जनकपुर - जनकपुरका विद्यार्थीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) पछि पहिलो रोजाइको विषय ‘विज्ञान’ हो । परिवारको आर्थिक हैसियत सम्भव भएसम्म विद्यार्थी र अभिभावकमा समेत डाक्टर वा इन्जिनियर पढ्ने÷पढाउने सोच अहिले पनि कायम रहेको सरोकारवाला बताउँछन् ।
जनकपुर क्षेत्रमा मुख्यतः चारथरी सोचका विद्यार्थीहरू भेट्न सकिन्छ । एसइईपछि उच्च शिक्षा अध्ययनका लागि ऐच्छिक विषयका रूपमा विज्ञान, व्यवस्थापन, शिक्षा संकाय र प्राविधिक शिक्षा विद्यार्थीहरूको रोजाइमा पर्ने विषय हुन् । ती विषय रोज्न विद्यार्थी र तिनका अभिभावकको आर्थिक हैसियत मुख्य आधार मानिन्छ । जनकपुरस्थित न्यु भिजन आवासीय विद्यालयका प्राचार्य विश्वलाल सिंहका अनुसार हुनेखाने परिवारका बालबालिकाको पहिलो रोजाइ विज्ञान विषय हो । केही कमजोर आर्थिक अवस्था रहेको परिवारका बालबालिकाले व्यवस्थापन संकाय रोज्ने गरेको देखिन्छ । मध्यम तथा निम्न वर्गीय परिवारका बालबालिकाले शिक्षा संकाय र प्राविधिक शिक्षातर्फ आकर्षित देखिइरहेको अनुभव सिंहले सुनाए ।
मोडेल मल्टिपल कलेजका प्रशासन प्रमुख प्रदीपलाल कर्णले अगामी शैक्षिक सत्रका लागि आफ्नो कलेजमा विज्ञानमा ६० र व्यवस्थापन तर्फ ४० प्रतिशत विद्यार्थी भर्ना हुने अनुमान गरे । चालु शैक्षिक सत्रमा कलेजमा भर्ना भएका विद्यार्थी र यस वर्ष एसइईमा सहभागी प्रशिक्षार्थीको मनोविज्ञानलाई अध्ययन गर्दा जनकपुर क्षेत्रका विद्यार्थीमा अहिले पनि प्रमुख रोजाइमा पर्ने विषय विज्ञान रहेको उनले बताए । ‘विज्ञान विषय लिएर कक्षा १२ उत्तीर्ण गरेपछि चिकित्सा, इन्जिनियरिङका साथै अन्य क्षेत्रमा पनि जान सक्ने अवसर हुन्छ भने अन्य विषय लिएर पढेपछि निश्चित क्षेत्रमा सीमित रहनुपर्ने भएकाले हुन सक्छ, विज्ञान पढ्ने विद्यार्थीको संख्या धेरै देखिएको हो,’ कर्णले नागरिकसँग भने ।
न्यु भिजनका प्राचार्य सिंहका अनुसार अरूको देखासिकीका भरमा कक्षा ११ र १२ का लागि विषय रोज्ने प्रवृत्ति विद्यार्थीमा हाबी छ । ‘धेरै टाढा जानुपर्दैन । जनकपुर र यहाँबाट ३५ किलोमिटरको दूरीमा रहेको बर्दिबास क्षेत्रका बालबालिकामा कक्षा ११ र १२ का लागि विषय रोज्ने प्रवृत्ति फरक छ,’ सिंहले भने, ‘जनकपुरका बालबालिकामा बहुसंख्यकले विज्ञान विषय रोजिरहेका देखिन्छन् भने बर्दिबासमा व्यवस्थापन संकायमा जानेको संख्या बढी छ ।’ जनकपुरको समाजमा पहिलादेखि पनि डाक्टर र इन्जिनियर पढेकाहरूको संख्या बढिरहेको र उनीहरूकै सिको गरेर विज्ञान विषय पढ्ने विद्यार्थीको संख्या बढी देखिएको उनको भनाइ छ । उनले थपे, ‘मेरो छिमेकका १२ परिवारमा १७ जना डाक्टर छन् । अन्य क्षेत्रका भन्दा डाक्टरको जीवनशैली राम्रो देखिएकाले उनीहरूको प्रभाव नयाँ बालबालिकामा पनि देखिएको हो ।’
बर्दिबासतिर प्रशासन र व्यापारको क्षेत्रमा लाग्ने बढी भएकाले त्यसतर्फका बालबालिकामा पनि सोहीअनुसारको शिक्षा आर्जन गर्ने ध्येय हुन सक्ने सिंहले अनुमान गरे । ‘जनकपुरको एउटा सानो टोलमा भएजति संख्या बर्दिबास पुरै बजार क्षेत्रमा डाक्टर देखिँदैन,’ उनले थपे, ‘जनकपुर क्षेत्रमा विज्ञान विषयका लागि स्तरीय कलेज उपलब्ध भएकाले पनि यसतर्फ बढी विद्यार्थीको आकर्षण हुन सक्छ ।’ प्रायः निजी विद्यालयमा पढ्ने (आयस्तर राम्रो भएका) विद्यार्थीहरूले विज्ञान र त्यसपछि व्यवस्थापन विषय रोजे पनि मध्यमवर्गीय परिवारका बालबालिकाले छोटो समय र कम खर्चमा पूरा हुने पढाइका रूपमा स्वास्थ्य तथा प्राविधिक क्षेत्रमा जाने गरेको उनको बुझाइ छ ।
सामुदायिक विद्यालय संकटमोचन माविका प्रधानाध्यापक बलराम साहका अनुसार उक्त विद्यालयबाट करिब ३ सय विद्यार्थीले एसइई परीक्षा दिएका छन् । यहाँ पढ्ने बालबालिकामध्ये धेरैजसो मध्यमवर्गीय तथा निम्नवर्गीय परिवारबाट प्रतिनिधित्व गर्छन् । ‘३ सय मध्ये करिब २५ प्रतिशत विद्यार्थी कम खर्चमा पढ्न सकिने प्राविधिक शिक्षा रोजेका छन्,’ प्रधानअध्यापक साहले भने, ‘केटाहरू (छात्र) ले इलेक्ट्रिकल्स, इलेक्ट्रोनिक्स, कम्प्युटर र अहेबतिर जाने चाहना देखाउँछन् भने केटीहरू (छात्रा) ले अनमी र स्टाफ नर्स पढ्न चाहन्छन् ।’ सामुदायिक विद्यालयतर्फका करिब २० प्रतिशत विद्यार्थी त एसइईको परीक्षासँगै हराउँछन् । केटाहरू विदेश जाने, रोजगारमा लाग्ने र केटीहरूको विवाहका कारण एसइईपछिको पढाइमा संलग्न हुन नसकिने अवस्था रहेको उनको भनाइ छ । उनका अनुसार सबैभन्दा दयनीय अवस्था शिक्षा संकायको छ । अन्य विषय पढ्न आर्थिक अभाव र पढाइमा कमजोर देखिएकाहरू मात्रै शिक्षा संकाय पढ्ने गरेकाले अगामी दिनको पनि शिक्षा क्षेत्रको भविष्य चिन्ताजनक नै रहेको गुनासो उनको छ ।
जनकपुरका पुरानोमध्येको एक मोनास्टिक आवासीय विद्यालयका प्रबन्ध निर्देशक सोनुकुमार साहले पहिलेको तुलनामा नयाँ विद्यार्थीहरूले प्राविधिक शिक्षा रोज्ने क्रमको विकास भएको बताउँछन् । ‘पहिलेको जस्तो विज्ञान र व्यवस्थापनमै विद्यार्थी अल्मलिने अवस्था अब रहेन,’ उनले भने, ‘धेरैजसो विद्यार्थी कानुन, कृषि, होटल व्यवस्थापनजस्ता विषय रोज्न थालेका छन् । विद्यार्थीमा माध्यमिक शिक्षा परीक्षापछि पढ्न विषय रोज्ने परिपाटीमा सुधार भएको देखिन्छ ।’ चालू शैक्षिक सत्रका लागि मोनास्टिकबाट २ सय २० विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा दिएकोमा करिब ३५ प्रतिशतले विज्ञान र ४० देखि ४५ प्रतिशत विद्यार्थीले व्यवस्थापन विषय पढ्ने इच्छा जाहेर गरेको उनले बताए । बाँकी विद्यार्थी प्राविधिक शिक्षातर्फ जाने सोचमा रहेको साहको भनाइ छ ।
उच्च शिक्षाका लागि विषय रोज्ने सोचमा पनि परिवर्तन हुन थालेको उनले बताए । ‘पहिला पैसा हुनेजति सबैले आफ्ना बालबालिकालाई कि त डाक्टर, इन्जिनियर वा सिए पढ्न दबाब दिन्थे,’ साहले थपे, ‘अहिले पैसाभन्दा बढी विद्यार्थीको मनोभावलाई हेरेर तिनले पढ्ने क्षेत्रको छनोट गर्ने परिपाटीको विकास हुन थालेको छ ।’
शैक्षिक हब बन्दै जनकपुर
तराई–मधेसका शिक्षालयप्रति पछिल्लो केही वर्षयता विद्यार्थी र अभिभावकमा विश्वास बढ्न थालेको बताउँछन् साह । शिक्षाको मापदण्ड पूरा गर्ने विद्यालय र कलेजको संख्यामा वृद्धि हुन थालेपछि शिक्षक र विद्यार्थीमा पनि अनुशासनको स्तर सुधारोन्मुख रहेको उनको भनाइ छ । ‘पहिला तराई–मधेसको शैक्षिक संस्थाप्रति त्यति भरोसा गरिँदैनथ्यो,’ उनले थपे, ‘अहिले विद्यार्थी र अभिभावक दुवैमा यहाँका विद्यालय र कलेजप्रति विश्वास बढ्न थालेको छ ।’ यो क्रम कायम रहन सके जनसंख्याको हिसाबले जनकपुर क्षेत्रका धेरै विद्यार्थीको शैक्षिक गन्तव्य जनकपुरमा सुरक्षित हुन सक्ने उनको भनाइ छ ।
राज्यले शिक्षाको पूर्वाधार विकासको कामलाई काठमाडौं केन्द्रित राखेको आरोप लगाउँदै साहले यसलाई विकेन्द्रीकरण गर्नुपर्ने बताए । तत्काल सरकारकै लगानीमा कम्तीमा एउटा इन्जिनियरिङ र एउटा मेडिकल कलेज सबै प्रदेशमा स्थापना गरिनुपर्ने उनको सुझाव छ । स्थानीय स्तरमा विद्यार्थीलाई रोक्न सके शिक्षाको नाउँमा बाहिर जाने आर्थिक स्रोतको संरक्षण हुनुका साथै स्थानीय साधन र स्रोतको परिचालन र विश्वसनीय शिक्षा पद्धतिको विकासमा बल पुग्ने उनले विश्वास व्यक्त गरे ।
त्यस्तै ११ र १२ कक्षाको पाठ्यक्रममा पनि सुधार ल्याउनुपर्ने उनको तर्क छ । ‘१२ कक्षाको पढाइ पूरा गरेपछि विद्यार्थीले कुन क्षेत्रमा भविष्य कोर्ने भन्ने निर्णय लिन्छन् तर सोअनुसारको प्रयोगात्मक पद्धतिमा आधारित पाठ्यक्रमको विकास हुन सकेको देखिएन,’ उनले भने ।
राज्यले शिक्षाको पूर्वाधार विकासको कामलाई काठमाडौं केन्द्रित राखेको आरोप लगाउँदै संकटमोचन माविका प्रधानाध्यापक बलराम साहले त्यसलाई विकेन्द्रीकरण गर्नुपर्ने बताए । तत्काल सरकारकै लगानीमा कम्तीमा एउटा इन्जिनियरिङ र एउटा मेडिकल कलेज सबै प्रदेशमा स्थापना गरिनुपर्ने उनको सुझाव छ ।
‘एसएलसी’ र ‘एसइई’ नाममा मात्रै फरक
प्रवेशिका परीक्षा (एसएलसी) लाई माध्यमिक शिक्षा परीक्षा (एसइई) नामकरण र १० जोड दुईसम्मको शिक्षालाई माध्यमिक शिक्षा अर्थात् स्कुले शिक्षा परिधिभित्र त समेटियो । तर तत्कालीन ‘प्लस टु’को पाठ्यक्रममा नाम अनुसारको परिमार्जन नहुँदा विद्यार्थीमा एसइई परीक्षापछि पढ्ने विषय र कलेज छनोट गर्ने शैली पुरानै छ ।
प्रदेश २ को राजधानी जनकपुर र आसपास क्षेत्रमा पुरानो एसएलसी र अहिलेको एसइईलाई विद्यार्थीले हेर्ने दृष्टिकोण उस्तै रहेको जनकपुरस्थित संकटमोचन देवशरण रामरति माविका प्रधानाध्यापक बलराम साह बताउँछन् । ‘एसएलसीलाई फलामे ढोका भनिन्थ्यो र त्यसप्रति विद्यार्थीमा जुन प्रकारको मनोविज्ञान थियो, आज पनि उस्तै छ,’ प्रधानाध्यापक साहले नागरिकसँग भने । कक्षा १२ सम्मको शिक्षालाई माध्यमिक शिक्षाको मापदण्डभित्र ल्याइएको प्रशासनिक घोषणा भएपनि विज्ञान, व्यवस्थापन, शिक्षा वा प्राविधिक विषय रोज्ने क्रम माध्यमिक शिक्षा परीक्षापछि नै सुरु हुने परम्परा यथावत् रहेको उनको भनाइ छ ।
कक्षा १२ सम्मको पठनपाठन माध्यमिक विद्यालयअन्तर्गत समावेश गर्ने निर्णय मन्त्रालयस्तरमै सीमित रहेको मोडेल मल्टिपल कलेजका प्रशासन प्रमुख प्रदीपलाल कर्णको भनाइ छ । विज्ञान, व्यवस्थापन, शिक्षा वा अन्य प्राविधिक विषयलाई ऐच्छिक विषयका रूपमा कायम गरी १० कक्षाको पाठ्यक्रमसँग प्रत्यक्ष सम्बन्ध स्थापित हुनेगरी पाठ्यक्रम निर्धारण गरिनुपर्ने बताउँदै उनले थपे, ‘नाम परिवर्तन भए पनि कक्षा १० उत्तीर्ण गरेपछि विद्यार्थीले ११ र १२ को शिक्षा कलेजस्तरका रूपमा अहिले पनि ग्रहण गरिरहेका छन् । र, परम्परागत रूपमै अहिले पनि एसइईपछि नयाँ कलेजको खोजी गर्ने प्रवृत्ति यथावत् देखिन्छ ।’ उनका अनुसार न्युभिजनबाट पछिल्लो एसइईमा संलग्नमध्ये करिब ६५ प्रतिशत विद्यार्थीले विज्ञान, ३० प्रतिशतले व्यवस्थापन र मुस्किलले ५ प्रतिशत विद्यार्थी अन्य विषयमा पढ्ने योजनामा छन् ।
प्रकाशित: १९ असार २०७६ ०५:३० बिहीबार