शिक्षा

मापदण्ड अपनाएर काठमाडौंमा असोजदेखि विद्यालय खुल्ने

काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका विद्यालयमा अनलाइन कक्षा प्रभावकारी नरहेको भन्दै अगामी असोज १ देखि विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय खुल्ने निर्णय भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा अभिभावक, शिक्षक, विद्यार्थी, स्थानीय तहका शिक्षा हेर्ने प्रतिनिधि र जिल्ला विकास तथा समन्वय एकाइका प्रमुखहरूको सहभागितामा सोमबार दिउँसो बसेको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।

कोभिडको अवस्था मूल्यांकन गर्दै बैठकले अभिभावकहरूको छलफलमा जिल्ला नगर शिक्षा समितिको निर्णयबाट बालबालिकाको भौतिक उपस्थितमै विद्यालय खोल्न दिने निर्णय गरेको हो। कोभिडका कारण लामो समयदेखि विद्यालयको शैक्षिक गतिविधि रोकिँदा बालबालिकाको सिकाइ स्तर खस्केको र उनीहरूको मनोविज्ञानमा नकारात्मक असर परेको समीक्षा गर्दै बालाबलिकाको भौतिक उपस्थितिमै विद्यालय खोल्नुपर्ने अनिवार्य देखिएको बैठकले ठहर गरेको जिल्ला प्रमुख पराजुलीले बताए।

उनले काठमाडौंका दुर्गम क्षेत्रका विद्यालयमा नेटको पहुँच नभएको कारण गत वर्षदेखि नै विद्यालयमा शैक्षिक गतिविधि अघि बढ्न नसकेको जनाए। यसका कारण विद्यार्थीमा सिकाइ कमजोर बन्दै गएको विश्लेषणसमेत गरिएकोले त्यस्ता क्षेत्रका विद्यालयलाई प्राथमिकतासाथ खोल्न दिने निर्णय गरिएको प्रमुख पराजुलीले जनाए। ‘बैठकमा सहभागिता जनाउनु भएका सबै नगरपालिकाका शिक्षा हेर्ने अधिकारी तथा शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखले अनलाइन कक्षामा ४० प्रतिशत पनि विद्यार्थीको सहभागिता नभएको बताउनुभयो। 

यसले अनलाइन कक्षा प्रभावकारी नभएको देखियो,’ जिल्ला प्रमुख पराजुलीले नागरिकसँग भने, ‘बैठकमा सहभागी अभिभावक कोभिडका कारण बालबालिका घरमै थुनिनु परेकोमा उनीहरूमा मानसिक समस्या आएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बरु स्कुल भौतिक उपस्थितमै खोल्ने कुरामा राजी हुनुभएको छ।’ उनले असोज १ देखि विद्यालय खोल्ने अनि दसैंपछि नियमित हुने निर्णय भएको बताए। उनका अनुसार विद्यालयहरू बालाबलिकाको भौतिक उपस्थितमा खोल्दा विद्यालयहरूले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अनिवार्य पालना गर्नुपर्ने र त्यसको अनुगमन सम्बन्धित निकायले नियमित अनुगमन गर्नुपर्नेसमेत निर्णय गरिएको छ।

काठमाडौं महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले आफ्नो कार्यालयमा अभिभावकहरू दिनहुँ आएर विद्यालय खोल्नुपर्ने निवेदन समेत दिने गरेको यथार्थ बताए। सरकारी विद्यालयमा निम्न आर्थिक अवस्था भएका अभिभावकका बालबालिका पढ्ने भएकोले दुई सन्तान भएका आमाबुवाले नेट र मोबाइलको सुविधा दिन नसकेको समेत गुनासा विभागमा आउने गरेको उनको भनाइ छ।

‘कोभिडका कारण बालबालिकामा मानसिक समस्या आएको र कोठामा थुनिएर बस्ने बानी परेको कारण बाहिर निस्कँदा डराउने र अस्वभाविक व्यवहार गर्ने गरेको गुनासो अभिभावकको छ,’ शिक्षा विभाग प्रमुख सुवेदीले नागरिकसँग भने, ‘यति मात्र होइन अभिभावकले त बालबालिकामा रातभरि नेटमा झुन्डिने र दिनभरि सुत्ने खराब बानी बसेकाले दिक्क भएको समेत गुनासो गरेका छन्।’ उनले विद्यालयको सिकाइ उपलब्धिको तथ्यांक हेर्दा अनलाइन कक्षामा ४० प्रतिशत पनि नानीहरूको सहभागिता नभएको बताए।

काठमाडौं उपत्यकामा हाल कुल सात सय ३० विद्यालय सञ्चालनमा छन्। तीमध्ये छ सय ४० निजी र ९० सार्वजनिक छन् भने दुई लाख ३० हजार कुल विद्यार्थीमध्ये सार्वजनिकमा ४० हजार मात्र अध्ययन गर्छन्। ‘विद्यालय खोल्दा विभागले विद्यालयमा स्वास्थ्य सुरक्षाको मापदन्ड कडाइकासाथ पालना गराउनेछ,’ उनी भन्छन्, ‘बालबालिको सिकाइ निरन्तर गर्न विद्यालय खोल्नु आवश्यक परेको हो।’

प्रकाशित: २२ भाद्र २०७८ ०१:१७ मंगलबार

काठमाडौं उपत्यका भौतिक उपस्थितिमै विद्यालय खुल्ने निर्णय कोभिडको अवस्था मूल्यांकन अभिभावकहरूको छलफल