शिक्षा

गणेश भार्वाचोको नवनिर्मित सभाकक्ष उद्घाटन

भक्तपुर नगरपालिका वडा नं. १ भार्वाचोस्थित गणेश माध्यमिक विद्यालयमा निर्मित सभा कक्षको उद्घाटन गरिएको छ। पछिल्लो समयमा विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउँदै अभिभावक र विद्यार्थीको मन जित्न सफल सो विद्यालयले निर्माण गरेको सभाकक्ष बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाइँले गरेका थिए।

विद्यालयका विभिन्न क्रियाकलापहरु सम्पन्न गर्नका लागि आवश्यक सभाकक्षको उद्घाटन गर्दै प्रदेश सांसद गोसाइँले नेपालको सार्वभौमिकता जोगाउनका लागि एमसिसीको विरोधमा संघर्ष चालू राख्नुपर्ने बताए। उनले देशको सावैभौमिकता रक्षाका लागि नयाँ पुस्ता अघि सर्न जरुरी रहेको बताउँदै दशैं मनाउन गाउँगाउँ जाने विद्यार्थीहरुले एमसिसीको विषयमा घरघरमा छलफल गरी जनचेतना जगाउनुपर्नेमा पनि जोड दिए।  

‘नेपालको सार्वभौमिकताभन्दा ठूलो अर्को कुनै विषय हुन सक्दैन। देशलाई बन्धक राख्ने ठूला पार्टीहरुविरुद्ध सबै देशभक्त एकजुट हुनैपर्छ’, उनले भने, ‘एमसिसीको विषयमा विद्यार्थीहरु पनि सचेत रहनुपर्छ र आफू बसेको टोल समाजमा बहस चलाउनुपर्छ।’ कार्यक्रममा संयुक्त परीक्षा समितिका अध्यक्ष श्रीकृष्ण किसीले संयुक्त परीक्षा समितिले समय सुहाउँदो गतिविधिहरु गरिरहेको जानकारी दिए। अध्यक्ष किसीले कोभिडको समयमा पनि शिक्षक विद्यार्थीमैत्री अनलाईन कक्षा तथा परीक्षा सञ्चालन गरेको चर्चा गरे।

भक्तपुर नपा वडा नं. १ का अध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाले यस वर्ष भक्तपुरका ९८ जना गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिसकेको बताए।  कार्यक्रममा विव्यस सल्लाहकार लक्ष्मीनारायाण खत्री, कविता प्रतियोगिताका निर्णायक आशाकुमार चिकंबञ्जार, पूर्व प्रअ गंगाप्रसाद याकामी, प्रअ गणेशराम थुसा, शिक्षिका सुशीला न्याइच्याई, विद्यार्थीहरु विशाल तामाङ र स्मृति मानन्धरले पनि बोलेका थिए।

कार्यक्रममा विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीहरुलाई मायाको चिनो तथा विद्यालयले आयोजना गरेको कविता प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो।

प्रकाशित: १९ आश्विन २०७८ १३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App