शिक्षा

गोरखाका सबै पालिकामा खुल्न थाले विद्यालय

गोरखाका सबैजसो पालिकामा विद्यालय खुल्न थालेका छन्। शिक्षा मन्त्रालयले बैकल्पिक सिकाई सहजिकरण गर्न निर्देशन गरेपछि विद्यार्थीलाई विद्यालयमै बोलाएर बाहेक अन्य तरिकाले सिकाउन समस्या हुँदा यहाँका दुर्गमदेखि सुगमसम्मका विद्यालय संचालन हुन थालेको छ।  

गोरखा सदरमुकामको नवज्योती मावि डण्डीडाँडाले एक दिनमा तीनवटा कक्षाका विद्यार्थीलाई विद्यालय बोलाएर पढाएको छ। पालुङटार नगरपालिकामामा पनि विद्यालय संचालनमा छन्। तिब्बतसँग सिमाना जोडिएको चुमुनब्री र सँगैको धार्चे गाउँपालिकादेखि तल्लो भेगका सबैजसो पालिकामा अधिकांश विद्यालय चलेका छन्।  

‘विद्यालयमा बोलाएर सिकाउने काम चलिरहेको छ’ चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठले भने, ‘विद्यालय खोल्न गाउँपालिकाले भनेको छैन, तर बैकल्पिक बाध्यामबाट सिकाउन दुर्गममा असहज हुने भएकाले विद्यालयमै बोलाउनुको बिकल्प छैन।’ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर स्थानीय शिक्षकहरुले सिकाईरहेको उनले बताए। धार्चे गाउँपालिकाका अधिकांश विद्यालय संचालनमा रहेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए। ‘कहिले सम्म विद्यालय बन्द गर्ने? सुरक्षित भएर चलाउछौँ भन्ने विद्यालयलाई हामीले हुन्छ भनेका छौँ’ उनले भने।  

धेरै संख्या भएको कक्षामा आलोपालो विद्यार्थी राख्ने, फरक÷फरक कक्षा बोलाउने गरेर विद्यालयले पढाइरहेका छन्। कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई सिकाईमा विद्यालयले जोड दिएको देखिन्छ। साबुन पानीले हात धुने, सबैलाई मास्क अनिवार्य गराउने गरिएको छ। ‘विद्यालय खुलेपनि पहिले जस्तो सबै कक्षा चलेको छैन, सबै विद्यार्थी छैनन्’ गोरखा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम बरालले भने, ‘थोरै विद्यार्थी रहेकाले जोखिम कम हुन्छ।’ विद्यालयलाई नै सिकाई केन्द्रको रुपमा केही ठाउँमा चलाइएको उनले बताए। 

गोरखा नगरपालिका भित्रका विद्यालयका कक्षामा २० जनासम्म राखेर, स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरेर ब्यवस्थापन समितिको निर्णय अनुसार चलाउन सक्ने गरी योजना बनाइएको उनले बताए। ‘हामी कसरी चलाउने भन्ने योजना बनाउदै छौँ’ बरालले भने, ‘केही दिनमा निर्णय गर्छौँ।’  

लामो समय बन्द विद्यालय संचालन भएपछि विद्यार्थी पनि उत्साहित छन्। गत चैत ११ गतेपछि बुधबार नवज्योती मावि डण्डीडाँडामा विद्यालय पढेर फर्कँदै गरेकी कक्षा १० कि कृति सिर्मलले भनिन्, ‘धेरै पनि विद्यालय जान पाइएको छ, सुरुदेखि पढाई चलेको छ, हप्तामा दुई दिन हामी पढ्छौँ।’

प्रकाशित: १४ आश्विन २०७७ ०९:३२ बुधबार