शिक्षा

बर्दियाका प्रान्जल ज्ञवाली विज्ञान प्रतिस्पर्धामा प्रथम

बाल वैज्ञानिक प्रान्जल ज्ञवाली विद्यार्थी प्रतिभा पहिचान २०२१को उपाधि जितेका छन्। वैज्ञानीक बन्ने सपना बुनेका १५ वर्षीय प्रान्जलले स्मार्ट होम प्रोजेक्ट बनाएर देशभरिका सातै प्रदेशका १४ प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान हासिल गरेको विज्ञान शिक्षक समाज(स्टान) का अध्यक्ष खिलकुमार प्रधानले जनाए।

स्टान र युनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगको सचिवालयको सहकार्यमा भदौ ५ गते शनिबार काठमाडौँमा जुममार्फत् गरिएको कार्यक्रममा नास्टका प्रतिनिधिले विजेता घोषणा गरेका थिए। विजेताहरुलाई आगमी असोज १ गते नगद पुरस्कार, पदक तथा सम्मान पत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा देशभरिका सातै प्रदेशबाट छनौट भई आएका १४ प्रतिस्पर्धीमध्ये प्रान्जलको प्रोजेक्टले प्रथम स्थान हासिल गरेको हो।

स्मार्ट होममा प्रान्जलले कागज, विग्रेका विद्युतीय सामग्री, तार, मोबाइल, फलाम, काठ लगायतका घरमै भएका सामग्रीहरु प्रयोग गरी वातावरणमैत्री तथा प्रविधिमैत्री बनाएका छन्। जसमा घरमा गाडी छिर्दा र बाहिरिँदा सेन्सरबाटै ढोका खुल्ने र बन्द हुने प्रविधि उनले प्रयोग गरेका छन्।

घरको भुइँमा टेक्दा साइरन बज्ने, शयन कक्षमा अटोमेटिक पानीको धारा खुल्ने र बन्द हुने, पानी ट्यांकीमा पानी भर्ने र सकिएपछि आफै पानी तान्ने मिल्ने मेसिन समेत उनले मोटरमा जडान गरेका छन्। उनको मल्टी प्रपोज प्रोजेक्ट अति नै आधुनिकतासँग जोडिएकोले उत्कृष्ट स्थान हासिल गर्न सफल भएको स्टानका अध्यक्ष प्रधानले बताए। भविष्यमा नेपालमै विद्यालय तहबाटै उत्कृष्ट वैज्ञानिक उत्पादन गर्ने लक्ष्यसहित आयोजना गरिएको यस्ता कार्यक्रमले विज्ञान अप्ठ्यारो नभएर सहज विषयको रुपमा विकास गर्ने पनि उद्देश्य रहेको अध्यक्ष प्रधानले जनाए।

‘नास्टका वैज्ञानिक सुरेस ढुँगेलको नेतृत्वसहितको मूल्यांकन समितिले ४० प्रतिशत प्रस्तुतिको भिडियो हेरेर मूल्यांकन गर्नुभएको थियो भने ६० प्रतिशत अंकका लागि विद्यार्थीसँग जुमबाट प्रस्तुति प्रत्यक्ष हेरेर अन्तरक्रिया गरेपछि अन्तिम मूल्यांकन गरिएको थियो,’ अध्यक्ष प्रधानले नागरिकसँग भने, ‘विज्ञान विषयलाई निकै अप्ठ्यारो विषयको रुपमा रहेको सोचलाई परिवर्तन गर्न पनि यस्तो प्रयोगात्मक कार्यक्रम स्टानले गरेको हो।’  

१५ वर्षीय युवा वैज्ञानिक प्रान्जलले मल्टी प्रपोजसहितको स्मार्ट होम प्रोजेक्ट बनाएको थियो। ‘जुन नयाँ सोच अनुसारको कल्पना गरिएको देखिन्छ। भोलिका दिनमा यस्ता सोचहरुलाई नास्ट र अनुसन्धान केन्द्रसँग जोडेर औधोगिकीकरण समेत गर्न सहयोग मिल्छ।’ उनले भने। कक्षा १०मा अध्ययनरत वाल वैज्ञानिक ज्ञवाली बर्दियाको बढैयाताल गाउँपालिका ८ बर्मेली टोलका हुन्। उनी बर्दियाको भगवती माध्यमिक विद्यालयमा अध्ययनरत छन्।

सानैदेखि वैज्ञानिक बन्ने इच्छा रहेकोले उनी स्कुलमा साना कक्षा पढ्दा नै घरका बिग्रेका सामग्री रेडियो, टर्चलाइट, मोबाइल , पाइप, तार, कागज, काठ लगायतका सामग्रीहरु प्रयोग गरी विज्ञान तथा प्रविधियुक्त सामग्रीहरु बनाउने गरेको उनमा बुवा प्रदिप ज्ञवाली बताउँछन्।

उनले बिग्रेका विद्युतीय सामग्री, खेर गएका कागज, काठ, फलाम, तार लगायतका घरायसी सामग्रीहरु प्रयोग गरी थुप्रै वैज्ञानिक सामग्री बनाएको बुवा प्रदिप बताउँछन्। ‘प्रान्जलले घरमै भएका बिग्रेका सामग्रीहरु प्रयोग गरी एटिएम मेसिन, खानेपानी वितरण गर्ने मेसिन, सिसि क्यामरा, भिडियो क्यामरा, मोबाइल ल्यापटप, फोकस लाइट, पैसा छाप्ने मेसिन, वाटर डिस्पेनसर, हाइडोलिक ब्रिज, हेन्ड माइक, बास्केट बल कोट र ड्रप इरिगेसन जस्ता सामग्रीहरु तयार पारेर प्रदेशस्तरमै पनि उत्कृष्ट हुँदै आएको छ।’ बुवा प्रदिपले भने। प्रतियोगिताको पहिलो चरणमा सातै प्रदेशमा छुटाछुटै प्रतिस्पर्धा भएको थियो। प्रत्येक प्रदेशबाट दुईदुई जनाका दरले १४ प्रतियोगी छनौट भएका थिए।

प्रतियोगितामा कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागिता जनाएका थिए। जसमा कपिलवस्तुका होराइजन माविका अनुसन्धान पोखरेल द्वितीय, विराटनगरका आदर्श माविका श्रेता पोखरेल तृतीय र काठमाडौंका पद्यमकन्या माविकी स्वीकृति बाँस्तोलाले चतुर्थ स्थान हासिल गरेका थिए। प्रथमलाई १० हजार, द्वितीयलाई ८ हजार, तृतीयलाई ६ हजार र चतुर्थलाई चार हजार नगद पुरस्कार दिइने स्टानका अध्यक्ष प्रधानले बताए।

प्रकाशित: १० भाद्र २०७८ ११:२७ बिहीबार

वैज्ञानिक विद्यार्थी प्रतिभा पहिचा