शिक्षा

म्याग्दीका विद्यालयमा पाठ्यपुस्तक वितरण

हिमाली जिल्ला म्याग्दीका विद्यालयले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थीलाई पाठ्यपुस्तक  वितरण शुरु गरेका छन्। जनक शिक्षा सामग्री केन्द्रको पोखरा, शिक्षा तथा समन्वय एकाइ म्याग्दी र जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ जिल्ला शाखाले सबै सामुदायिक विद्यालयको कक्षा १–१० सम्मका पाठ्यपुस्तकहरु उपलब्ध गराउन थालेको छ। महासङ्घको जिल्ला शाखाले स्थानीय तहमा पाठ्यपुस्तकको डिपो स्थापना गरी विद्यालयलाई पुस्तक वितरणको व्यवस्थापन मिलाएको हो।

 आवश्यक सबै विषयको पाठ्यपुस्तकहरु विद्यालयमा पठाइसकिएकोे शिक्षा तथा समन्वय एकाइका प्रमुख दलबहादुर थापाले बताए। हालसम्म जिल्लाको ९० प्रतिशतभन्दा धेरै विद्यालयहरुमा पाठ्यपुस्तक पुगिसकेको र  वितरण शुरु भएको महासङ्घका निवर्तमान अध्यक्ष ठाकुरप्रसाद शर्माले जानकारी दिए।  

सङ्घीयताको कार्यान्वयनसँगै कक्षा १ देखि ५ सम्म पालिकाहरुले स्थानीय पाठ्यक्रम समेटिएको विषय निर्माण गरी अध्ययन तथा अध्यापनको तयारी थालेका छन्। जिल्लामा सञ्चालित विद्यालयहरुमा विद्यार्थीको उत्तीर्ण दरको तथ्याङ्कका आधारमा कक्षागत रुपमा पाठ्यपुस्तकको व्यवस्था गरिएको छ। जिल्लामा कूल दुई सय ३८ वटा विद्यालय सञ्चालनमा छन्। 

प्रकाशित: ३ असार २०७७ १०:४१ बुधबार

पाठ्यपुस्तक वितरण