शिक्षा

असार–साउन अन्त्यसम्म सबै तहका परीक्षा सक्ने तयारी

चिकित्यसा शिक्षा आयोग गत वर्षको रोकिएको मेडिकल शिक्षाको सबै प्रवेश परीक्षा असार अन्त्यसम्म सक्ने तयारीमा जुटेको छ। आयोगले असार २६ गतेदेखि प्रवेश परीक्षा सञ्चालन गरी असार अन्तसम्म सक्ने आयोगको तयारी रहेकोले सोहीअनुसार परीक्षा सञ्चालनका लागि सिसिएमसीमा अनुमतिको माग गरेको आयोगका प्रवक्ता डिल्ली लुइँटेलले जनाए। 

तर सिसिएमसीले कोरोनाको जोखिम उच्च रहेको अवस्थामा क्षेत्रीयस्तरमा परीक्षा सञ्चालनका लागि राय मागेकोले सोहीअनुसार आयोग परीक्षाको तयारीमा जुटेको बताए। तर आयोगको स्थापनाको उद्देश्यमध्ये एक विभिन्न विश्वविद्यालयले आ–आफनै ढंगले लिँदै आएका मेडिकल शिक्षाका प्रवेश परीक्षाहरू एकद्वार प्रणालीबाट सञ्चालन गर्ने हो। सोअनुसार प्रवेश परीक्षा आयोगले सञ्चालन गर्ने दायित्व पाएको हो। तर हाल कोभिडको जोखिमका कारण सबै विद्यार्थीलाई केन्द्रमै अर्थात् काठमाडौंमै बोलाएर परीक्षा सञ्चालन गर्दा जोखम उच्च हुने सम्भावना भएको आँकलन गर्दै सिसिएमसीले क्षेत्रीय रूपमा प्रवेश परीक्षा सञ्चालन गर्न सकिन्छ कि भन्ने राय आयोगसँग मागेको छ।  

‘आयोगले असार २६ गतेदेखि मेडिकलका प्रवेश परीक्षा सञ्चालन अनुमति सिसिएमसीसँग माग गरेको थियो। तर सिसिएमसीले कोरोनाको जोखिम उच्च हुँदै गएकोले मेडिकलका प्रवेश परीक्षाहरू क्षेत्रीयस्तरमा गर्न सकिन्छ कि भन्नेबारे राय मागेको छ,’ प्रवक्ता लुइँटेलले नागरिकसँग भने, ‘त्यही तयारीका लागि आयोगले सोमबार विद्यार्थीहरूलाई क्षेत्रगत रूपमा परीक्षामा सहभागिताका लािग फारम भर्न सार्वजनिक सूचना प्रकाशित गरेको छ।’ 

धेरै विद्यार्थी काठमाडौंकै लागि फारम भरेको र उनीहरू बाहिर जान नमान्ने उनले बताए। त्यही भएर आयोगले सार्वजनिक सूचना प्रकाशित गरी आफूलाई अनुकूल हुने क्षेत्रगत फारम भर्न लगाएको उनको उनको भनाइ छ। उनले विद्यार्थीलाई फारम भर्न तीन दिनको अवधि तोकिएको जनाए। ‘विद्यार्थीले क्षेत्रगत रूपमा फारम भरेपछि बल्ल कुन क्षेत्रमा कति विद्यार्थी परीक्षा दिने सख्या थाह हुन्छ,’ प्रवक्ता लुइँटेलले भने, ‘त्यहीअनुसार काठमाडौं, विराटनगर, धरानलगायतका क्षेत्रहरूमा परीक्षा सञ्चालन हुन्छ,’ उनले थपे, ‘आयोगले असार अन्तसम्म सबै रोकिएका परीक्षा सकाउने तयारी गरेको छ।’

आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आयोगमा मेडिकल शिक्षाको विभिन्न विषयका लागि करिब ८ हजार मात्र विद्यार्थीको सिट रहेको तर प्रवेश परीक्षा दिने विद्यार्थीको संख्या ३२ हजार ७ सय रहेको जनाए। ‘धेरै विद्यार्थी काठमाडौंलाई नै केन्द्र मानेर फारम भरेका छन्,’ उपाध्यक्ष डा. गिरीले नागरिकसँग भने, ‘अब विद्यार्थीाले क्षेत्रगत रूपमा फारम भरेपछि क्षेत्रगत रूपमा तथ्यांक आउँछ।’ विद्यार्थीबाट प्राप्त सूचना समेटेर आयोगले सिसिएमसीलाई बुझाउँने र विद्यार्थीको रुचिका आधारमा क्षेत्रगत केन्द्र तोकेर परीक्षा हुने उनले बताए।  

राष्ट्रिय परीक्षा बोर्डले भने साउनको अन्तसम्म कक्षा १२ को परीक्षा सक्नेगरी तयारीमा जुटेको छ। कोभिडको उच्च जोखिम बढ्दै गएपछि चार लाख विद्यार्थीको परीक्षा स्थगित गरिएको थियो। अवस्था सहज भए गत वर्षको जस्तै विद्यालयमै अनलाइन प्रश्नपत्र पठाएर विद्यालयमै केन्द्र कायम गरी परीक्षा लिने तयारी बोर्डको छ।  

‘कक्षा ११को परीक्षा विद्यालयले आफ्नै हिसाबले गर्छ,’ बोर्डको अध्यक्ष डा. चन्द्रमणि पौडेलले भने, ‘१२ कक्षाको सवालमा बोर्डले प्रश्नपत्र तयार पारिसकेको छ। अवस्था सहज हुनसाथ मूल्यांकन गरी परीक्षा सञ्चालन हुन्छ। पोहोर हामीले विद्यालयमै इमेलबाट प्रश्नपत्र पठाएर परीक्षा लियौं। सफल पनि भयौं। यो वर्ष अवस्था सहज भए विद्यालयमै केन्द्र तोकेर परीक्षा हुन्छ।’

यसैगरी त्रिभुवन विश्वविद्यालय पनि साउनको अन्तसम्म रोकिएका सबै परीक्षाहरू सक्ने तयारीमा जुटेको छ। शिक्षाध्यक्ष शिव भुसालका अनुसार स्नातक प्रथम र दोस्रो वर्षका परीक्षाहरू बाँकी छन् भने सेमेस्टरतर्फका स्नातकोत्तर तहका पनि केही परीक्षाहरू बाँकी रहेका छन्।  

‘स्नातकतर्फका प्रथम र दोस्रो वर्षका गरी करिब ५ लाख विद्यार्थीहरूको परीक्षा साउनको अन्त्यसम्म सक्ने तयारीमा त्रिवि जुटकोको छ,’ शिक्षाध्यक्ष भुसालले भने, ‘धेरै विद्यार्थी भएकोले अनलाइन परीक्षा गर्न संभव छैन। किन भने धेरै विद्यार्थी जसमा काठमाडौंकाले समेत अनलाइन परीक्षा फारम समेत भर्न सकेनन्।’ यस्तो अवस्थामा अनलाइन परीक्षा सम्भव नभएको तर अनलाइन प्रविधिसँग साक्षातकार हुने विद्यार्थीका लागि अनलाइन परीक्षाको छनोटको अवसर हुने उनको भनाइ छ। उनका अनुसार सेमेस्टर तर्फका स्नातकोत्तर तहको करिब एक लाख विद्यार्थीको परीक्षा थाति छ।

प्रकाशित: ८ असार २०७८ ०१:३० मंगलबार

परीक्षा चिकित्यसा शिक्षा आयोग प्रवेश परीक्षा