शिक्षा

सय रुपैयाँमा मन्टेस्वरी शिक्षा

काठमाडौं – काठमाडौंको बौद्ध नयाँ बस्तीमा संस्थापक उत्तम सञ्जेलले ‘समता मन्टेस्वरी प्रिस्कुल’ स्थापना गरेका छन्। सय रुपैयाँमै गुणस्तरीय शिक्षा दिने उद्देश्यले खोलिएको सो स्कुलमा ‘शिक्षा नै सबैथोक’ भन्ने नाराका साथ नयाँ भर्ना सुरु गरिएको उनले जानकारी दिए। उनका अनुसार समता स्कुलका नर्सरी र प्लेग्रुपका बालबालिकालाई समता मन्टेस्वरीमा राखिने भएको छ।

समता मन्टेस्वरी स्कुलमा बालबालिकाको शिक्षालाई निरन्तरता दिन शिक्षिका लक्ष्मी खतिवडा (अधिकारी) ले दैनिक मन्टेस्वरी सञ्चालन गर्ने बताएकी छन्। मन्टेस्वरीमा बालमैत्री सामग्रीका साथै कक्षाकोठा, शौचालय, खेलमैदान र पुस्तकको व्यवस्था गरिएको उनले जानकारी दिइन्। विद्यालयमा काम गर्न थालेको ९ वर्षको अनुभवलाई सुनाउँदै शिक्षिका खतिवडाले भनिन्, ‘मन्टेस्वरीमा बाल विकाससम्बन्धी विभिन्न क्रियाकलाप सञ्चालन गरिनेछ।’

बालबालिकाको शैक्षिक विकासका लागि मन्टेस्वरी सुरु गरिएको समता स्कुलका प्रधानाध्यापक अजय अधिकारीले बताए। ‘बालबालिका स्वतन्त्र रूपमा पढ्न चाहन्छन्। त्यसैले बालविकासमा टेवा पुगोस् भन्ने लक्ष्यले मासिक एक सय रुपैयाँमा मन्टेस्वरी सञ्चालनमा ल्याएका हौं।’ समता स्कुलमा अहिले चार हजार विद्यार्थी अध्ययनरत छन्। उनीहरूले मासिक सय रुपैयाँ मात्र शुल्क बुझाउँछन्। प्रअ अधिकारीले स–साना बालबालिकाको विकासका लागि मन्टेस्वरी स्थापना भएको र तीमध्ये साना बालबालिकालाई नयाँ मन्टेस्वरीमा सारिएको बताए। संस्थापक सञ्जेलका अनुसार नेपालका सतहत्तरवटै जिल्लामा ८० ओटा समता स्कुल छन्। र, नेपालबाहिर पनि १० देशमा समता स्कुल स्थापना गरिसकिएको छ। ती विद्यालयमा सय रुपैयाँ तिरेर ४५ हजार विद्यार्थी अध्ययन गरिरहेको उनले जानकारी दिए। उनले बालबालिकाको व्यवस्थापनलाई ध्यानमा राखी अनुकूल वातावरणमा पढाउन सकिने प्रतिबद्धतासहित मन्टेस्वरी स्थापना भएको सुनाए।

प्रकाशित: २८ माघ २०७६ ०३:३६ मंगलबार

सय_रुपैयाँ मन्टेस्वरी_शिक्षा