शिक्षा

अनुमति बिना कक्षा १२ को पुस्तक छाप्ने प्रकाशन गृहलाई कारबाही

पाठ्यक्रम विकास केन्द्रको अनुमति वेगर कक्षा १२को पाठ्य सामाग्री छपाई गर्ने प्रकाशन गृह काराबाहीमा परेको छ। अस्मिता पब्लिकेशन एन्ड डिस्ट्री ब्युटरर्सले सरकारी ऐन कानून मिचेर बलजप्ती पुस्तक छपाई गरी बजारमा विक्रीवितरण गरिरहेको रहस्य खुलेपछि पाठ्यक्रम विकास केन्द्रले कारबाही थालेको हो ।  

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले केन्द्रले आइतबार बजार अनुगमन थालेको र उक्त अनुगमनमा अस्मिता प्रकाशन एन्ड डिस्ट्री ब्युटर्सको डिपो तथा विभिन्न छापाखानाहरुबाट विभिन्न विषयका पाठ्यसामाग्रीहरु अवैध रुपमा छपाई गरेको फेला परेको जनाए। केन्द्रको अनुगमन टोलीले अस्मिताको डिपोबाट छापा मारेर अवैध रुपमा छापिएका पुस्तकहरु जफत गरेको महानिर्देशक न्यौपानेले जानकारी दिए।

उक्त प्रकाशन गृहले आफनो ललितपुरको सानेपामा रहेको बंगलामुखी प्रिन्टिङ प्रेस र काठमाडौंको समाखुशीमा रहेको प्यासेफिक प्रिन्टिङ प्रेसबाट धमाधम भौतिक विज्ञान,अर्थ शास्त्र,गणित, रसायन शास्त्रलगाए अन्य थुप्रै विषयका पुस्तकहरु छापिरहेको भेटिएको महानिर्देशक न्यौपानेले जनाए । दोषी देखिएका उक्त प्रकाशन गृहलाई २४ घण्टे लिखित स्पष्टीकरण सोधिएको उनले बताए।  

‘पाठ्यक्रम विकास केन्द्रले कुनै पनि निजी प्रकाशन गृहहरुलाई कक्षा १२को पुस्तक छपाईकोलागि अनुमति दिएको छैन ,’ महानिर्देशक न्यौपानेले नागरिकसँग भने‘ केन्द्रमा निजी प्रकाशन गृहहरुले बुझाएको किताबहरु करेक्सनकोलागि पठाइएको छ। भने केहीलाई मूल्यांकन गरी पहिलो चरणमा स्वीकृति दिने प्रकृया अघि बढाइएको छ।’ उनले थपे‘ तर अस्मिता प्रकाशनले भने आफना विभिन्न छापाखानाहरुबाट धमाधम अवैध रुपमा पुस्तक छपाई गरिरहेको पाइयो। केन्द्रले २४ घण्टे लिखित स्पष्टीकरण सोधिसकेको छ। कसुरअनुसार उक्त प्रकाशन गृहलाई थप कारावही हुन्छ।’  उनकाअनुसार अनिवार्य किताब नेपाली, अंग्रेजी , गणित र समाजक अध्ययनको पाठ्यपुस्तक छपाईको काम जनकशिक्षा सामाग्री केन्द्रले गर्छ। तर अझै जनकले समेत स्वीकृति पाएको छैन।  

केन्द्रका निर्देशक दामोदर आचार्यका अनुसार हाल केन्द्रमा ६१ प्रकाशन गृहहरुले २६ विषयकोलागि ४ सय ५० पाठ्यसामाग्री छपाईको लागि निवेदन दिएका छन्। धेरै जसो किताबहरु नयाँ पाठ्यक्रमअनुसार मेल नखाएकोले सुधारको लागि फर्काइएको तर सुधारको लागि भनी फर्काइएका किताबनै  प्रकाशन गृहले पाठ्य सामाग्रीको रुपमा बिना स्वीकृति छपाई गरेको पाइएको निर्देशक आचार्यले जनाए। उनले केन्द्रले लगातार अन्य प्रकाशन गृहहरुमा पनि अनुगमन थालेको जनाए।  

‘केन्द्रमा बुझाएका धेरै किताबहरु पुरानै पाठ्यक्रम अनुसार रहेको, सिकाई उपलब्धीको समयावधि नमिलेको,पाठ्यभार पनि पुरानै रहेको लगाएत थुप्रै त्रुटिहरु  देखिएकोले केन्द्रले सुधारकोलागि फर्काएको थियो,’ निर्देशक आचार्यले नागरिकसँग भने‘ तर प्रकाशन गृहहरुले सुधार गरी ल्याउन समेत ढिलाई गरेका छन्। त्यही भएर स्वीकृति दिन पनि समय लागेको हो।’ उनले थपे‘केन्द्रले यो साताभित्र सुधार गरी आएका २ सय १० पाठ्य सामाग्रीलाई पहिलो चरणको छपाईको स्वीकृति दिने प्रकृया अघि बढाएको छ।’

पाठ्यपुस्तक व्यवसायी महासंघका अध्यक्ष मनहरि बस्यालका अनुसार पुस्तक प्रकाशन गृहहरु पाठ्यक्रम विकासको निति नियम तथा निर्देशन अनुसार चल्ने भएकोले कानूनमै रहेर काम गर्नुपर्छ। ‘एउटा प्रकाशन गृहको गल्तीका कारण  सम्पूर्ण निजी प्रकासन गृहहरु बदनाम भएका छन्’,  अध्यक्ष बस्यालले भने‘ अस्मिताले सरकारी स्वीकृति विना पाठ्यसामाग्री छापेर गैरकानूनी काम गरेको हो।’  उनले थपे‘ अर्को तर्फ पाठ्यक्रमले पनि समयमै स्वीकृति दिन नसकेर पनि समस्या आएको हो।’

कक्षा ११को परीक्षा असार अन्तसम्म विद्यालयहरुले सकेका छन्। साउनदेखि कक्षा १२को नयाँ शैक्षिक सत्र सुरु भएको छ। शिक्षकहरुको मागको आधारमा आफूहरुले कक्षा १२को पाठ्यसामाग्री छपाई गरेको अस्मिताका संचालक मनोज कुमार शर्माको भनाई छ।

‘नयाँ शैक्षिक सत्र सुरु भइसक्यो। पाठ्यक्रमले अझै स्वीकृति दिएको छैन। हामीले शिक्षक, विद्यार्थी र स्कुलबीच सहजीकरण गर्न किताब नमूनाको रुपमा छाप्यौं,’ संचालक शर्माले नागरिकसँग भने ‘यही हाम्रो गल्ती भयो। तर बजारमा विक्री गरेका छैनौं।’ उनले थपे‘ हामीले करेक्सन गरेर बुझाएकै आधारमा किताब छापेका हौं।’

प्रकाशित: २७ श्रावण २०७८ ०७:०५ बुधबार

पाठ्यक्रम विकास केन्द्र प्रकाशन गृह काराबाहीमा अस्मिता प्रकाशन एन्ड डिस्ट्री ब्युटर्सको डिपो बंगलामुखी प्रिन्टिङ प्रेस