प्रचलित शुल्क, मापदण्डका आधारसहितको विवरण चाँडो आयोगमा उपलब्ध गराउन सबैलाई निर्देशन दिएको छ।’
विदेशी विद्यार्थीको शुल्कमा आयोगले एकरूपता कायम गर्न नसकेको भन्दै काठमाडौं विश्वविद्यालयले विद्यार्थी भर्नाको सबै कार्य स्थगन गरेको थियो। काठमाडौं विश्वविद्यालयका म्यानेजर दीपक दाहालले आयोगको निर्देशनपछि मंगलबारदेखि सबै विषयको भर्ना सुचारु गरिएको बताए।
उनले यसपटक आयोगले मेडिकलतर्फको नर्सिङ विषयमा शुल्क वृद्धि गरेको जानकारी दिए। ‘नर्सिङमा साढे सात लाखबाट वृद्धि गरेर १० लाख पुर्याएको छ,’ उनले भने, ‘विदेशी विद्यार्थीको हकमा एकरूपता कायम भएको छ।
अब सार्क सदस्य देशका विद्यार्थीले ७५ हजार र सार्कबाहिरका विद्यार्थीले ९० हजार अमेरिकी डलर तिर्नुपर्छ।’ काठमाडौं विश्वविद्यालयले स्नातक तहको एमबिबिएस, बिडिएस, बिपिटी, बिएससी नर्सिङ, बिएन, बिएमआइडी, बिएससी एमआइटी र बिएससी ल्याब एमइडीको भर्ना सुचारु गरेको म्यानेजर दाहालले जनाए।
आयोगले तोकेको शुल्कअनुसार शैक्षिक सत्र ०७७/०७८ का लागि एमबिबिएसमा ४० लाख २३ हजार दुई सय ५० रूपैयाँ शुल्क लाग्छ। यसमा एक दशमलब ६ ले गुणा गर्दा विदेशी विद्यार्थीको हकमा ६४ लाख ३ हजार ७ सय २० हुन आउँछ।
तर त्रिविको आइओएम डिन कार्यालयले विदेशी विद्यार्थीको हकमा ९० हजार १६ अमेरिकी डलर तोकेर एकतिहाइ बराबरको रकम ३० हजार ५ डलर हिमालयन बैंकमा दाखिला गर्न सूचना जारी गरेको थियो।
साथै बिपी मेमोरियल स्वास्थ्यविज्ञान प्रतिष्ठानले समेत विदेशी विद्यार्थीको शुल्क ७४ हजार ५ सय ५५ अमेरिकी डलर तोकेर भर्नाको समयमा २५ हजार ४ सय ४० अमेरिकी डलर शुल्क तिर्न सूचना जारी गरेपछि शुल्क विवाद सुरु भएको थियो।
आयोगका सदस्य सविच डिल्ली लुइँटेलले केही त्रुटिका कारण शुल्कमा अन्योल हुन गएको भए पनि सरोकारवालाको छलफलपछि विदेशी विद्यार्थीको शुल्क समस्या समाधान भएको बताए।
उनले विदेशीको हकमा सम्बन्धित शैक्षिक संस्थाले आफैं शुल्क तोक्ने व्यवस्था गरिएको जानकारी दिए।
प्रकाशित: २१ आश्विन २०७८ ०४:४९ बिहीबार