शिक्षा

त्रिवि परीक्षाको जिम्मा सम्वन्धित डीन कार्यालयलाई

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि त्रिभुवन विश्वविद्यालयले ततकाल परीक्षाहरु संचालन नगर्ने बताएको छ। विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले बन्दाबन्दी खुलेसँगै भदौ १५ गतेदेखि सेमेस्टर प्रणाली र असोज पहिलो साता वार्षिक प्रणालीको परीक्षा संचालन गर्ने सम्पूर्ण तयारी गरेको थियो।  

भदौं १ गतेदेखि लामो दूरीको सवारी साधान नखुल्ने र विद्यार्थी  उपस्थित भएर परीक्षा दिन नसक्ने अवस्था सृजना हुँदै गएपछि विश्वविद्यालयले तत्काल परीक्षा संचालन नगर्ने निर्णय गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। उनले अब परीक्षाको जिम्मेवारी सम्बन्धित संकायको डीन कार्यालयलाई दिएको जनाए।  

‘विगतमा कहिले परीक्षा गर्ने बारे पनिकाले निर्णय गरे अनुसार डीन कार्यालयले तालिका सार्वजनिक गर्ने गरेको थियो’ नियन्त्रक जोशीले नागरिकसँग भने ‘ अब परीक्षा सुधार तथा समन्वय परीषदको बैठकबाट निर्णय भएर परीक्षाको जिम्मेवारी डीन कार्यालयलाई दिएको हो।’उनले थपे‘परीक्षा संचालन कहिलेदेखि कसरी गर्ने , कस्तो अवस्थामा गर्ने वा नगर्ने, परीक्षा स्थगन गर्ने सम्मको अधिकारी परिषदले डीन कार्यालयलाई दिएको छ।’ अब डीन कार्यालयले आँफु अनुकुल तालिका प्रकाशन गरी परीक्षा संचालन गर्ने अधिकार पाएको छ।  

वार्षिक र सेमेस्टर प्रणालीका गरी हाल कुल ७ लाख विद्यार्थीको परीक्षा कोरोना संक्रमणको बढ्दो जोखिमकै कारण रोकिएको छ। जोशीका अनुसार वार्षिक प्रणालीमा धेरै विद्यार्थी भएकोले उपस्थितको आधार बाहेक वैकल्पिक उपाय अपनाउन नसकिएको हो।‘वार्षिक प्रणालीका स्नातकोत्तर तहका ब्याक पेपरका मात्र परीक्षा बाँकी छ भने नियमित तर्फका चार वर्षभित्र सत्र पुरा हुन्छ,’ उनले भने ‘तिहार पछि अवस्था समान्य भए परीक्षाहरु संचालन हुन्छ। अब यही अनुसार हामी मनसाय बनाएका छौं।’

कोरोना संक्रमणको जोखिमका कारण रोकिएका त्रिभुवन विश्वविद्यालयको सेमेस्टर प्रणालीका परीक्षाहरु भदौं दोस्रो साता संचालन गर्ने सूचना प्रकाशित गरे पनि संक्रमणको जोखिम बढ्दै गएपछि डीन कार्यालयहरुले साउन २६ गते  सूचना प्रकाशित गरि सेमेस्टर प्रणालीका सबै परीक्षाहरु अनिश्चित कालकोलागि स्थगित गरीसकेको छ। सेमेस्टर प्रणालीमा अध्ययन दुई लाख विद्यार्थीहरुलाई सम्बन्धित डीन कार्यालयहरुले भौतिक दूरी कायम गरी भौतिक उपस्थितकै आधारमा भदौं दोस्रो सातादेखि परीक्षाहरु संचालन गर्ने सूचना साउन पहिलो साता जारी गरेको थियो।

विश्वविद्यालयले परीक्षा संचालन तथा ब्यवस्थापन गर्नकोलागि सुझाव दिन गठन गरेको समितिले दिएको सुझावलाई समेत कार्यन्वयन गर्न नसक्दा विश्वविद्यालयका सेमेस्टर प्रणालीका परीक्षाहरु थप अन्योल बन्दै गएका छन्। यसले गर्दा विद्यार्थीहरुको शैक्षिक सत्रनै खेर जाने निश्चित बन्दै गएको छ। सोमबार ब्यवस्थापन संकाय,इन्जिनियरिङ्ग अध्ययन संस्थापन, मेडिकल, विज्ञान तथा प्रविधि लगाएतका सबै डीन कार्यालयहरुले सार्वजनिक सूचना प्रकाशित गरी हाल कोरोना संक्रमण बढ्दै गएकोले परीक्षाहरु स्थगित गरेको जनाएको छ।  

त्रिविलेनै परीक्षा संचालन तथा ब्यवस्थापन गर्न सुझावसहितको प्रतिवेदन पेस गर्न सुवर्ण शाक्यको संयोजकत्वमा गठन गरेको समितिले समेत परीक्षा संचालनको चार वटा मोडेल दिएको थियो। जसमा पहिलो नम्बरमा भाइवा,दोस्रो मोडेलमा केस स्टडी, तेस्रो मोडेलमा अनलाइन परीक्षा र चौथो मोडेलमा भौतिक दुरी कायम गरी परीक्षा संचालन गर्ने सुझाव दिएको थियो। समिति संयोजक सुवर्ण शाक्यले भने विश्वविद्यालयले हालको अवस्थामा समितिले दिएको सुझाव अनुसार बाकी तीनमध्ये अनलाइन, ओपन बुक वा आन्तरिक मूल्याकन/ भाइवाको विधि अपनाउन सक्ने तर्फ जनु पर्ने बताए। ‘यसरी लाखौं विद्यार्थीको भविष्य अन्योल बनाउन भन्दा अन्य वैकल्पिक विधि अपनाएर निकास दिनु पर्थ्यो,’शाक्य भन्छन्‘तर विश्वविद्यालय हामीले दिएको अन्तिम विकल्पमै गयो। जुन हालको अवस्थामा संभव छैन।’

त्रिविमा सेमेस्टर प्रणालीबाट परीक्षा दिने विद्यार्थीहरु करिब दुइ लाख रहेका छन्। कोभिड–१९को संक्रमण बढ्दै गएपछि परीक्षा संचालन गर्न सक्ने अवस्था नरहेको ब्यवस्थापन संकायका डीन डिल्लीराज शर्माले बताए। उनले परीक्षा स्थगित भए पनि सेमेस्टरहरु अघि बढ्ने बताए।  

डीन शर्माले समितिले दिएको चार सुझावमध्ये अन्तिम विकल्प भौतिक दूरी कायम गरी परीक्षा संचालन गर्ने नै विश्वविद्यालयको बलबुताले भ्याउने हो। तर संक्रमण बढ्दै गएपछि विद्यार्थीको भौतिक उपस्थितमा परीक्षा संचालन असंभव देखिएकोले सबै परीक्षाहरु स्थगित गरिएको उनको भनाई छ। उनले अन्य तीन विकल्पहरु अनलाइन परीक्षा, ओपन बुक र आन्तरिक मूल्याङकन/भाइवा विश्वविद्यालयको बलबुताले भ्याउन नसक्ने उनको ठहर छ।  

‘हामी सबै डीन र पदाधिकारीहरु बसेर परीक्षाको विकल्पहरुबारे बृहत छलफल गर्यौं तर अन्य विकल्पहरु अनलाइन, ओपन बुक र आन्तरिक मूल्याङकन/भाइवा संभव देखिएन,’डीन शर्मा भन्छन्‘ विश्वविद्यालयले संचालन गरेको अनलाइन कक्षामा समेत ३०–४० प्रतिशत विद्यार्थी मुस्किलले उपस्थित हुन्छन्। भने ओपन बुककोलागि विद्यार्थीको हातमा सन्दर्भ सामाग्री, पुस्तकालय तथा किताब पुर्याउन संभव छैन।’ उनले थपे ‘कुरो रह्यो आन्तरिक मूल्याङकन जुन हामी कहाँ विधि पुर्याएर मूल्याङकन गरिँदैन।’  

 

 

 

 

 

 

 

प्रकाशित: ३२ श्रावण २०७७ ०९:३१ आइतबार

परीक्षा