शिक्षा

अब विद्यार्थीको हातहातमा पाठ्यपुस्तक

जुम्लामा फागुन महिना देखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ। फागुन र चैत महिनामा भर्ना अभियान चल्छ। यो वर्ष न त नयाँ शैक्षित्र शत्र शुरु भयाे न त विद्यार्थीले पढ्न पाए। न त विद्यालय नै खुले। कोरोना महामारीका कारण बन्द भएका यहाँका विद्यालय अझैँ खुल्न सकेका छैनन्।  

विद्यार्थीले पाठ्यपुस्तक पनि पाएका छैनन। नियमित लकडाउन र कोरोना प्रभावका कारण विद्यालय सुनसान छन्। विद्यालयको प्रशासन पनि खुलेका छैनन्। शिक्षक बेरोजगार जस्तै छन्। विद्यार्थीको पढाईमा पनि निकै प्रभाव परेको छ। कोरोना भाइरसले शिक्षा क्षेत्रमा देखिएको अन्यौलता चिर्न कोभिड १९ संकट व्यवस्थापन समितिले विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पठाउने व्यवस्था मिलाउने निर्णय गरेको छ।

ग्रामिण क्षेत्रमा रहेका विद्यार्थीले पाठ्यपुस्तक समेत किन्न पाएका छैनन्। सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइँले भने, ‘अब बालबालिकालाई हातहातमा पुस्तक पुर्‍याउने व्यवस्था गर्न थालिएको छ। विद्यालय नखुलेपनि विद्यार्थीले आफैँ अध्ययन गर्ने वातावरण सिर्जना गर्न थालिएको छ।’

निषेधाज्ञा पनि खुकुलो बनिरहेको छ। यो समयमा विद्यार्थीको हातहातमा पुस्तक पुग्नुपर्छ। सहायक प्रमुख जिल्ला अधिकारी चौलागाइँले भने,‘बैठकले बन्द रहेका विद्यालयका छात्रछात्रालाई पाठ्यपुस्तक उपलब्ध गराउने निर्णय गरिसक्यो। निजी तथा सरकारी विद्यालयको प्रशासनिक काम शुरु गर्नुपर्न निर्देशन गरिसक्यो। यो निर्णय जुम्ली शिक्षा क्षेत्रको लागि महत्वपुर्ण नै हो। ’

कोरोनाले विद्यालय वन्द भएपछि शैक्षिक क्षेत्र परेको धरापमा छ। विद्यालय जाने अवस्था छैन। घरमै पनि पुस्तक पुगेन। कोरोनाका कारण बालबालिकाको पठनपाठन लथालिङ्ग नै छ। पाठ्यपुस्तक बिक्रेता निरन्तर विद्यालय बन्द हुन थालेपछि पाठ्यपुस्कत झिकाउन समेत नसक्ने भइसकेका छन्।  

जिपी स्टेशनरी एण्ड सप्लार्यसले यस बर्ष  २५ लाख रुपैयाँको पाठ्यपुस्तक ल्यायो। पुस्तक भने बिक्री नहुने डरले लगानी गर्न नसकिएको प्रबन्ध गणेश रोकाया बताउँछन्। कोभिड भित्रै ल्याएका पुस्तक त बिक्री हुन सकेका छैनन्। उनले भने,‘यसमै थप लगानी गर्दा डुब्ने खतरा देखियो। पुस्तक मगाउन सकिएको छैन। तर विद्यालयले माग गरेको खण्डमा पुस्तक ल्याउन सकिने अवस्था छ। ’

यहाँ बर्षेनी एक करोड ५० लाख रुपैयाँको पाठ्यपुस्तक आवश्यक हुन्छ। कोरोनका कारण विद्यालय नखुलेर पुस्तक बिक्री भएका छैनन्। जुम्लाको अर्को सन्ध्या स्टेशनरीले  १८ लाख रुपैयाँको पुस्तक खरिद गरेको छ तर सबै पुस्तक थन्किएका छन। स्टेशनरीका प्रबन्धक सुमन खड्का दुई लाख रुपैयाँ बराबरको मात्रै सरकारी विद्यालयका किताब सप्लाई भएको बताउँछन्। बिक्री नहुने डरले लगानी गर्न कठिन छ। उनले भने,‘विद्यालय खुलेर सहज पठनपाठन शुरु भएको खण्डमा पुस्तक आपुर्तिमा खासै समस्या हुने छैन। माग अनुसारको पुस्तक आयत गर्न सकिन्छ। ’    

विद्यार्थीको हातहातमा पुस्तक नपुगेपनि विद्यालयको खातामा पाठ्यपुस्तक खरिदको रकम गइसकेको जिल्ला शिक्षा समन्वय इकाइले जानकारी दिएको छ। कार्यालय प्रमुख मक्करबहादुर भण्डारी जिल्लाका एक नगरपालिका सहित ७ वटै गाउँपालिकाका विद्यालयमा पाठ्यपुस्तकको रकम दिइसकेको बताउँछन्। उनले भने,‘पाठ्यपुस्तकको रकम विद्यालयमा गइसकेको छ। अब विद्यालयले तत्काल पुस्तक किनेर विद्यार्थीको हातहातमा पुर्‍याउनुपर्छ। विद्यार्थीले घरमै बसेर आफैँ अध्ययन गर्न पाउने व्यवस्था मिलाउनुपर्छ।’

केही विद्यालयले किताब किनेर लिइसकेको उनले बताए। कोरोना महामारीमा प्रभावित जुम्लाका विद्यार्थी टेलिभिजन र अनलाइन कक्षको पहुँचमा छैनन्। उनीहरुका लागि कि विद्यालय खुल्नु पर्‍यो, कि त गाउँमै नयाँ बैकल्पिक विधिबाट पढाउन शुरु गर्नु पर्‍यो। त्यो बाहेकको कुनै विकल्प नै छैन।  

समयमै पाठ्यपुस्तक खरिद गरेर विद्यार्थीका हातमा पुर्‍याउन प्रमुख भण्डारीले निर्देशन दिए। ग्रामिण क्षेत्रको विद्यार्थीको भविष्यको लागि पनि पुस्तक अनिवार्य विद्यार्थीको हातहातमा पुर्‍याउन जरुरी छ। उनले भने,‘विद्यार्थीको सुन्दर भविष्यका लागि शिक्षक,अभिभावक,विद्यालय व्यवस्थापन समिति गम्भीरतापुवर्क लागि पर्नुपर्छ। ’जुम्लामा १७० विद्यालयका करिब ४० हजार विद्यार्थी छन्।

प्रकाशित: ८ श्रावण २०७८ ०५:१३ शुक्रबार

पाठ्यपुस्तक