शिक्षा

विद्यार्थी पढाउन ‘रेडियो कक्षा’

कोरोना संक्रमणको त्रासका कारण विद्यालय ठप्प रहेपछि दाङका स्कुले बालबालिकाहरुलाई रेडियोको माध्यमबाट पठनपाठन गराइएको छ । गत असारको पहिलो सातादेखि एफएम रेडियोको पहुँच रहेका स्थानीय तहहरुले रेडियो कक्षा सञ्चालन गरेका हुन् । त्यसोत, संघीय सरकारले विद्यार्थीहरुको सिकाइलाई निरन्तरता दिनका लागि ‘बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका’ जारी गरेको थियो । यो निर्देशिकामा पहिलो सबै पहुँच भन्दा बाहिर रहेका बालबालिकाहरुलाई पाठ्य पुस्तक वितरण गर्ने उल्लेख छ ।  

यसैगरि, दोस्रो बिकल्पमा रेडियो कक्षा राखिएको छ भने तेस्रोमा टेलिभिजन कक्षा, चौथोमा कम्प्यूटर र पाँचौँमा ईन्टरनेट कक्षालाई बैकल्पिक सिकाइका रुपमा उल्लेख गरिएको छ । यि पाँच बिकल्पमध्ये पहुँचका आधारमा स्थानीय तहहरुले सिकाइ गर्न सक्ने प्रावधान राखिएको छ । ‘संघीय सरकारले राखेका पाँच बिकल्पमध्ये जिल्लाका प्रायः स्थानीय तहहरुले रेडियो कक्षालाई प्रामिकता दिए,’ शिक्षा विकास समन्वय इकाईका प्रमुख देवमणी चौधरीले भने ‘केहि स्थानीय तह बाहेक अरु स्थानीय तहहरुका लागि रेडियो शिक्षा पहुँचमा पनि छ ।’ संघीय सरकारको निर्देशिका अनुसार रेडियो कक्षा सञ्चालन गरेका स्थानीय तहहरुले विषयगत शिक्षकहरुलाई रेडियो कक्षा सञ्चालनका लागि खटाएका छन् । उनिहरुले रेडियो स्टुडियोबाटै प्रत्यक्ष प्रसारण मार्फत कक्षा सञ्चालन गरेका छन् ।  

शिक्षा समन्वय इकाईका अनुसार घोराही उपमहानगरपालिकाले गत असार पहिलो सातादेखि घोराही क्षेत्रका चार वटा एफएम रेडियोबाट दैनिक कक्षा सञ्चालन गरेको छ । कक्षा ४ देखि १० कक्षासम्मका हरेक विषयका कक्षाहरु यो उपमहानगरले सञ्चालन गर्‍यो । ‘घोराही उपमहानगरले दैनिक तीन घण्टाका दरले चारवटा रेडियोबाट रेडियो कक्षा सञ्चालन गरेको हो,’ चौधरीले भने ।  

यसैगरि, तुलसीपुर उपमहानगरपालिकाले पनि तुलसीपुर क्षेत्रका चारवटा रेडियोबाट कक्षा सञ्चालन गरेको छ । यो उपमहानगरले ६ कक्षादेखि १० कक्षासम्मको पठनपाठन सञ्चालन गरेको हो । यसैगरि लमही नगरपालिकाले पनि चारदेखि १० कक्षासम्मका बालबालिकाहरुका लागि रेडियो कक्षा सञ्चालन गरेको छ भने राप्ती गाउँपालिकाले पनि १ कक्षादेखि १० कक्षासम्मका बालबालिकाहरुका लागि रेडियो कक्षा सञ्चालन गरेको छ ।  

यसैगरि, गढवा गाउँपालिकाले पनि त्यहाँ रहेको एउटा रेडियो मार्फत ४ देखि १० कक्षासम्मका बालबालिकाहरुका लागि रेडियो कक्षा सञ्चालन गरेको छ । यसैगरि रेडियोका पहुँच भन्दा बाहिर रहेका स्थानीय तहहरुले पनि विद्यार्थीहरुको स्वअध्ययनका लागि पाठ्य पुस्तक वितरण गरेका छन् । जिल्लाको बंगलाचुली, राजपुर, दंगिशरण, बबई, शान्तिनगर गाउँपालिकाले भने रेडियोको पहुँच नभएपछि स्वअध्ययनका लागि सबै बालबालिकाहरुलाई पाठ्य सामग्री वितरण गरेका छन् । ‘कोरोनाको सन्त्रास तत्काल कम हुने सम्भावना देखिएपछि तत्काल विद्यालय पनि सञ्चालन हुने अवस्था देखिन्न,’शिक्षा समन्वय इकाईका प्रमुख चौधरीले भने ‘यस्तो अवस्थामा बालबालिकाहरुलाई सिकाइसंग निरन्तर जोड्नका लागि यि बैकल्पिका कक्षाहरु चलाइएका हुन् ।’

नेपालका लागि यो नयाँ प्रयोग भएको भन्दै कक्षा कोठामा हुने शिक्षण सिकाइ कृयाकलाप जस्तो यो फलदायि हुन नसक्ने पनि चौधरीको भनाई छ । तथापी विद्यार्थीहरुलाई सिकाइ प्रकृयासंग जोड्नका लागि गरिएको यो विकल्पले बालबालिकाहरुलाई सिकाइमै केन्द्रीत गर्नका लागि प्रेरित गरेको उनि बताउँछन् । ‘पक्कै पनि कक्षा कोठामा शिक्षकसंग फेस टु फेस सिकेको जस्तो फलदायि यो सिकाई विधी हुँदैन,’ उनले भने ‘तर सिकाइमै केन्द्रीत गर्नका लागि यसले ठूलो मद्धत भने पुर्‍याउँछ नै ।’

रेडियो कक्षाको प्रभावकारिता कति भन्ने विषयमा सरकारले अनुगमन गर्नका लागि अनुगमन समिति रहने पनि निर्देशिकामा उल्लेख गरेको छ । उक्त निर्देशिका अनुसार स्थानीय तहहरुले अनुगमन समिति समेत निर्माण गरेका छन् । यि समितिहरुले रेडियो कक्षाले पारेको प्रभावका बारेमा अनुगमन गर्ने छन् । ‘रेडियो कक्षा सञ्चालन मात्रै हैन, रेडियो कक्षा कतिको प्रभावकारी भयो भन्ने विषयको अनुगमनको पाटो पनि निर्देशिकामा उल्लेख छ,’ चौधरीले भने ‘उक्त निर्देशिका अनुसार स्थानीय तहहरुले अनुगमन समिति बनाईसकेका छन्, उनिहरुले रेडियो कक्षाको प्रभावकारीताका बारेमा छिट्टै अनुगमन गर्ने छन् ।’

प्रकाशित: १ श्रावण २०७७ ०९:४१ बिहीबार

विद्यार्थी पढाउन रेडियो कक्षा कोरोना संक्रमणको त्रास