शिक्षा

बुर्काभित्रका सपनाहरू

बाराको जितपुरस्थित मदिना एकेडेमीमा अध्ययनरत मुस्लिम समुदायका विद्यार्थी। तस्बीर : उपेन्द्र/नागरिक

वीरगन्ज–३२ परसवाकी गुलाब्सा खातुन बाराको जितपुरस्थित मदिना एकडेमीमा कक्षा ४ मा अध्ययन गर्दैछिन्। कालो बुर्कामा सजिएर विद्यालय जाँदै गरेकी उनले भविष्यमा डाक्टर बन्ने चाहना व्यक्त गरिन्। ‘डाक्टर बन्ने रहर छ,’ घुम्टोभित्रैबाट उनले भनिन्, ‘त्यसैले उर्दू अरबीसँगै अंग्रेजी, विज्ञान र गणित पनि पढ्दैछु।’ परिवारको चाहनाअनुसार बुर्का लगाएर उर्दू सिक्दै गरेकी उनले आफ्नो रहर पूरा गर्न आधुनिक शिक्षाको सहारा लिएको सुनाइन्।

गुलाब्सासँगै रहेकी सफिना खातुनले पनि इन्जिनियर बन्ने सपना पालेकी छन्। ‘विद्यालय, पुल र सडक बनाउने रहर छ,’ उनले भनिन्, ‘हामी मेहनतका साथ पढिरहेका छौं।’ कालो बुर्का लगाए पनि समाजमा अगाडि बढ्न केही बाधा नहुने उनको बुझाइ छ। ‘हामीलाई अरूले पो नदेख्ने हो,’ उनले हाँस्दै भनिन्, ‘बुर्काभित्रबाट हामी बाहिरको दुनियाँ सहजै दैख्छौं।’ जितपुर टेढाकी फुलनाज खातुनको भने शिक्षिका बन्ने रहर छ। आफ्नो समाजमा शिक्षाको निकै जरुरत रहेको बताउँदै उनले पढाउने रहर निकै भएको बताइन्। 

‘समाजमा अझै पनि विद्यालय नजाने थुप्रै छन्,’ उनले भनिन्, ‘उनीहरूलाई घरघर गएर भए पनि पढाउनु जरुरी छ।’ मदिना एकडेमीका शिक्षिका रिजुवाना खातुन विद्यार्थीलाई परम्परागत ज्ञानसँगै आधुनिक शिक्षा पनि दिने आफूहरूको उद्देश्य रहेको सुनाइन्। ‘बुर्काको विरोध गर्नुभन्दा आधुनिक शिक्षा दिनु राम्रो लाग्यो,’ सामाजिक शिक्षिका खातुनले भनिन्, ‘कपडाको बुर्काभन्दा अशिक्षाको बुर्का झनै खतरनाक हुने हामीले बुझेका छौ।’  

बारा र पर्साका ग्रामीण भेगका थुप्रै मुस्लिम बालिका अझै पनि विद्यालयबाट परै छन्। गरिबी र अशिक्षाका कारण उनीहरू बुर्काभित्रै रहन बाध्य छन्। पछिल्लो समय समाजको परम्परागत सोच र अहिलेको आवश्यकतालाई महसुस गरेर मदिना एकडेमीजस्ता विद्यालय खुल्ने क्रम बढेको छ। ‘यस्ता विद्यालय गाउँगाउँमा पुर्‍याउनु जरुरी छ,’ फरियाद अन्सारी भन्छन्, ‘तब मात्र मुस्लिम किशोरीहरू आफ्नो संस्कार जोगाउँदै शिक्षाको उज्यालोमा रमाउनेछन्।’

प्रकाशित: ४ पुस २०७७ ०२:२७ शनिबार