शिक्षा

भागरथीका नाममा विद्यालयमा अक्षयकोष

निजामती सेवा दिवसको अवसरमा बैतडीमा अक्षयकोष स्थापना गरिएको छ। बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको सम्झनामा उनले अध्ययन गरेका दुईवटा विद्यालयमा अक्षयकोष स्थापना गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

निजामती कर्मचारीहरुले संकलन गरेको १ लाख २० हजार  रुपैयाँ रकमले दुईवटा विद्यालयमा अक्षयकोष स्थापना गरिएको हो। भुमिराज मावि चडेपानी र सनातन धर्म मावि श्रीकोटमा ६० ÷६० हजार बराबरको अक्षयकोष स्थापना गरिएको सूचना अधिकारी भारतीले बताए।

अक्षयकोषका लागि संकलन भएको रकम भागरथीका दाजु केशवराज भट्ट मार्फत सम्बन्धित विद्यालयमा पठाइएको छ। अक्षयकोषबाट प्राप्त हुने व्याजले हरेक बर्वा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिने बताइएको छ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी घर भएकी भागरथीको गत माघ २१ गते बलात्कारपछि हत्या गरिएको थियो। बलात्कार र हत्याको आरोपमा पक्राउ परेका अभियुक्त दिनेश भट्टलाई जिल्ला अदालत बैतडीको आदेशपछि पुर्पक्षका लागि बालसुधार गृह डोटीमा राखिएको छ।

प्रकाशित: २२ भाद्र २०७८ ०९:४९ मंगलबार

भागरथी भट्ट