शिक्षा

शिक्षामा चुनौती र उपलब्धि

वर्ष समीक्षा

२०७७ को सुरुवातीदेखि अन्त्यसम्म नै कोरोना महामारीको त्रासमा बित्यो । अझै यो त्रास कहिलेसम्म चल्ने हो कुनै टुंगो नै छैन । गत वर्ष चाइनाबाट अध्ययन गरी नेपाल फर्केका एक विद्यार्थीमा पहिलो पटक कोरोना भाइरसको पुष्टि भएसँगै यो त्रास नेपालमा जनमानसमा बढ्यो । कोरोना भाइरसको महामारीले शिक्षालगायत मानव जीवनको हरेक पक्षलाई उल्लेखनीय रूपमा बाधा पुर्‍याएको छ ।

भाइरसको डरलाग्दो प्रसारणका कारण शैक्षिक प्रणालीमा नकारात्मक असर पर्‍यो । जसकारण गत वर्ष चैतको पहिलो सातादेखि लकडाउन सुरु भयो । विद्यालय क्षेत्र पूर्ण रूपमा बन्द भए । ६ महिनासम्म विद्यालय तथा समग्र शैक्षिक क्षेत्रमा कुनै पनि शैक्षिक क्रियाकलाप अघि बढ्न सकेन । दुई सातायता पुनः कोरोना भाइरसको दोस्रो लहर सुरु भएको छ । यसकारण बुधबारदेखि सुरु हुने २०७८ को सुरुवात पनि शिक्षा क्षेत्रमा सन्तोषजनक देखिएको छैन । माघ ४ गतेदेखि विद्यालयले पूर्णकालीन विद्यालय सञ्चालन गरे पनि नयाँ वर्षको सुरुवातसँगै कोरोना संक्रमणको जोखिम बढ्दै गएको देखिएकाले फेरि विद्यालय कहिले बन्द हुने हुन् भन्न नसकिने अवस्था छैन ।

विद्यालयहरू पूर्णकालीन खुले पनि स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्डहरू विद्यालयमा नअपनाउँदा यस पटकको महामारी विद्यालयका बालबालिकामै बढ्दो छ । स्वास्थ्य मन्त्रालयकै अनुसार यस पटकको मोरोना जोखिमको सिकार १८ वर्षमुनिका बालबालिका बढी छन् । दुई सातायता कोभिड संक्रमणको जोखिम बढ्दै गएको छ । विशेष गरी यस पटकको संक्रमण बालाबालिकामा देखिन थालेपछि सबै सरोकारवाला बालबालिकालाई कोरोना संक्रमणबाट जोगाउने उपायबारे गहन छलफलमा जुटेका छन् । विद्यालय तहका बालबालिकाले मास्कसमेत साटासाट गरेको र एउटै बोतलबाट साथीसाथीले जुठो गरी पानी पिउने गरेको पाइएको छ ।

विद्यालय सञ्चालक, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, महानगरपालिका, शिक्षक, विद्यार्थी, अभिभावकलगायत सबै सरोकारावाला जोखिम न्यून गर्ने उपायबारे छलफलमा जुटेका छन् । युनेस्कोको एक रिपोर्टअनुसार १७१ देशका १.६ अर्ब बालबालिकालाई शैक्षिक संस्थाहरू अस्थायी रूपमा बन्द भएपछि गम्भीर असर परेको छ । नेपालको सन्दर्भमा विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षामा अध्ययनरत ९० लाख विद्यार्थी कोभिड–१९ त्रासका कारण घरमै बस्नुपर्ने बाध्यता बन्यो ।  

चाइनाको बुहानबाट फैलिएको कोरोना भाइरस नेपालमा माघ ७ गते चाइनाबाटै अध्ययन गरी नेपाल फर्केका एक विद्यार्थीमा पहिलो पटक देखा परेको थियो । त्यसपछि चैत ११ गतेदेखि सुरु भएको लकडाउन भदौसम्म रह्यो । बालबालिकाहरू घरमै थुनिनुपर्दा उनीहरूको सिकाइमा नकारात्मक असर पर्र्नेदेखि डिप्रेसनसम्मको समस्या देखा पर्न थल्यो ।

संकटको अवस्थामा विद्यालयहरूले विभिन्न वैकल्पिक माध्यमहरू प्रयोग गरी बालबालिकालाई केही हदसम्म घरबाटै शिक्षा उपलब्ध गराउने नयाँ अभ्यासहरू गरे । चैतमा तय गरिएको परीक्षा ६ महिनापछि धकेलियो, कक्षा ११ र १२ का परीक्षा ८ महिनापछि धकेलिए भने विश्वविद्यालयका परीक्षासमेत ६ महिनापछि धकेलिए । यसकारण नेपालका विद्यालयदेखि विश्वविद्यालयसम्मका सम्पूर्ण शैक्षिक गतिविधिमा ६ महिनासम्म पूर्णविराम नै लाग्यो । यस प्रभावलाई कम गर्नका लागि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बालबालिकाको सिकाइलाई निरन्तरता दिन असारदेखि विभिन्न निर्देशिका जारी गरी विद्यार्थीलाई शैक्षिक गतिविधिसँग जोड्न हरेक प्रयास गर्‍यो ।

मन्त्रालयले असारदेखि भदौ अन्तसम्म वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका २०७७, पाठ्यक्रम संकुचन गरी पाठ्यक्रम समायोजन कार्यढाँचा र विद्यालय पुनःसञ्चालन कार्यढाँचा नै जारी गरी विद्यालयको शैक्षिक गतिविधिसँग बालबालिकालाई जोडेकाले बालबालिकाहरूको शैक्षिक क्रियाकलाप अघि बढाउन केही सहज बने पनि वैकल्पिक माध्यमहरू प्रयोग गरी अघि बढ्न सुरुमा कठिनाइ भएको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलको अनुभव छ । केही नगर्न भन्दा केही गर्नु ठिक भन्ने विचारका साथ निर्देशिकामै टेकेर विद्यालयहरूले आन्तरिक, परीक्षा, विद्यार्थी भर्ना अनलाइनबाटै गरे । फरकफरक समयमा विद्यार्थीलाई स्कुलमै बोलाएर किताब वितरणसम्म गर्न भ्याए । तर कक्षा अनलाइनबाट सञ्चालन गर्न समस्या आयो । मोबाइल, नेट, कम्प्युटर ल्याबटबलगायत सबैसँग पहुँच नभएकाले पनि विद्यार्थीलाई अनलाइन जोड्न समस्या भयो । उनका अनुसार २०७७ शिक्षा क्षेत्रमा सन्तोषजनक नहरे पनि शिक्षक, अभिभावक र विद्यार्थीको हकमा भने प्रविधिसँग जोडिने अवसर मिल्यो ।  

‘२०७७ शिक्षा क्षेत्रका लागि राम्रो रहेन,’ प्रधानाध्यापक कँडेलले नागरिकसँग भने, ‘एसइई परीक्षा, कक्षा ११ र १२ का परीक्षा ८ महिनापछि धकेलिए । २०७८ सालको शैक्षिका सत्र नै दुई महिना पछि पर्‍यो ।’ उनले थपे, ‘ सबै कठिनाइका बाबजुद विद्यालयहरूले म्यासेन्जर, भाइबर, ह्वाट्एप, रेडियो, टिभी, गुगल कक्षा, जुम, माइक्रोसफ्ट कक्षालगायत प्रविधि प्रयोग गरी पठनपाठन गराए । यो उपलब्धिको रूपमा लिनुपर्छ ।’

कोरोना महामारीबीच पनि सरकारले बालबालिकाको सिकाइलाई निरन्तरता दिन भनेर प्रयास गरिरह्यो । मन्त्रालयले पछिल्लो समयमा विद्यालय पुनःसञ्चालन कार्यढाँचा र पाठ्यक्रम समायोजन कार्या ढाँचा जारी गरी विद्यालय सञ्चालन र खोल्ने अधिकार स्थानीय सरकारलाई दियो । जसले गर्दा धेरै पालिकाले स्थानीय सरकारसँगको समन्वयमा अनलाइन शिक्षा सुरु गरे । जोखिम कम भएका स्थानका विद्यालयले भने विद्यार्थीको भौतिक उपस्थितिकै आधारमा आलोपालो विद्यालय सञ्चालन गरे । यो महामारीले शिक्षक, विद्यार्थी र अभिभावकलाई प्रविधिसँग जोड्ने काम गरेको डिल्लीबजारस्थित पद्मकन्या माविकी प्रधानाध्यापक रिता तिवारीको अनुभव छ ।

मन्त्रालयले जारी गरेको निर्देशिका शैक्षिक संस्थाहरूले विद्यार्थी, शिक्षक, प्रबन्धकहरू र अभिभावकहरूका लागि विकल्पहरूको दायराका साथ उनीहरूका लागि उपलब्ध संसाधन, स्रोत, स्वाध्ययन सामग्री र मानव संसाधन दुवैको आधारमा विभिन्न सन्दर्भमा शैक्षिक संस्थाले बन्दको विकल्प अपनाएर शैक्षिक गतिविधि अघि बढाएको ललितपुर सानेपास्थित रेडियन रिडर्स माविका संस्थापक प्रिन्सिपल डिके ढुंगानाले बताए ।

धेरैजसो विकल्पले कम्तीमा शैक्षिक निरन्तरताका केही नवीन

नवीन टेक्नोलोजीहरू (उदाहरणका लागि डिजिटल र मोबाइल टेक्नोलोजीहरू जस्तै रेडियो र टिभीजस्ता परम्परागत टेक्नोलोजी) सम्मिलित प्रविधि प्रयोग गरी बालबालिकाको शिक्षण सिकाइ गराए । ‘कोरोना महामारीले शिक्षा क्षेत्रमा चुनौतीका साथै शिक्षालाई नयाँ ढंगले अघि बढाउने अवसर दियो । गुगलकक्षा, म्यासेन्जर, भाइबर, जुम कक्षा, ह्वाट्स एप प्रयोग गरी शिक्षक र विद्यार्थी प्रविधिमैत्री बने,’ प्रिन्सिपल ढुंगानाले भने, ‘विद्यार्थीसाथै अभिभावकहरू पनि प्रविधिसँग जोडिए ।’ उनले गुनासो गरे, ‘निजी क्षेत्र प्रभावित बन्यो । तापनि हामीले सिकाइलाई अघि बढायौं ।’

यति हुँदाहुँदै पनि दूरशिक्षा र अनलाइन शिक्षा इन्टरनेट र वाइफाईसहित टेक्नोलोजिकल सुविधामा निर्भर भएकाले सरकारी र निजी विद्यालयबिच नै पनि उनीहरूको उपलब्धतामा रहेको असमानताले गर्दा शिक्षाको पहुँच र गुणस्तरमा अन्तर बढाउँदै गएको छ । दूरदराजमा रहेका सरकारी र निजी दुवै विद्यालयका विद्यार्थीको पहुँचमा अनलाइन शिक्षामा अझै पुग्न सकेको छैन भने सहरी क्षेत्रका बालबालिकाको कोर्स पूरा हुन लागेको छ । कतिपय सहरी क्षेत्रका विद्यालयले कुनै पनि सुविधाको पहुँच नभएका बालबालिकालाई विद्यालयमै बोलाएर पठनपाठन गराउँदै आएका छन् । त्यस्तै कतिपय विद्यालयले आलोपालो गरी भौतिक उपस्थितिकै आधारमा स्थानीय सरकारसँग सहकार्य गरी विद्यार्थी उपस्थितिकै आधारमा कक्षा चलाइरहेका छन्।

महामारीमा बालबालिकाहरू घरमै बस्नुपर्दा उनीहरूले केही सृजनात्मक काम पनि आफ्ना अभिभावकबाट सिकेको कालिमाटीस्थित निलबाराही विद्यालयकी प्रधानाध्यापक जानुका नेपालको भनाइ छ। सरकारी विद्यालयका अभिभावक पनि प्रविधिसँग जोडिएको र आफ्ना नानीको शिक्षासँग लगाव बढेको उनको अनुभव छ। ‘विगतमा अभिभावक मिटिङमा नआउने अभिभावकहरू अनलाइन कक्षामा फोनबाटै जोडिनुभयो, नानीबाबुले कति सिके, के सिके, गृहकार्यबारे निकै रुचि राख्नु भएको छ।’ उनले थपिन्, ‘यसका साथै नानीबाबुले परिवारका साथ बसेर हजुरआमाहजुरबुवा, आमाबुवासँग व्यावहारिह र नैतिक ज्ञान सिकेका छन्। खाना पकाउने, परिवारलाई काममा सघाउने जस्ता व्यावहारिक र सृजनात्मक क्षमताको विकास गरेको छ।’

विश्वविद्यालयहरूले पनि अनलाइनबाटै पठनपाठन गराएर अनलाइनबाटै परीक्षा सञ्चालन गर्दै आएका छन् । कक्षा १२ को परीक्षाको सफलतापछि त्रिविले हालै स्नातक चौथो वर्षको परीक्षा विद्यार्थी उपस्थितिकै आधारमा नजिकैको जुनसुकै केन्द्रमा प्रवेशपत्रको आधारमा परीक्षा सञ्चालन गरेको छ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले अझै पनि कोरोना महामारीको जोखिम कम नभएको अवस्थामा विद्यालयलाई कसरी निरन्तरता दिइनेबारे मन्त्रालयमा छलफल भइरहेको जनाए । ‘अब विद्यालय बन्द हुँदैनन् । बन्द कोरोना जोखिमबाट बच्ने उपाय होइन,’ प्रवक्ता शर्माले भने, ‘त्यही भएर मन्त्रालयले सरोकारावालासँग छलफल जारी गरेको छ । नयाँ शैक्षिक सत्र सुरक्षाको मापदण्ड अपनाएर विद्यालय सञ्चालन हुन्छ।’

स्वास्थ्य मन्त्रालयका अनुसार दुई सातायता १८ वर्षमुनिका २ सय ७१ बालाबालिका संक्रमित बनेका छन् । स्वास्थ्य मन्त्रालयअन्तर्गतका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले दुई सातायता १८ वर्षभन्दा मुनिका कोरोना संक्रमित बालबालिका २ सय ७१ रहेको जनाए । उनका अनुसार चैत १४ गतेदेखि २९ गतेसम्म ३ हजार ४ सय ५ लाई कोरोना संक्रमण देखिएको थियो। जसमध्ये १८ वर्षमुनिका २ सय ७१ बालबालिका संक्रमित रहेका छन्।

‘यसअघि अस्पतालको आइसियुमा भर्ना हुनेहरू ५० वर्ष र त्यसमुनिकाहरू बढी हुन्थे तर यो पटकको कोरोना जोखिम बढेसँगै १८ वर्षमुनिका बालबालिका आइसियुमा भर्ना भएका छन्,’ डा. पौडेलले नागरिकसँग भने, ‘यी बालबालिकामा युके भेरियन्ट देखिएको छ । जोखिम पनि यो समूहमा बढी छ।’ उनले थपे, ‘त्यही भएर अब हाम्रो फोकस विद्यालयमा केन्द्रित छ । विशेष गरी कक्षा ८ सम्मका बालाबलिकामा साइलेन्ट केरियर दर बढी पाएको छ।’

मन्त्रालयका महानिर्देशक वैकुण्ठ अर्यालले २०७७ मा शिक्षा क्षेत्रले चुनौती र अवसर दुवै अनुभव गरेको बताए। ‘कोभिडले शिक्षा क्षेत्रमा पेसागत संगसंगठनलाई प्रविभिमैत्री बन्न र शिक्षकहरूलाई अनिवार्य प्रविधिमैत्री बनाउन तालिम नै सञ्चालन गर्‍यो,’ अर्यालले अनुभव सुनाए, ‘शिक्षकहरूको पेसागत क्षमतामा अभिवृद्धि भयो । महामारीमा पनि बालबालिकाको शिक्षण सिकाइलाई निरन्तरता दिन क्षमता बढ्यो । कम्प्युटर खोल्नसमेत नजान्ने शिक्षक, कर्मचारी र विद्यार्थीलाई अनलाइन कक्षा सञ्चालन र पढ्न पढाउन सक्षम बनायो।’

प्रकाशित: १ वैशाख २०७८ ०३:४८ बुधबार

शिक्षामा चुनौती उपलब्धि