शिक्षा

खोटाङमा प्रदेशस्तरीय प्राविधिक शिक्षालय

खोटाङ– खोटाङको नुनथलामा १ नम्बर प्रदेश स्तरिय बहुप्राविधिक शिक्षालय उद्घाटन गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १३ नुनथलास्थित महुरेमा स्थापना गरिएको महुरेगढी बहुप्राविधिक शिक्षालय मंगलबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले उद्घाटन गरेका हुन्। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् अन्तर्गत प्रदेशस्तरीय प्राविधिक शिक्षालयमा पठनपाठन सुरु गरिएको केही समयपछि औपचारिक उद्घाटन गरिएको हो। आफ्नै गाउँमा प्रदेशस्तरको प्राविधिक शिक्षालय स्थापना भएपछि स्थानीय उत्साहित छन्। 

एक प्रदेश एक वटा नमूना बहुप्राविधिक शिक्षालय स्थापनाका लागि नेपाल सरकारको आर्थिक वर्ष २०७३÷०७४ को स्वीकृत बार्षिक कार्यक्रम अनुशार प्रदेश स्तरिय बहुप्राविधिक शिक्षालय नुनथलामा स्थापना गरिएको हो। सिलाई कटाई, डकर्मी, प्राविधिक एसएलसिदेखि १८ महिने र ३ बर्से डिप्लोमा तहसम्मको कोर्स पढाउनेगरी प्राविधिक शिक्षालय स्थापना गरिएको हो। प्राविधिक शिक्षालयमा गत मंसिर ९ गतेदेखि डिप्लोमा इन फरेष्ट्रीको कक्षा सञ्चालन भइरहेको शिक्षालयका प्रमुख भानु पौड्यालले बताए। 

प्राविधिक शिक्षालयमा विल्डिङ इलेक्ट्रिसियन, सामुदायीक वन सहजकर्ता, च्याउ उत्पादन, बेमौसमी तरकारी खेती, मोटरसाईकल मेकानिक, मोबाईल मर्मत, सामुदायीक पशु सहायक जस्ता छोटो अवधिका प्राविधिक तालिम समेत सञ्चालन हुँदै आएको छ। शिक्षालयमा हाल २६० विद्यार्थी अध्ययनरत छन्। 

प्रकाशित: २८ जेष्ठ २०७६ १३:०८ मंगलबार

प्राविधिक_शिक्षालय एक_नम्बर_प्रदेश खोटाङ