शिक्षा

विद्यार्थीमा संक्रमण, अभिभावकलाई जोखिम

नमूना परीक्षण गर्दा विद्यार्थीमा संक्रमण भेटियो

तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीको तालबेसी माविमा संचालित पठनपाठन । फाइल तस्बिरः नागरिक

पोखराको चल्तीको एउटा स्कुलका विद्यार्थीमा कोरोना भाईरस परीक्षण गर्दा ३ जना बालबालिका र २ जना शिक्षकमा संक्रमण पुष्टि भयो । चल्तीको अर्काे एउटा विद्यालयका विद्यार्थीमा पनि संक्रमण देखिएको छ । परीक्षणका लागि संकलन गरिएका सबै नमूनाको रिपोर्ट आईसकेको छैन । दैनिक डेढसय हाराहारीमा विद्यार्थीको नमूना संकलन गरेर परीक्षण थालिएको छ ।  

स्कुले विद्यार्थीमा देखिएको संक्रमणले कोरोना भाइरस साना उमेरका बालबालिकामा पनि देखिएको पुष्टि भएको स्वास्थ्यकर्मीले बताएका छन् । कम उमेरका बालबालिकामा संक्रमण फैलिँदा सचेत हुनुपर्ने अवस्था आएपनि बाहिरी माहोल भने झनै कमजोर बन्दै गएकोले स्वास्थ्यकर्मीले सचेत हुन आग्रह गरिरहेका छन् । विद्यालय तहमै संक्रमण फैलिनु झनै जोखिमपूर्ण रहेको उनीहरुको भनाई छ । पछिल्लो समय गण्डकी प्रदेशमा पनि सक्रमण बढिरहेको स्वास्थ्य निर्देशनायले बताएको छ । कास्कीमा मात्र अहिले ३ सय भन्दा बढि संक्रिय संक्रमित छन् । प्रदेशमा अहिले ४ सय बढी संक्रमित रहेको निर्देशनालयले बताएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षण नवराज शर्माले विद्यालयका बालबालिकामा कोरोना फैलिएको छ की छैन भनेर नमूना संकलन गरेर परीक्षण गर्न थालिएको बताए । ‘विद्यार्थीमा नमूना परीक्षण गर्दा संक्रमण फैलिएको पुष्टि भएको छ,’ शर्माले भने, ‘स्कुले बालबालिकामा संक्रमण फैलिनु जोखिमको संकेत हो ।’ दोश्रो लहरको संक्रमण सर्वत्र फैलिएको भन्दै चिकित्सकले सुरक्षित हुन सुझाएपनि यहाँ सबै विद्यालय पहिलेकै आकारमा संचालनमा छन् । विद्यार्थीतहमै संक्रमण फैलिनुले घरघरमा पनि जोखिम निम्तिने शर्माले बताए ।  

‘दैनिक डेढसयदेखि दुईसयजना बालबालिकाको नमूना संकलन गरेर परीक्षण थालेका छौ । केही विद्यार्थीमा संक्रमण पुष्टि पनि भईसकेको छ,’ उनले भने, ‘यो गतिलो संकेत होइन, अवस्था जटिलतातर्फ उन्मुख हुन थालेको छ ।’ विद्यालयतहमा धेरै विद्यार्थी एकैठाउँ भेला हुने भएकोले बास्तविक अवस्था थाहा पाउन ‘मास टेस्टिङ’ सुरु गरेको उनले बताए । ‘केहीदिन अघि एउटा बालगृहका बालकहरुमा पनि संक्रमण देखिएको थियो । बाहिरी बजारमा कम आउजाउ गर्ने बालकहरुलाई संक्रमण हुनुले बालबालिकास्तरमा फैलिएको पुष्टि हुन्छ,’ उनले भने । बजारमा हेलचेक्रयाँइ पनि अधिक नै बढेको उनले बताए ।

‘बिहान घरबाट निस्कँदा लगाएको मास्क बेलुकी फर्किदा अर्कै रंगको हुन्छ । बालबालिकाले मास्क नै साटासाट गर्छन, त्यसैले पनि जोखिम छ भन्ने बुझिन्छ,’ उनले भने, ‘बालकालिकामा संक्रमण बढ्नु भनेको घरघरमा पनि फैलिनु हो ।’ पोखरामा सबैतिरका मान्छेको आउजाउ हुने हुँदा संक्रमण फैलिन सघाएको उनले बताए । त्यसबाहेक सर्वसाधारणले मास्क पनि लगाउन छाडेका छन् ।  

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्मा पनि विद्यालय तहमा संक्रमण फैलिन थालेपनि सम्झौता गर्न नसकिने बताउँछन् । ‘जीवन रहे जगत चल्ने हो । स्कुलसँग सम्झौता गर्दैनौ,’ निर्देशक शर्माले भने, ‘विद्यालय नै कोरोनाको हटस्पट हुने खतरा बढेको छ । त्यही अनुसार सुरक्षाका विधि अपनाउनुपर्छ ।’ उनले विद्यालयको पठनपाठन नै बन्द गर्नुपर्ने अवस्था आए अटेर गर्न नहुने बताए । ‘स्कुल बन्द गर्नु हुँदैन भने बालहठ गर्न सकिन्न । बच्चामा संक्रमण बढ्दै गयो जटिलता बढ्छ,’ उनले भने, ‘बुढ्यौलीका अभिभावकलाई बालबच्चामार्फत जोखिम निम्त्याएका छौ ।’ प्रदेशलाई सुरक्षित बनाउने हो भने स्कुलको पठनपाठन नै रोक्नुपर्ने गरि महंगो निर्णय गर्ने उनले बताए ।  

विद्यालय संचालक भने तत्काल पठनपाठन बन्द गर्ने पक्षमा छैनन । निजी तथा आवासीय विद्यालयको छाता संस्था (प्याब्सन)कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्माले तत्कालका लागि विद्यालय बन्द नगर्ने र केहीदिन पर्खिन सकिने अवस्था रहेको बताए । ‘कुनैकुनै विद्यालयमा समस्या देखियो भने तत्काल बन्द गर्नुपर्ने अवस्था आउन सक्छ । त्यो बेलाका लागि वैकल्पिक विधि अपनाउने तयारी पनि छ,’ उनले भने, ‘तर, अहिल्यै सबै विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको देएिको छैन ।’  

उनका अनुसार पोखरा भित्रका ३ हजार विद्यार्थीको कोरोना परीक्षण गर्ने तयारी भएको छ । विद्यालय संचालकले सबैखाले पठनपाठन बन्द गर्ने नभई सतर्कता अपनाउनुपर्नेमा तयारी गरेको उनले बताए । ‘लामो समय विद्यालय बन्द गर्दा विद्यार्थीमा परेको असर छ । एउटा समस्या सल्टाउँदा धेरै अप्ठेरो आइपरेको छ,’ उनले भने, ‘कोरोनाको भन्दा अरु बढि क्षति बाहिरबाट हुन सक्छ । त्यसैले सुरक्षाका विधि अपनाएर विद्यालय संचालन गर्ने हो । एकाध विद्यालय वा कक्षाकोठामा समस्या आए त्यो विद्यालय वा कक्षामा केहीदिन पठनपाठन रोक्न सकिन्छ ।’ 

प्रकाशित: २ वैशाख २०७८ १०:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App