शिक्षा

दरबार हाइस्कुलमा विद्यार्थीको आकर्षण बढ्यो

दरबार हाइस्कुलमा बालबालिकासहित भर्ना गर्न पुगेका अभिभावक । तस्बिर : रुबी/नागरिक

काठमाडौंको केन्द्रमा रहेको दरबार हाइस्कुलमा बुधबार पुग्दा अभिभावकहरू छोराछोरी भर्ना गराउन तछाडमछाड गरिरहेका थिए। कोरोना भाइरस कहरमा पनि नेपालको पहिलो दरबार हाइस्कुलमा भौतिक रूपम अभिभावक उपस्थित भएर बालबालिका भर्ना गराउनु मुख्य कारण अत्याधुनिक भवन हो। २०७२ सालको भूकम्प कारण क्षति पुगेको उक्त स्कुल चीन सरकारको ८५ करोड ५९ लाख ५० हजार लगानीमा अत्याधुनिक र आकर्षक भौतिक पूर्वाधारसहित तयार भएपछि विद्यार्थी र अभिभावकको आकर्षण बढेको हो।  

विगतमा शिक्षकहरूले विद्यार्थीको भर्नाका लागि घरदैलो र निःशुल्क भर्ना गर्छौंंभन्दा पनि अभिभावकको रोजाइमा पर्दैन्थ्यो। अहिले भने अवस्था फरक रहेको स्कुलले जनाएको छ। स्कुलमा पुग्दा लेखाप्रमुख सुदीप वाग्लेसँग रौतहटका दिनानाथप्रसाद साहले आफ्ना चार सन्तानको भर्ना गराउनको लागि अनुरोध गरिरहेका थिए। लेखाप्रमुख वाग्लेले विद्यार्थीको भर्ना प्रक्रियाबारे सल्लाह दिए। साहले आफ्ना चार बालबालिका क्षेत्रपाटीमा रहेको अन्नपूर्ण बोर्डिङ स्कुलमा पढाइरहेको बताउँदै अत्याधुनिक दरबार स्कुलको भवन र भौतिक पूर्वाधार देखेर निजीबाट निकालेर यहाँ पढाउन ल्याएको बताए।

‘नयाँ स्वरूपमा तयार भएको दरबार हाइस्कुल नेपालकै राम्रो स्कुल बनेको लाग्छ,’ साहले भने, ‘मेरा तीन छोरा र एक छोरीलाई निजीबाट निकालेर यो वर्ष दरबार स्कुलमा भर्ना गराउन ल्याएको हुँ। उनले छोराछोरीलाई १, ३, ६ र ८ कक्षामा भर्ना गराएका छन्। सबै सरकारी स्कुल यस्तै भए अभिभावकलाई सहज हुने उनको भनाइ थियो।  

अर्को अभिभावक सीता सिग्देल पनि छोरालाई निजी विद्यालयबाट छुटाएर दरबार स्कुलमा भर्ना गराएकी छिन्। उनको छोरा कालिमाटीको जुविल्यान्ड स्कुलमा कक्षा ४ मा पढ्थे। ‘थोरै शुल्कमा गुणस्तरीय शिक्षा पाउने भएपछि निजी स्कुलबाट दरबार हाइस्कुलमा ल्याएकी हुँ,’ उनले भनिन्, ‘पढाइ पनि निजी जस्तै अंग्रेजी माध्यमबाटै छ। कक्षा ५ मा भर्ना गराएँ। आफ्ना छोरालाई भर्ना गरे वापत पाँच सय रूपैयाँ सहयोग शुल्क मात्रै तिर्नुपर्ने रहेछ।’

रानीपोखरीको छेउमै ९ रोपनी ३ आना क्षेत्रफलमा बनेको अत्याधुनिक भवन निकै सुन्दर छ। चारतले भवनभित्र ४६ कोठा छन्। कक्षा कोठा पनि निकै उज्यालो आधुनिक छन्। लेखाप्रमुख वाग्लेकाअनुसार गत वर्षहरूमा सय विद्यार्थी पनि मुस्किलले पुग्ने स्कुलमा अहिले भने करिब तीन सय विद्यार्थी भर्ना भइसकेका छन्। अभिभावकहरू अझै पनि भर्नाका लागि आउने गरेको बताइएको छ। प्रधानाध्यापक अखिलेश आजादले स्कुलको सुविधा सम्पन्न, सुन्दर भवन साथै शैक्षिक गुणस्तर वृद्धि गर्न आधारभुत तह (शिशु कक्षादेखि ८ सम्म)मा अंग्रेजी माध्यमबाट पढाइ यो वर्षदेखि सुरु गरिएको जनाए।

‘हामीले आधुनिक र सुविधासम्पन्न भवनका साथै शैक्षिक गुणस्तर वृद्धि गर्न प्रमुख रूपमा लागेका छौं,’ प्रअ अजादले भने, ‘कक्षा ९ र १० मा अंग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुन्छ। यो वर्ष धेरै विद्यार्थीहरू निजी स्कुल छाडेर यहाँ भर्ना भएका छन्।’ अगामी शैक्षिक सत्रसम्म ६ सय विद्यार्थी भर्ना हुने उनको विश्वास छ। एउटा कक्षा कोठामा ३६ जना विद्यार्थी मात्रै भर्ना गर्ने प्रअ अजादले बताए।  

सोही भवनमा संस्कृत मावि पनि चलेको छ। यो वर्ष संस्कृत धारमा पनि विद्यार्थी आकर्षण बढेको प्रधानाध्यापक शिवराज अधिकारीले बताए। ‘यस पटक संस्कृत धारमा विगतकोभन्दा आकर्षण छ,’ उनले भने, ‘कक्षा ६ देखि १२ सम्म सञ्चालित हाम्रो स्कुलमा यस वर्ष ३ सय १४ जना विद्यार्थी भर्ना भएका छन्। आधुनिक भावनसँगै संस्कृतधारतर्फ पनि गुणस्तर वृद्धिमा हाम्रो जोड छ।’

प्रकाशित: ३ पुस २०७७ ०२:०० शुक्रबार

दरबार हाइस्कुल विद्यार्थीको आकर्षण