शिक्षा

त्रिविको निजीतर्फको परीक्षा फाराम भर्ने समय थप

काठमाडाैं- विद्यार्थीको परीक्षा फाराम भर्ने चाप बढेपछि त्रिभुवन विश्वविद्यालयले समय थप गरेको छ।

निजीतर्फको स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाको फाराम भर्नेको सङ्ख्यामा बढेपछि कात्तिक ८ गतेसम्मका लागि समय थप गरिएको परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए।

उनका अनुसार दोब्बर दस्तुरमा कात्तिक १९ गतेसम्मका लागि समय थप गरिएको छ। अहिलेसम्म जनप्रशासनमा पाँच हजार र राजनीतिकशास्त्रमा छ हजारले परीक्षा फाराम भरिसकेका छन्।

भोलि शुक्रबारसम्म तोकिएको दस्तुर र १५ गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्ने समय तोकिएको थियो। गत वैशाखमा त्रिविले स्नातकोत्तर तहको जनप्रशासन र राजनीतिक शास्त्र विषयको निजीतर्फको फाराम खुल्ला गरेको थियो।

सेमेष्टर प्रणाली शुरु भैसकेकाले यस वर्ष निजीतर्फको अन्तिम परीक्षा हुने भएकाले फाराम भर्ने विद्यार्थीको सङ्ख्या बढेको बढेको छ। सहनियन्त्रक अधिकारीले वार्षिक परीक्षाअन्तर्गत निजीतर्फ भर्ना लिने वा नलिने भन्नेमा अझै निर्णय नगरिएको बताए।

प्रकाशित: ३० आश्विन २०७६ ०९:२३ बिहीबार

त्रिभुवन_विश्वविद्यालय परीक्षा_फाराम समय_थप