शिक्षा

शिक्षण अध्यापन अनुमतिपत्र उल्लेख नगरी विज्ञापन आव्हान

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित सुर्यज्योती आधारभूत विद्यालयले शिक्षक पदपूर्तिका लागि त्रुटीपूर्ण विज्ञापन खुलाएको भन्दै आलोचना भएको छ। रिक्त प्रावि तृतीय करार शिक्षक नियुक्तिका लागि विद्यालयले शिक्षण अध्यपन अनुमतिपत्र उल्लेख नगरी तथा गणित वा विज्ञान विषय शिक्षकको विज्ञापन आव्हान गरेपछि आलोचन भएको हो। शिक्षक नियुक्तिका लागि अध्यापन अनुमतिपत्र अनिवार्य माग तथा पेश गर्नुपर्ने हुन्छ। 

यस्तै, प्रावि तहको शिक्षक नियुक्तिका क्रममा कुनै पनि विषय शिक्षक अनिवार्य नहुने व्यवस्था विपरित विज्ञापन आव्हान गरिएपछि प्रअको आलोचना भएको हो। प्रावि तहका शिक्षक उमेशकुमार यादव सरुवा लिएर अन्यत्र गएपछि रिक्त स्थानमा अर्को शिक्षक नियुक्तिका लागि सुर्यज्योती प्राविले भदौ १ गते विज्ञापन खुलाएको थियो। विज्ञापनमा ‘आवश्यक कागजात’ उल्लेख गरेपछि सोही शव्दले अध्यापन अनुमतिपत्रलाई समेट्ने अर्थमा अध्यापन अनुमतिपत्र खुलाएर माग नगरिएको प्रअ भलबहादुर कार्कीले बताए। प्रावि शिक्षकबाटै आधारभूत तहको गणित र विज्ञान विषय पठन–पाठन गर्नुपर्ने बाध्यताका कारण गणित र विज्ञान शिक्षक तोकेर विज्ञापन आव्हान गर्नुपरेको विद्यालयले जनाएको छ।  

प्रअलाई २४ घण्टे स्पष्टीकरण  

विद्यालयले शिक्षक नियुक्तिका लागि त्रुटीपूर्ण विज्ञापन निकालेपछि हलेसी तुवाचुङ नगरपालिकाले प्रअ भलबहादुर कार्कीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। विज्ञापनमा दरखास्त दिने उम्मेद्वारबाट नियमानुसार अध्यपन अनुमतिपत्र अनिवार्य गर्नुपर्नेमा अध्यपन अनुमतिपत्र पेश गर्न नभनिएको र प्रावि तहमा कुनै पनि विषय अनिवार्य नहुने अवगत हुँदाहुँदै उक्त विज्ञापनमा गणित वा विज्ञापन विषय अनिवार्य गरिएको विषयमा नगरपालिकाले प्रअ कार्कीलाई मंगलबार २४ घण्टे स्पष्टीकरण सोधेको हो। प्रअलाई २४ घण्टाभित्र नगरपालिकामा लिखित जवाफ पेश गर्न र सो विज्ञापन रद्ध गरी नगरपालिकाबाट विज्ञापनको ढाँचा स्वीकृत गराएर पुनः विज्ञापन गर्न आदेश दिइएको नगरपालिकाका शिक्षा शाखा संयोजक पदम कार्कीले बताए। 

नगरपालिकाको आदेश अनुसार प्रअ कार्कीले मंगलबार नै स्पष्टीकरण बुझाउनुका साथै सो विज्ञापन रद्ध गरेको सूचना टाँस गरिसकेका छन्। नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी निकट अखिल क्रान्तीकारीले समेत विज्ञप्तीमार्फत त्रुटीपूर्ण विज्ञापन सच्याउन माग गरेको थियो।  

विद्यार्थी डेढ सय, दरबन्दी तीन  

२०४६ सालमा स्थापना भएको विद्यालयमा हाल डेढ सय विद्यार्थी अध्ययनरत छन्। तर, नेपाल सरकारको दुई वटा र नगरपालिकाले व्यवस्था गरेको एक वटा शिक्षक दरबन्दीको भरमा पठन–पाठन सञ्चालन भइरहेको छ। रिक्त दरबन्दीमा शिक्षक नियुक्ति गर्दा नेपाल सरकारको दरबन्दी संख्या तीन हुने छ। वरपरका पाँच/छ वटा गाउँका विद्यार्थी अध्ययन गर्न आउने विद्यालयले २०६५ सालदेखि आधारभूत तहको पठन–पाठन सुरु गरेको हो। 

प्रावि दरबन्दीको भए पनि आधारभूत तहमा गणित र विज्ञान पढाइरहेका शिक्षक सरुवा भएपछि त्यसको पूर्तिका लागि विज्ञापनमा गणित र विज्ञापन उल्लेख गर्नु परेको प्रअ कार्कीले बताए। उनले नगरपालिकालाई बुझाएको स्पष्टीकरणमा पनि सो कुरा उल्लेख गरेका छन्। पढाइरहेका शिक्षक सरुवा भएपछि एक/डेढ महिनादेखि आधारभूत तहको गणित र विज्ञान विषयको पढाइ हुन सकेको छैन। कोभिड–१९ को महामारी भए पनि सो विद्यालयमा भौतिक दूरी कायम गरेर कक्षा सञ्चालन गर्ने गरिएको बताइएको छ। 

हाल सो विद्यालयमा मावि तहको कक्षा सञ्चालनका लागि भौतिक संरचना बनिसकेको भए पनि शिक्षक दरबन्दी भने न्यून छ। ‘हामी माबि चलाउन सक्छौंँ, शिक्षकको दरबन्दी चाहियो भनेर प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, प्रदेश सांसद राजन राई, रामकुमार राईलाई भनेँ, केही लागेन,’ प्रअ कार्कीले भने, ‘सबैको आँखाले नदेख्ने ठाउँमा विद्यालय परे। कसैले वास्ता गरेनन्।’

प्रकाशित: १० भाद्र २०७८ ०९:३१ बिहीबार

शिक्षण अध्यापन अनुमतिपत्र