शिक्षा

डेढ महिनामै भत्कियो विद्यालयको नवनिर्मित संरचना

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा बुवालुङस्थित अन्नपूर्ण माबिको पर्खाल तथा सिँढी निर्माण गरेको डेढ महिनामै भत्किएको छ। संघीय शसर्त अनुदानअन्तरगत आर्थिक वर्ष २०७७/०७८ मा प्राप्त भएको २० लाख १६ हजारमा निर्माण गरिएको पर्खाल, सिँढी तथा तारवार केही महिनामै भत्किएको हो। 

पर्खाल तथा सिँढी योजना अन्तरगत बनाइएको तारवार वर्षाको भलले खोतलेर भत्काइदिएको छ। गुणस्तरहिन काम भएको र भल जाने ठाउँ नकाटिएका कारण पर्खाल, सिँढीमा भन्दा तारबारमा सवैभन्दा बढी क्षती हुन पुगेको छ। गत चैत १७ गते सम्झौता गरिएको विद्यालयको पर्खाल तथा सिँढी निर्माणको काम बैसाख १५ गते सम्पन्न गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ।

विद्यालयको भौतिक संरचना एक वर्षा पनि नटिकेपछि योजनाको गुणस्तरमाथि प्रश्नचिन्ह खडा गरेको छ। भौगोलिक अवस्थाका कारण अन्नपूर्ण माविको भवनहरु तल्लो र माथिल्लो गह्रामा बनाइएको छ। तल्लो भवनको अगाडि खेलमैदान निर्माण गरिएको छ। संघीय शसर्त अनुदानबाट सोही खेलमैदानको भित्तामा २ मिटर उचाई र ६५ मिटर लम्बाई भएको पर्खाल उठाइएको छ। पर्खाललाई माथिबाट खसेको ढुंगामाटोले पुरेको छ। सोही खेलमैदानबाट माथिल्लो भवनमा निस्कने सिँढी निर्माण गरिएको छ। सिँढीको दायाँ–बायाँ पनि चर्किएको छ। यस्तै, खेलमैदानभन्दा माथिको डिलमा विद्यार्थीलाई लड्नबाट जोगाउनका लागि पेटीजत्रो ढलानमा फलामको खम्बा गाडेर तारजालीको बार हालिएको छ। 

तर, बिना रड हालिएको तारजालीको विभिन्न भागको सिमेन्टेड जग भलपानीका कारण चर्किएको र भत्किएको छ। कतिपय खम्बा र तारजाली खेलमैदानको डिलमा झुण्डिएको अवस्थामा देख्न सकिन्छ।

दह्रो जग नहाली माटोमाथि तारजालीको बार हालिएका कारण भलले खोतलेर भत्किएको स्थानीयले बताएका छन्। माथिल्लो ग्राउण्डमा भल जाने ठाउँ नबनाएका कारण वर्षामा जमेको भलपानीले खोतलेर मुनिका पर्खाल, सिँढी र तारबारमा क्षती पुगेको हो। विद्यालयमा ९० मिटर तारवारको सट्टा वढाएर १०७ मिटर तारवार हालिएको दावी गरिएको छ। बनाएको केही समयमै विद्यालयको पर्खाल तथा सिँढी जिर्ण बनेपछि अभिभावक भने असन्तुष्ट छन्। ‘असार २९ मा फरफराक, साउन ७ मा भत्क्यो। अब भन्नुस् यस्को जिम्मेवारी को हो?,’ स्थानीय गजेन्द्र राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्कुल प्रशासनलाई सोध्दा थाहा छैन भन्छ। स्कुलको हाताभित्र स्कुल प्रशासनलाई थाहा नदिइ निर्माणको काम हुन्छ की हुँदैन? जसले गरेपनि कामको दिगोपनाका बारेमा सचेत हुनुपर्छ।’

वर्षा सुरु हुनुअघि बनाइएको पर्खाल र सिँढी भलका कारण जिर्ण बनेको पर्खाल तथा सिँढी निमार्ण उपभोक्ता समितिले स्वीकार गरेका छन्।  

दोर्पाचिउरी डाँडाका वडाध्यक्ष लिलाकुमार चौहानले भने गुणस्तरयुक्त काम गरेको भए पनि भल कटाउने कुलो बनाउन बेवास्ता गर्दा नवनिर्मित संरचनामा क्षति पुगेको बताए। सिँढी र पर्खाल भत्किएको विषयमा जानकारी आए लगत्तै सोही वजेटभित्र पुःनमर्मतका लागि निर्देशन दिइसकिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए। 

प्रकाशित: ३० श्रावण २०७८ ११:५२ शनिबार

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका