शिक्षा

राष्ट्रपति शैक्षिक सुधारका लागि डोल्पाका १८ विद्यालय छनौट

डोल्पाका विभिन्न स्थानीयतहमा रहेका १८ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट भएका छन्। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यन्वयन कार्यविधि २०७६ अनुसार परियोजना माग गरेका विद्यालयहरु छनौटमा परेका हुन्।  

आर्थिक वर्ष २०७७/०७८ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट भएका विद्यालयहरुमा ठुलीभेरी नगरपालिका भित्र पर्ने सरस्वती मावि दुनै, लक्ष्मी मावि थरगाउँ, बाबिरो आधारभूत विद्यालय मोतिपुर, गौरी आधारभूत विद्यालय डागीबाडा छन्।  

यस्तै त्रिपुरासुन्दरी नगरपालिका भित्र पर्ने सरस्वती मावि सुँ, त्रिपुराकोट मावि मद्धु, त्रिपुरा मावि काटियाचौर, मुकुटेश्वर मावि फुल्चीगँ, प्रकाश निमावि रंग छनौटमा परेका छन्।  

काईके गाउँपालिका भित्र पर्ने अरनिको मावि शहरतारा, मुनाल आधारभूत विद्यालय लावन, भेरी आधारभूत विद्यालय बैजिवारा छनौटमा परेका छन्।  

यसैगरि उपल्लो डोल्पामा पर्ने छार्काताङसोङ गाउँपालिकाका जनजाग्रीत आधारभूत विद्यालय शेरी, पुथा आधारभूत विद्यालय पीम्री, सुनगाभा आधारभूत विद्यालय तेराङ डोल्पोबुद्ध गाउँपालिकाको क्रिष्टल माउन्टेन मावि धो छनौटमा परेको शिक्षा विकास तथा समन्वय ईकाइ डोल्पाका निमित्त प्रमुख दलबहादुर बस्नेतले जानकारी दिए। प्रमुख बस्नेतका अनुसार तल्लो डोल्पामा रहेको जगदुल्ला गाउँपालिकाका महादेव आधारभूत विद्यालय माझगाउँ र त्रिपुरा मावि काईगाउँ छनौटमा परेका छन्। ईकाइ प्रमुख बस्नेतले डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाले कार्यक्रम माग गरेपनि छनौट नभएको र मुड्केचुला गाउँपालिकाले परियोजना माग नै नगरेको बताए।  

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम छनौटमा परेका विद्यालयहरुले आवश्यकता माग अनुसार काम गर्नुपर्ने हुन्छ। कार्यक्रम संचालनको लागि अवको केही दिनभित्र प्रत्यक स्थानीय तहहरुमा कार्यक्रम अनुसार रकम निकासा हुने निमित्त ईकाइ प्रमुख दलबहादुर बस्नेतले बताए।

प्रकाशित: १० वैशाख २०७८ १४:०२ शुक्रबार

राष्ट्रपति शैक्षिक सुधार डोल्पाका १८ विद्यालय छनौट