शिक्षा

मेरिल्याण्ड कलेजले फेर्‍यो नाम, पढाइसँगै रोजगारी दिने

विराटनगर-६ भृकुटीमार्गस्थित मेरिल्याण्ड कलेजले नाम परिवर्तन गरेको छ। इनोभेटिभ नेपाल ग्रुपले मेरिल्याण्डको पूर्ण स्वामित्व र व्यवस्थापन लिएसँगै नाम फेरेर ‘विराटनगर इनटरनेशनल कलेज’ बनाएको छ।  

शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी कलेजले हस्पिटालिटी म्यानेजमेन्टको कोर्ष थपेर कलेजमा अध्ययनरत विद्यार्थीलाई पढाइसँगै रोजगारी पनि उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ। नेपालीरिका चेन होटलसँगको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरको हस्पिटालिटी कोर्ष अध्ययन गर्ने विद्यार्थीलाई पढाइसँगै रोजगारीको पनि प्रबन्ध गर्ने तयारी कलेजले गरेको हो। नेपालीरिका चेन होटलले मोरङको सुन्दर हरैंचा र दमकमा चेन होटल सञ्चालनको तयारी गरिरहेको छ। 

बेलायतको वल्भरह्यान्टम  विश्वद्यालयबाट सम्बन्धन लिएर अन्तर्राष्ट्रिय विजनेश म्यानेजमेन्टको कोर्ष पढाउँदै आएको कलेजले हस्पिटालिटी म्यानेजमेन्टमा पनि सोही विश्वविद्यालयको कोर्ष पढाउन लागेको जनाएको छ। अन्तर्राष्ट्रिय स्तरको कोर्ष अध्ययन गरेका विद्यार्थीहरूको स्वदेश तथा विदेशमासमेत धेरै माग हुने गरेकाले विदेशी विश्वविद्यालयको कोर्ष अध्ययनमा नेपाली विद्यार्थीको आकर्षण देखिएको कलेजले दाबी गरेको छ। यति मात्रै हैन पढाइ पछि के गर्ने भन्ने पढ्दा पढ्दै विद्यार्थीले तय गरिसक्ने भएकाले रोजगार तथा स्वरोजगारका लागि पनि विद्यार्थीलाई गाह्रो नहुने इनोभेटिभ नेपाल ग्रुपका अध्यक्ष शुलभ बुढाथोकीले बताए।  

उनका अनुसार नेपालमा बेलायती विश्वविद्यालयको कोर्षको अध्ययन अध्यापन हुनु नेपाली विद्यार्थीका लागि सस्तोमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा लिने अवसर पनि हो। ‘बेलायती विश्वविद्यालयको कोर्ष नेपालमा पढाइ हुँदा शुल्क पनि निक्कै सस्तो पर्छ’ उनले भने, ‘बेलायतको तुलनामा नेपालमा करिब १० प्रतिशत मात्रै खर्च लाग्छ।’ ३ वर्षे इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्टको कोर्ष पूरा गर्न नेपालमा साढे ६ लाख रुपैयाँ खर्च लाग्ने कलेजका प्रमुख कार्यकारी अधिकृत डा. ऋषिकेश वाग्लेले जानकारी दिए। 

उनका अनुसार बेलायतको वल्भरह्याम्टन विश्वविद्यालयसँगको सहकार्यमा पूर्वमा पहिलोपटक बेलायतको बिजनेस डिग्री संचालन गर्दै आएको कलेजले नयाँ नामसहित थप कोर्ष सुरु गर्ने लागेको हो। कलेजले नयाँ कोर्षको आवश्यकता अनुभूत गरी बिए (अनर्स) इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कोर्ष पढाउन लागेको हो। विगत ७ वर्षदेखि कलेजमा बिएसी (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्टको कोर्ष पढाइँदै आएको छ। यस कलेजले ७  मा ४ वटा ब्याचका ४ सय बढी विद्यार्थीहरुलाई दीक्षित गरिसकेको छ। हाल ४ सय जना भन्दा बढी विद्यार्थीले अन्तर्राष्ट्रिय शिक्षा नेपालमै बसेर लिइरहेका कलेजले जनाएको छ।  

यस वर्षबाट पूर्वमा पहिलोपटक इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट र आगामी वर्ष मास्टर्स इन इन्टरनेसनल विजनेस म्यानेजमेन्ट र बिएसी (अनर्स) कम्प्युटर साइन्स (साइबर सेक्युरिटी र कम्प्युटिङ) थप कोर्ष संचालन गर्ने तयारी भइरहेको बुढाथोकीले बताए। इनोभेट नेपाल ग्रुप अन्तर्गत विराटनगर इन्टरनेसनल कलेज, इस्लिङटन कलेज काठमाडौं, हेराल्ड कलेज काठमाडौं, इन्फरम्यटिक्स कलेज पोखरा, इटहरी इन्टरनेशनल कलेज सञ्चालनमा छन्।   

नेपाली शिक्षा क्षेत्रमा क्रान्तिकारी छलाङ मार्ने उद्देश्यका साथ विश्वका बिभिन्न १८ देशमा समेत प्रयोग भईरहेको अनलाइन लर्निंङको लागि “माइ सेकेन्ड टिचर“ पनि संचालनमा ल्याएको छ। प्रदेश नम्बर १ र वरिपरीका विद्यार्थीले गुणस्तरीय अन्तर्रास्ट्रिय शिक्षा लिन विदेश नै जानुपर्ने बाध्यताको अन्त्य गर्दै नेपालका मल्टी नेशनल कम्पनीलेहरुको माग अनुसारका दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको कलेजले जनाएको छ।

प्रकाशित: १८ भाद्र २०७८ १२:५३ शुक्रबार

मेरिल्याण्ड कलेज रोजगारी