शिक्षा

विद्यालय भवन हस्तान्तरण

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा अमेरिकी सरकारद्वारा निर्माण गरिएका दुई विद्यालय हस्तान्तरण गरिएको छ। अमेरिकी सरकारअन्तर्गत अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)द्वारा निर्माण गरिएका सुर्यकिरण आधारभुत विद्यालय र प्राथामिक विद्यालयको भवन हस्तान्तरण गरिएको हो। मंगलबार भएको औपचारीक कार्यक्रमकाबीच विद्यालय भवन हस्तान्तरण गरिएको थियो।

यहाँ एशियाली विकास बैंक, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका केन्द्रीय तथा जिल्ला स्तरीय परियोजना कार्यान्वयन इकाईमार्फत विद्यालय व्यवस्थापन समितिसँगको साझेदारीमा विद्यालय भवन निर्माणको काम भइरहेको छ।

जिल्लाका विभिन्न ठाउँमा रहेका २९ वटा भवन निर्माणका लागि युएसएआइडीले आर्थिक सहयोग गरेको छ। जसमध्ये अहिलेसम्म १५ वटा विद्यालय भवनको काम सम्पन्न गरेर हस्तान्तरण गरिसकेको छ। १५ वटा विद्यालय भवन निर्माण भएपछि यहाँका करिब ९ हजार विद्यार्थीलाई सहज भएको बताइएको छ। निर्माण भएका भवन सबै अपांगमैत्री भएको जनाइएको छ।

प्रकाशित: १४ फाल्गुन २०७६ ०२:३० बुधबार

विद्यालय_भवन हस्तान्तरण