शिक्षा

विवादमा शिक्षक

शिक्षकले वडाध्यक्षलाई लेखेको पत्र ।

रोल्पा सदरमुकाम स्थित एक विद्यालयका प्रधानाध्यापकले वडा बिभाजनका लागि छलफल भन्दै जनप्रतिनिधिलाई पत्राचार गरेपछि विवादमा तानिएका छन्। भाद्र १६ गते रोल्पा नगरपालिका १० धवाङ सुर्य आधारभुत विद्यालयका प्रधानाध्यापक हरिबहादुर बुढाले कार्यबाहक वडा अध्यक्षलाई २०७७ भदौ १९ गते विद्यालयमा छलफलका लागि उपस्थित हुन भन्दै पत्राचार गरेका थिए।

विद्यालयमा पढाउनु पर्ने शिक्षकले आफ्नो काम कर्तब्य भुलेर राजनीति गर्न थालेको भन्दै कावा वडा अध्यक्ष जोतीलाल रोकाले रोल्पा नगरपालिकाको शिक्षा साखामा कारबाहीका लागि लेखि पठाएका छन्। आफ्नो क्षेत्र अधिकार भन्दा बाहिर गएर वडा बिभाजन जस्तो सम्बेदनशिल विषयमा अनावश्यक चासो दिएको भन्दै वडाले नगरलाई कारबाहीका लागि अनुरोध गरेको हो।

‘कुनै कानुन, बिधानमा वा अन्य कतै शिक्षकले यसो गर्न पाउने भनिएको छैन। हेडसरले त्यसो गर्न मिल्छ जस्तो लाग्दैन। शिक्षकको काम पढाउने हो।’ वडा नं १० का वडा सदस्य शेरबहादुर थापाले भने ‘वडा अध्यक्ष शिक्षा समितिको प्रमुख हो। राजनीतिक दलका कसैले छलफलका लागि समन्वय गरेको भए हुन्थ्यो। शिक्षकको काम त शिक्षा सुधार गर्ने हो। वडा बिभाजनको छलफल शिक्षकको क्षेत्राधिकार भित्र पर्दैन।’  

वडा अध्यक्षलाई पत्राचार गर्ने शिक्षकले अरुको अनुरोधमा यसो गरिएको बताए। ‘प्रकृया के रैछ भनेर गाउँलेहरुले चासो दिए। सबैले पत्राचार गर भनेपछि पत्रमा हस्ताक्षर गरेको हुँ। त्यहाँको समाजले भनेपछि मैले त्यसो गरेको हुँ।’ प्रधानाध्यापक हरिबहादुर बुढाले भने ‘नागरिकका हिसाबले यसो गरेको हुँ। विवाद भएपछि बैठक बसेन। गल्ती महसुस गरेको छु।’

प्रकाशित: २५ भाद्र २०७७ ०७:०४ बिहीबार