शिक्षा

आठ महिनापछि खुले बाँकेका विद्यालय

विद्यालयमा पुग्दा विद्यार्थी हर्षित

कोरोना भाइरस महामारीका कारण ८ महिनापछि खुलेको विद्यालय जादै राप्तीसोनारी–५ बिनौनाका विद्यार्थी । तस्बिर : अर्जुन/नागरिक

कोरोना भाइरस(कोभिड–१९) महामारीले बन्द भएको आठ महिनापछि पहिलो पटक विद्यालय पुग्दा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ बिनौना बाँकेकी करिस्मा थारु आइतबार हर्षित भईन्। विद्यालयमा पहिलो पाईला टेक्न पाउँदा उनको मन खुसीले फुरुङ्ग भयो। महामारीका कारण गत चैत महिनाबाट विद्यालय बन्द भएको थियो।  

कोरोना भाइरसको त्रास केही कम भएपछि नेपाल राष्ट्रिय माध्यामिक विद्यालय चिलहरिया कक्षा १० की छात्रा करिस्मा विद्यालय जान पाएकी हुन्। ‘विद्यालय बन्द भएको आठ महिनापछि साथीहरुसँगै बसेर बल्ल पढ्न पाइयो,’ उनले नागरिकसँग भनिन् ‘कोरोना भाइरसको महामारी छिटो हटे सधैं स्कुल जान पाईन्थ्यो।’ सोही विद्यालयकी छात्रा गायत्री थारु कक्षा ९ उतीर्ण भएपनि विद्यालयमा लामो समयसम्म जान पाएकी थिईनन्। उनले पनि आइतबार पहिलो पटक कक्षा कोठामा बसेर पढ्न पाईन्। विद्यालयमा पढ्न पाउँदा उनी पनि हर्षित भईन्।  

विद्यालयमा अब नियमित रुपमा साथीहरुसँगै बसेर पढ्ने उनको अपेक्षा छ। तर, कोरोना महामारीले नियमित रुपमा विद्यालय जान दिने होईन की भन्ने उनलाई डर छ। ‘धेरै समयपछि विद्यालय खुलेको छ, कोरोना महामारी बढिहाल्यो भने फेरि विद्यालय बन्द हुने त होईन, भन्न्ने डर लागेको छ,’ गायत्रीले भनिन्। विद्यालयले अनिवार्य मास्क लगाएर आउन भनेपनि आफूसँग मास्क नभएको उनले सुनाईन्।

राप्तीसोनारीका अधिकांस विद्यालय आइतबारबाट खुलेका छन्। केही विद्यालय खुल्ने तयारीमा छन्। राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ मा रहेको सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक ललित चौधरीले विद्यालय खुल्दा चहल–पहल बढेको बताए। ‘धेरै महिनापछि विद्यालय खुल्दा रमाइलो वातावरण देखियो,’ उनले भने।  

कोरोना भाइरस महामारीका कारण बन्द अवस्थामा रहेका बाँकेका विद्यालय आइतबारबाट सञ्चालनमा आउन थालिसकेका छन्। नेपालगन्ज उपमहानगरपालिका तथा राप्तीसोनारी र नरैनापुर गाउँपालिकाले आइतबार विद्यालय सञ्चालनमा ल्याइसकेका छन्। अन्य गाउँपालिका र नगरपालिका पनि क्रमशः सञ्चालन गर्ने तयारीमा रहेको शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख रामसुरेश यादवले बताए। ‘नेपालगन्ज उपमहानगरपालिका तथा राप्तीसोनारी र नरैनापुर गाउँपालिकाले आज(आइतबार)बाट विद्यालय सञ्चालन गरिसकेको जानकारी मलाई आएको छ, कोहलपुर नगरपालिकाले यही १७ गतेबाट सञ्चालन गर्ने सुनेको छु, अन्य गाउँपालिकाले पनि क्रमशः सञ्चालन गर्ने तयारी गरेका छन्,’ यादवले भने।  

सरकारले हालै तयार गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा २०७७’ अनुसार विद्यालयहरु सञ्चालनमा ल्याइएको हो। उक्त कार्यढाँचामा विद्यालय सञ्चालनका लागि विभिन्न ७ वटा विकल्प दिइएको छ। पढाई सञ्चालन गर्दा विद्यालयले विद्यार्थीका लागि अनिवार्य रुपमाा मास्कको ब्यवस्था गर्नुपर्ने, एउटा बेन्चमा २ जनाभन्दा बढी विद्यार्थी राख्न नपाइने, नियमित रुपमा साबुन पानीले हात धुन लगाउनुपर्ने लगायत मापदण्ड बनाइएको छ।

नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोरखबहादुर थापाले पढन–पाठन सुरु गर्न प्रस्ताव पठाएका विद्यालय आइतबारबाट सञ्चालनमा आएको बताए। ‘सरकारले तयार गरेको विद्यालय सञ्चालन कार्यढाँचा २०७७ अनुसार प्रस्ताव तयार गर्न हामीले सम्बन्धित विद्यालयलाई निर्देशन दिएका थियौं,’ थापाले भने ‘जुन विद्यालयले प्रस्ताव तयार गरेर पठाए, ति विद्यालय सञ्चालनमा आएका छन्, अन्य विद्यालय पनि क्रमशः खुल्दै जानेछन्।’

राप्तीसोनारी गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पढाई सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिइएको र मापदण्ड पालना गरे÷नगरेको कुराको नियमित रुपमा अनुगमन गरिने बताए। ‘विद्यार्थीले अनिवार्य रुपष्मा मास्क लगाउनुपर्ने, एउटा बेन्चमा दुई भन्दा बढी विद्यार्थी बसाल्न नहुने, साबुन पानीको ब्यवस्था गर्नुपर्ने लगायत स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ,’ उनले भने ‘मापदण्ड पालना गरेको/नगरेको निरन्तर अनुगमन गर्ने कुरा भएको छ।’ राप्तीसोनारी गाउँपालिकाले विद्यार्थी संख्याको आधारमा पुरै र सिफ्ट अनुसार तहगत रुपमा कक्षा सुचारु गर्न विद्यालयलाई निर्देशन दिएको न्यौपानेले बताए।  

जिल्लाको नरैनापुर गाउँपालिकाले भने आइतबारबाट माध्यामिक तहका विद्यालय मात्र सञ्चालनमा ल्याएको छ। स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने निर्णय अनुसार पहिलो चरणमा आइतबारबाट माध्यमिक तहका विद्यालय खुलेको गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले बताए। उनका अनुसार पहिलो चरणमा लक्ष्मणपुरस्थित आदर्श माध्यामिक विद्यालय, मटेहियास्थित महेन्द्र माध्यामिक विद्यालय र भोजपुरस्थित जयकिसान माध्यामिक विद्यालयमा पठन पठान सुचारु भएको छ। ‘यि विद्यालयका माध्यमिक तह (कक्षा ९ देखि १२) को पढाई सुरु भएको छ,’ अध्यक्ष शाहले भने। सरकारको कार्यढाँचा अनुसार नै विद्यालय खोलिएको गाउँपालिकाका अध्यक्ष शाह बताउँछन्।

प्रकाशित: १४ मंसिर २०७७ १३:४८ आइतबार

कोरोना भाइरस विद्यालय