शिक्षा

विद्यालयको नाम र विद्यार्थी परिचयपत्र अब नेपालीमाः महानगर

फाइल तस्बिर

काठमाडौँ – काठमाडाैं महानगरपालिकाले संस्थागत विद्यालयको नाम र विद्यार्थीलाई उपलव्ध गराउने परिचयपत्र नेपाली भाषामै राख्न लगाउने भएको छ । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले आगामी शैक्षिकसत्रदेखि यसलाई अनिवार्य बनाउन लागिएकोे जानकारी दिएका छन्। अंग्रेजी भाषामा विद्यालय र विद्यार्थीको नाम हुँदा आफ्ना छोराछोरी कुन स्कूलमा पढ्छ र उनीहरुको नाम के हो भन्नेमा अभिभावकमा अन्योल देखियो,’ उनले भने, ‘त्यसैले यस विषयमा अभिभावकलाई सहज गराउन यस्तो व्यवस्था गराउन लागिएको हो।’

शिक्षा अधिकारी कोइरालाले विद्यालयले अङ्ग्रेजीमा पनि लेख्न वा नलेख्नका लागि भने स्वतन्त्र छाडिने जानकारी गराए। यसअघि सरकारले अङ्ग्रेजी नाम भएका कलेजका नाम नेपाली भाषा, मौलिक संस्कृति झल्कने खालको राख्न निर्देशन दिए पनि कलेजले उक्त निर्देशन अहिलेसम्म कार्यान्वयन गरेका छैनन्। महानगरभित्र ६४० वटा संस्थागत विद्यालय छन् । उहाँले शिक्षा समितिबाट निर्णय गरेपछि सोहीअनुसार नेपाली भाषालाई प्रभावकारी कार्यान्वयन गराउनका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल(एनप्याब्सन)लाई निर्देशन दिइने जानकारी गराए।

यस्तै महानगरले माघ महीनाभित्रमा सामुदायिक विद्यालयका शिक्षकलाई तलब उपलव्ध गराइने भएको छ । महानगरका शिक्षकले मङ्सिरयता तलब नपाएकाले शिक्षकको खातामा नै तलब जाने गरी काम भइरहेको उनले बताए। रासस

प्रकाशित: २३ पुस २०७५ ०८:१४ सोमबार

काठमाडाैं महानगरपालिका संस्थागत_विद्यालय विद्यार्थी