शिक्षा

वैकल्पिक शिक्षण व्यवस्था गर्न विद्यालयलाई निर्देशन

जन्तेढुंगा गाउँपालिकाको केन्द्र चिसापानी बजार । तस्बिरः दमन राई/नागरिक

कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विद्यालयहरु बन्द छन् । निर्धारित परीक्षा स्थगित गरिएको छ । किताव कापी बोकेर विद्यालयमा हुनुपर्ने विद्यार्थी घर–घरमा छन् । घर बस्दा विद्यार्थीको लेखपढ गर्ने बानीमा परिवर्तन आउने र पढिजानी सकेका विषय समेत भुल्ने खतरा छ । यही तथ्यलाई मध्यनजर गर्दै खोटाङको जन्तेढुंगा गाउँपालिकाले वैकल्पिक शिक्षण कार्यक्रम सञ्चालनका लागि विद्यालयलाई निर्देशन दिएको छ ।  

कोभिड–१९ रोकथाम तथा नियन्त्रण समन्वय समितिको बुधबार बसेको बैठकको निर्णय अनुसार विद्यालयलाई घरैमा बसेर सिकाई गर्ने वातावरण बनाउन निर्देश दिएको हो । गाउँपालिकाभरीका विद्यालयका व्यवस्थापन समिति र प्रअलाई मावि तहका विद्यार्थीलाई भर्चुअल विधिबाट शिक्षण सिकाईमा सहभागी गराउन र सोभन्दा तल्ला कक्षाका विद्यार्थीलाई अभिभावकबाटै सिक्ने/सिकाउने वातावरण निर्माणका लागि भनिएको गाउँपालिकाका शिक्षा शाखा संयोजक नारायणप्रसाद पाण्डेले बताए ।  

हरेक अभिभावक/विद्यार्थीको घरमा मोबाईल सेट भएकाले मावि तहका विद्यार्थीलाई डाटा कनेक्ट गरेर भर्चुअल शिक्षण सिकाईमा सहभागी गराउने प्रयास गर्न भनिएको छ । प्रावि र आधारभुत तहका विद्यार्थीलाई भने घरैमा अभ्यास पुस्तिका पठाउने र अभिभावकको रेखदेखमा अध्ययन गर्ने र अभ्यास गर्ने व्यवस्थाका लागि व्यवस्थापन समिति र प्रअलाई भनिएको शिक्षा शाखा संयोजक पाण्डेले बताए । ‘विद्यालय बन्द हुँदा गाउँघरका विद्यार्थीले घाँस दाउरामा दिन बिताइरहेका छन् । लेखपढ गर्ने वानी छुट्ने वा सिकिसकेका विषय पनि भुल्न सक्छन्,’ संयोजक पाण्डेले भने, ‘यो अवस्थामा मावि तहका विद्यार्थीलाई इन्टरनेटको माध्यमबाट पढाउने र तल्ला कक्षाका विद्यार्थीलाई घरैमा अभ्यास पुस्तिका पठाइदिने भनेका छौँ । पछि विद्यालय आउँदा कति अभ्यास गरे/गरेन भनेर मूल्यांकन गर्न सकिन्छ । सफल हुन्छ हुन्न, प्रयास गरौं भन्ने हाम्रो लक्ष्य हो ।’  

६ वडा रहेको जन्तेढुंगा गाउँपालिकामा ३६ विद्यालय छन् । मावि तहका शिक्षकले आफ्नै घर, कोठा वा विद्यालयबाट भर्चुअल शिक्षणको सहजीकरण गर्न सक्ने छन् । यद्यपी, गाउँपालिकाका गाउँ–गाउँमा मोबाईल डाका स्लो हुने भएकाले अर्चुअल शिक्षण सिकाई प्रभावकारी हुनेमा आशंका गरिएको छ । लेखपढ गर्ने वानीलाई निरन्तरता दिनका लागि तल्ला कक्षाका विद्यार्थीलाई भने अभिभावकबाट शिक्षण सिकाईमा सहजीकरण गर्न आग्रह गरिएको छ । बालबालिकालाई आ–आफ्नै घरमा पर्याप्त समय दिएर लेखपढ गर्ने र आफ्नै आमाबुवा, दाजु दिदी लगायतबाट सिक्ने/सिकाउने वातावरण बनाउन भनिएको शिक्षा शाखा संयोजक पाण्डेले बताए ।  

गाउँपालिकाले शिक्षकलाई कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि स्वयंसेवकको रुपमा पनि कार्य गर्ने/गराउने, कोभिड–१९ सम्वन्धी केही सूचना भए तत्काल गाउँपालिकाको हेल्थडेस्कलाई जानकारी गराउन निर्देशन दिएको जनाएको छ ।

प्रकाशित: २४ वैशाख २०७८ १४:०४ शुक्रबार

वैकल्पिक शिक्षण व्यवस्था कोरोना भाइरस